बिसं २०७८ः यस्तो छ नेपालको वर्ष कुण्डली 

२०७७ चैत १९ बिहीबार १५:३३:०० मा प्रकाशित

तपसिलको कुण्डली यो वर्ष २०७८ को वर्ष प्रवेश वा जग लग्न कुण्डली हो । लग्नमा बिराजमान शनि स्वगृहि भएर शशनामक राजयोग उत्पन्न गरिरहेकाले र नेपालको रासीबाट पराक्रम भावमा हुनुले देशलाई केही गरेर पनि उन्नत दिशातर्फ लैजानु पर्छ भन्ने भावना नागरिक र सरकार दुवै पक्षको चाहना रहनेछ । 

शनि श्रवण नक्षत्रमा ९/१८मा रहनुले किशोरबयबाट युवामा प्रवेश गरिरहेका एवं शनि र राहु दुबै नैसर्गिक पापी ग्रह लाभस्थानमा नवांश कुण्डलीमा रहनुले युवाबर्गमा देश बिकास र स्वावलम्बन एबं आत्मनिर्भर सँगसँगै राष्ट्रभक्तिको भाव धेरै मात्रामा बढ्ने कुरामा दुई मत रहँदैन । 

शनि ढिला ग्रह भएको कारण कामहरू भने ढिला र बिस्तारै बिस्तारै हुनेछन् । न्यायाधीश शनि नै कुण्डलीमा प्रबल बनेकाले देशमा मजदुर, किसान बर्गले न्याय प्रप्त गराउने दिशामा कामहरू थालिने छन् । शनिको दृष्टि तेस्रो  भावमा पर्नाले त्यहाँ बिराजमान बुध पीडित हुनाले सूचना र सञ्चारको क्षेत्रमा उथलपुथलको अवस्था नआउला भन्न सकिन्न । ठूला मिडिया हाउसहरू बन्द हुने परिस्थिति नआउला भन्न सकिन्न भने पितपत्रकारिता र प्रशंषक पत्रकारितालाई राज्यले हतोत्साहित तुल्याउने नीति अख्तियार गर्नेछ । अर्कोतिर सञ्चारका कामहरूमा ढिलासुस्ती उत्पन्न हुनसक्छ भने टेलिकमका क्षेत्रमा भ्रष्टाचार सम्बन्धी मुद्दाहरूले त्यहाँका अधिकारीहरू प्रताडित पनि हुन सक्नेछन् ।

शनिको सप्तम १८०ड्ढको दृष्टि ब्यवसायभावमा पर्नाले सामान्यत सबै प्रकारका ब्यवसायीहरूको कार्यमा बदलाव आउन सक्ने सम्भावनालाई नकार्न सकिन्न । स्वावलम्बनमा आधारित व्यवसायहरू जस्तो, आफ्नो माटो सुहाउँदो ब्यापारीक पेशामा उन्नति हुनेछ भने तस्करी आदि नियन्त्रणमा सरकारको पहल राम्रो रहनेछ । राजश्व नउठेको कम्पनीहरू जस्तो एनसेल लगायतका अन्य बाहिरबाट आएकाहरूमा असुलउपर गर्ने गराउने कार्य तदारुकताका साथ हुनेछ । यातायातजस्तो क्षेत्र, बैदेशिक रोजगारीको क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ र घुस कमिशन तथा गैह्रकानुनी कार्यहरूमा धेरै निगरानी रहनाले त्यस्ता ठाउँहरूमा कार्य गर्ने भ्रष्टाचारी कर्मचारी र बिचौलियाहरू माथि कारवाही हुनेछ ।

