रोनाल्डोले फालेको आर्मब्यान्ड अक्सनमा राखिने, आम्दानीबाट छ महिने बालकको उपचार 

२०७७ चैत १८ बुधबार १४:३३:०० मा प्रकाशित

काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकप छनोट अन्तर्गत सर्विया विरुद्ध रिसाएर फालेको आर्मब्यान्ड अक्सनमा राखिने भएको छ ।

सन् २०२२ को कतार विश्वकपको युरोपियन छनोटमा पोर्चुगलले गत शनिबार सर्वियासँग दुइ दुइ गोलको बराबरी खेलेको थियो । रोनाल्डोले टिमका लागि तेस्रो गोल थपेका थिए । तर डच रेफ्रि डेनी माक्केलीले मान्यता दिएनन् । इन्जुरी समयमा रोनाल्डोले प्रहार गरेको गोल सर्वियाका डिफेन्डर स्टेफान मित्रोभिचले गोल लाइन भित्रबाट क्लियन गरेका थिए ।

सन् २००८ देखि अन्तर्राष्ट्रिय खेलका रेफ्रि डेनीले गोल लाइन बाहिरबाट क्लियन गरेको भन्दै गोल दिएनन् । जबकी भिडियो रिप्लेमा प्रस्ट गोल भएको थियो । सोही कारण रिसाएर रोनाल्डोले आफ्नो कप्तानीको आर्मब्यान्ड फालेका थिए । पछि उनले सामाजिक संजालमा पनि रेफ्रिको निर्णयले पुरै पोर्चुगललाई असर गरेको भन्दै असन्तुष्टी जनाए ।

पछि रेफ्रि डेनीले आफ्नो निर्णय गलत भएको भन्दै पोर्चुगिच राष्ट्रिय टिमसँग माफी मागेका थिए ।

विश्वकप छनोट खेलमा गोल लाइन टेक्नोलोजीको प्रयोग गरिएको छैन । रोनाल्डोले फालेको सोही आर्मब्यान्ड अब एक ६ महिना बालकको उपचारका लागि रकम जम्मा गर्न अक्सनमा राखिने भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । स्पाइनल मस्कुलर अट्रोफी रोग लागेका ६ महिनाका बालकको उपचार गर्न अक्सनमा राखिने छ । आर्म ब्यान्ड अनलाइनमा तीन दिन अक्सनमा राखिनेछ । मैदानमा रोनाल्डोले आर्म ब्यान्ड फाल्दा नजिकै रहेका स्टेवार्डले टिपेर एक क्षेत्रीय टेलिभिजनलाई फोन गरेका थिए । सो टिभीले भिडियो फुटेज हेरेर रोनाल्डोले नै फालेको पुष्टि भएपछि च्यारिटी संस्थासँग आर्मब्यान्ड अक्सनमा राख्ने भएको हो । ती स्टेवार्डले आफ्नो पहिचान भने खुलाउन चाहेनन् ।

रोनाल्डोल आर्मब्यान्ड फाल्ने वित्तिकै आफुलाई ती बच्चाको याद आएको र अक्सनमा राख्नेबारे सोच आएको उनले बताए । 

ताजा खबर