सन्याश लिएका बिराज महर्जनलाई प्रधानमन्त्रीले कोट लगाईदिँदा

२०७७ चैत १८ बुधबार ११:४५:०० मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस र अस्थीर राजनीतिका कारण  निराश भएका  नागरिकलाई नेपाली राष्ट्रिय फुटवल टिमले खुशी हुने एउटा बहाना दिएको छ । सानो सानो खुशीमा रमाउन जान्ने नेपाली सोमबार राष्ट्रिय फुटवल टिमको सफलतामा भावुक पनि बने । नेपालले बंगलादेशलाई पराजित गर्दै थ्रि नेशन्स कपको उपाधी उचाल्यो । घरेलु मैदानमा नेपालले ३७ वर्ष पछि उपाधी जितेको हो । विश्वकप छनोटको तयारीमा रहेको नेपालका लागि यो जीतले खेलाडीको मनोवल उच्च बनाएको छ । तीन वर्षपछि नेपालले गोलको खडेरी तोड्यो भने पूर्व कप्तान विराज महर्जनको सन्याश विशेष बन्यो । 

नेपालले यो समयमा दशरथ रंगशालामा कतार विश्वकप छनोटका खेल खेल्ने पूर्व निर्धारित तालिका थियो । अस्ट्रेलिया र चाइनिज ताइपेइ नेपाल आउँदै थिए । तर कोरोना भाइरस संक्रमणका कारण यी खेल स्थगित भए । त्यसैले यो समयको सदुपयोग गर्दै अखिल नेपाल फुटवल संघ एन्फाले तीन देश सम्मिलित त्रिदेशीय कप आयोजन ा गर्ने निर्णय गर्यो । नेपाल र बंगलादेशको राष्ट्रिय टिम र किर्गिस्तानको ओलम्पिक टिम अर्थात २३ वर्ष मुनिको टोली सहभागी भए । नेपालको सुरुवात भने अपेक्षा गरिए अनुसारको भएन । किर्गिस्तानको युवा टोलीसँग गोल रहित बराबरीमा रोकिएपछि नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जन आलोचित भए । 

दर्जनौं मौका पाएपनि सदुपयोग गर्न सकेन । बंगलादेश विरुद्ध खेलमा पनि नेपाल गोल गर्न असफल भयो । त्यसका बाबजुद नेपाल फाइनल प्रवेश गर्यो । फाइनल अघिको पत्रकार सम्मेलनमा प्रशिक्षक महर्जनले गोलको खडेरी तोड्ने कुरामा बढी जोड दिएका थिए । फाइनलमा भिआइपी तर्फ टिकट मूल्य १५ सयबाट बढाएर दुइ हजार र साधारण तर्फ सात सयबाट एक हजार पुर्याइएको थियो । मंहगो टिकट भएपनि रंगशालामा दर्शकको उल्लेख्य उपस्थिति भयो । प्रशिक्षक महर्जनले अघिल्ला दुइ खेलको सुरुवात एघारमा परिवर्तन   गरे । उनले विशाल राई र सुनिल वललाई पहिलो रोजाइमा मैदान उतारेका थिए । 

१८ औं मिनेटमा संजोक राइले सुनिल वलको कर्नरमा  सशक्त लेफ्ट फुट सट प्रहार गर्दै गोल गरेका थिए । योसँगै नेपालको तीन वर्षदेखिको गोलको खडेरी पनि तोडियो । यो भन्दा अघि नेपालले सन् २०१९ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइ विरुद्ध गोल गरेको थियो । संजोकको यो राष्ट्रिय टिमबाट पहिलो गोल हो । उनले यसै प्रतियोगितामा बंगलादेशसँगको अघिल्लो खेलमा डेब्यु गरेका थिए । २० औं मिनेटमा अञ्जन बिस्ट वान भर्सेस वानमा चुके । गोलकिपर अघि बढेको अवस्थामा अञ्जनको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो । ४२ औं मिनेटमा संजोकले उपलब्ध गराएको पारसमा विशाल राईले गोल गरेपछि नेपाल पहिलो हाफमा दुइ शून्यले अघि रह्यो । सात खेल यता पहिलो पटक नेपाल गोलको खडेरी तोड्न सफल हुँदा रंगशालामा उपस्थित झण्डै नौ हजार समर्थक रामोञ्चित बने ।

 