देशको सीमामा अतिक्रमण जारी रहनेछ । शत्रु भावमा दुर्गको मालिक बिराजमान हुनुले पनि छिमेकी दक्षिणीभन्दा पनि उत्तरीसँग सामान्य मनोमालिन्य नबढ्ला भन्न सकिन्न । शनिको उच्च दृष्टि दशम्भावमा पर्नाले सरकार सामान्यतया उन्नतिकै कार्यक्रमहरू ल्याउने दिशामा उन्मुख र गतिशील हुनेछ किनभने राज्येश शुक्रको घर राज्यभावमा पर्नु  चतुर्थभावबाट राजा सूर्यको दृष्टि पनि निचस्थ भएर पर्नाले कमजोर सरकार भए पनि कामको दिशा भने राम्रो नै रहन्छ । यद्यपि सरकार अस्थिर चैं भावेश शुक्र अस्त र सूर्यसँगै अश्विनी केतुको नक्षत्रमा पर्नुले देखाईरहेको छ ।

द्वितीयभावमा शनिकै मूल त्रिकोण भावमा बसेका गुरुले अर्थ मामिला र छरछिमेकीमा ध्यान दिएको अवस्था छ । गुरु धनिष्ठा नक्षत्रमा बालअवस्थामा रहनुले ढिकुटी कमजोर र चलायमान देखिन्छ । स्थान हानिकरो जीव भएकोले अर्थतन्त्र कमजोर हुन्छ । घाटाको बजेट र बढ्दो मुद्रास्फितिका कारण अर्थतन्त्र सबै बिदेशकै भरबाट चल्ने देखिन्छ । गुरुले छैठौं भावमा बसेका मंगललाई पञ्चम दृष्टिले देखिरहेको अवस्थाका कारण मंगलले राष्ट्रका शत्रुहरूलाई पेल्ने अवस्था देखिन्छ । सेनाको बल गुरुले बढाउनु एबं सेना मंगलले अष्टमदृष्टिले लग्नगत शनिलाई आफ्नो उच्च घरमा देख्नुका कारण सेना राज्य चलाउन अग्रसर हुने देखिन्छ ।

सुन र शेयरको भाउ बढ्ने

गुरुको सप्तम दृष्टि अष्टम्भावमा परेका कारण देशको आर्थिक उन्नतिमा बिदेशी लगानी नै देखाईरहेछ । सुनको भाऊ २५गते बैशाखबाट बढ्ने तथा उच्चस्तरीय बैंक तथा कम्पनीहरूको सेयर बढ्ने पनि देखिन्छ । गुरूको नवमदृष्टि राज्य भावमा पर्ने भएको कारणले राज्यको स्थिति बलियो हुने देखिन्छ ।

ठूला मिडिया हाउस संकटमा

तेस्रो भावले देशको सूचना,संञ्चार, आइटि देखाउने भएको र शनिको प्रभाव परेकाले टेलिकम्युनिकेशनका क्षेत्रमा भएको भ्रष्टाचारमाथि छानबिन हुनेछ र अनेकन यस सम्बन्धी सूचनाहरू बाहिर आए पनि राज्यले पत्रकारिताका ठूला मिडियाहाउसहरूमाथि छानबिन तथा कारवाहीहरू अघि बढाउन सक्ने केही नियन्त्रण गर्न सक्ने सम्भावनालाई नकार्न मिल्दैन ।

कृषिमा उन्नति

चतुर्थभावबाट देशको कृषि क्षेत्र, पशुपालन एबं राष्ट्रियता हेरिने हुँदा यस भावमा सूर्य उच्च र बर्गोत्तम भएको कारण यी क्षेत्रमा उन्नति हुनेछ । कृषि क्षेत्रमा धेरै युवाहरू लाग्ने छन् । त्यस्तै उत्पादन पनि अत्यधिक बढ्नेछ । देशको सबै क्षेत्रमा पशुपालन, पक्षीपालनमा बढोत्तरी हुनेछ । देशको राष्ट्रियता बलियो हुने एबं युवाहरूमा देशभक्ती बढ्दै जाने र देश बेचुवा जासुसीहरू कमजोर हुनेछन् । सूर्य ग्रहका पनि राजा देशका पनि राजा जनता भावमा उच्चस्थ भएको र साथमा बुध एवं राज्येश र पञ्चमेशलाई साथमा लिनाले राजालाई जनताले नै गद्दीनसिन गराएमा कुनै नौलो हुनेछैन । जनताभावमा बसेका उच्चस्थ सूर्यले जनतामा प्रशस्तै चेतना आउने कुरामा दुई मत छैन ।

बुद्धिजीवी भनाउँदाहरू र नागरिक अगुवाहरूको भाव राहूले प्रताडित गरेकोहुँदा बुद्धि बिग्रने सरकारका सल्लाहकारहरू नराखे पनि हुन्छ । नागरिक अगुवाहरूलाई धुवाँले ढाक्ने भएकोले राष्ट्रियहितमा यिनीहरू कुरा गर्दैनन्, जासुसी गर्ने काममा लागेको पर्दाफास पनि हुनेछ । शनि न्यायकारक भएकोले गरीबका पक्षमा र पहिला अन्यायमा परेकाहरूका सन्दर्भमा उनीहरूले न्याय पाउनेछन् । पर्यटनकक्षेत्रमा यो  बर्षको अशौज उता मात्र सुधार हुनेछ ।

शत्रुभावमा एकादशेस मंगल बस्नाले विपरित राजयोग उत्पन्न भएको छ । मंगल दक्षिणको मालिक भएकोले दक्षिणी छिमेकीको दखल योजना बर्ष कमै रहनेछ । सेनाहरू बलिया बन्नेछन् । सुरक्षा चुस्त, स्फुर्त र दुरुस्त रहने भएकोले प्रहरी पनि सचेत र सेवामुखि बन्नेछन् । कर्मचारी पनि राष्ट्रिय सवालमा आफ्नो देशको निम्ति अडान लिन सक्ने अवस्था देखिन्छ । पहिलाजस्तो मन्त्रीमुखी बन्ने र चाकरी गर्नुपर्ने अवस्था कर्मचारीको हुँदैन । सिस्टम बसाउनेमा कर्मचारी बर्गको यो बर्ष महत्वपूर्ण भूमिका रहनेछ ।

अर्थ, राजश्व विभागमा पनि सुधार हुनेछ । राज्य भावमा गुरूको दृष्टि हुनाले राम्रो काम हुनेछ । परराष्ट्र नीतिमा सुधार हुन भने सूर्यसँग अस्त चन्द्रमाका कारण समय लाग्नेछ । देश सुरक्षित पार्नेछ दिशातिर सरकार र जनता सबैको प्रयास यो बर्ष सराहनीय देखिनेछ ।

धर्म संस्कृतिको उत्थान

धर्म तथा पुण्यभावको मालिक कमजोर भए पनि देशको कला, संस्कृतिप्रति भने सबै जनता सचेत रहनेछन् । हिन्दुराज्य स्थापना मेषरासीलाई संङ्क्रमण गरेको छ । लग्नमा बिराजमान शनिस्वगृहि  भएर शशनामक राजयोग उत्पन्न गरिरहेकाले र नेपालको रासीबाट पराक्रम भावमा  हुनुले देशलाई केही गरेर पनि उन्नत दिशातर्फ लैजानु पर्छ भन्ने भावना नागरिक र सरकार दुवै पक्षको चाहना रहनेछ । 

निचोडमा देश संवृद्धिको दिशातिर उन्मुख हुनेछ । देशमा कानुनी राज्यको स्थापनाका लागि अदालतहरूको भूमिका मजबुत रहनेमा कुनै शङ्का छैन । धर्मका क्षेत्रमा भने सुधार हुन समयलाग्ने अवस्था छ तापनि बुधले आफ्नोे घर देखिरहेका कारण र द्वदशांश कुण्डलीमा बुध र मंगलले भावमा समसप्तक योग बनाउनाको कारण पश्चिमी शक्ति हावि हुनाले धर्म स्थापनार्थ झगडा वा युद्धको स्थिति पनि नआउला भन्न सकिन्न ।  
 

ताजा खबर