खेल हेर्न मैदान पुगेका प्रधानमन्त्री केपी ओलीले पनि उठेर तालि बजाउँदै खुशीयाली मनाए । ८३ औं मिनेटमा महबुबुर रहमानले बंगलादेशका लागि सान्त्वना गोल फर्काए । अन्तिम समयसम्म अग्रता जोगाउँदै नेपालले समग्रमा पाँचौ उपाधी जित्यो । किरण चेम्जोङले पनि कप्तानका  रुपमा पहिलो पटक च्याम्पियन ट्रपली उचाले । विजेता टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार पाए । च्याम्पियन नेपाललाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरे ।  रोहिच चन्द मोस्ट भ्यालुएवल प्लेयर घोषित भए । 

विराजको सुखद बिदाइ 

विराज महर्जन नेपाली फुटवलका उत्कृष्ट डिफेन्डर मध्येका एक । पूर्व कप्तान विराजले यहि थ्रि नेशन्स कप सकिएसँगै राष्ट्रिय टिमको आफ्नो यात्रा पनि टुंग्याए । खेलको अन्तिम मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज मैदान प्रवेश गरेका थिए । टिमको कप्तानी गरिरहेका किरण चेम्जोङले आम्र्ड ब्यान्ड निकाले  र रोहितलाई दिए । मैदान प्रवेश गर्न लाग्दा रोहितले विराजलाई कप्तानीको ब्यान्ड लगाइदिएका थिए । उनको आगमनसँगै  रंगशालामा विराजको नाम गुन्जियो । लोकप्रिय विराजले सात मिनेट जति मैदानमा विताए । खेल सकिएको सिठ्ठी फुकेसँगै उनी मैदानमा लडे । अव कहिल्यै पनि रातो र निलो रंगको जर्सी लगाउँदिन भनेर आफूलाई सम्झाउन कठिन थियो उनका लागि । तर खेलाडीलाई डेब्यु गर्दा नै थाहा हुन्छ की एकदिन सन्याश लिनै पर्छ । आफ्नो घरेलु मैदान, समर्थकले भरिएको स्टेडियम, टिम मेटको माया, फाइनल जित्दै उपाधी र प्रधानमन्त्री प्रमुख अतिथि । 

विराजले यति विषेश होला आफ्नो विदाइ भन्ने कहिल्यै साचेकै थिएनन् । प्रधानमन्त्री ओलीले विराजलाई सन्याशको कोट लगाइदिएका थिए । खेलाडीले पालैपालो बोकेर मैदान  घुमाए । विराजको आँखामा खुशी र दुःख मिश्रित आँशु छचल्किरह्यो । राष्ट्रिय टिमका सर्वाधिक ७३ क्याप जित्ने खेलाडी हुन उनी । ३२ वर्षिय विराजले १८ खेलमा नेपालको कप्तानी गरे । तीन उपाधी जिते । उनकै कप्तानीमा नेपालले १२ आंै दक्षिण एशीयाली खेलकुदमा  फुटवल तर्फ स्वर्ण, बंगबन्धु र सोलिडारिटी कप जितेको थियो । 

रोहितको क्रेज

 

रोहित नेपाली फुटवलका स्टार खेलाडी हुन् । उनी इन्डोनेसियामा ब्याबसायिक फुटवल खेल्छन् । उनी धेरै फ्यान फलोइन हुने खेलाडीमा पर्छन् । प्राय हामीले विदेशी टिम र देशहरुको खेलमा दख्ने गर्छौं समर्थक आफ्नो मनपर्ने खेलाडीलाई भेट्न मैदान प्रवेश गरेको । त्यो पनि खेलको बीचमानै । नेशन्स कपको फाइनलमा पनि त्यस्तै भयो । रोहितलाई भेट्न एक समर्थक खेलको बीचमा नै मैदान प्रवेश गरे  । उनी दौड्दै मैदानमा आए र रोहितलाई अँगालो मारे । रोहितले पनि हार्दिकताका साथ  तीन समर्थकलाई अँगालो हालेर  मैदान  बाहिरसम्म छोडे । 

‘केपी बा वि लभ यु’

केपी शर्मा ओली नेपाल र बंगलादेश बीचको फाइनल खेलको प्रमुख अतिथि थिए । उनी सरुमै मैदान पुगेका थिए । खेलाडीसँग परिचय गर्दै उनले फाइनल वल रेफ्रिलाई हस्तान्तरण गरेका थिए । उनले पुरै समय खेल हेरे । नेपालले गोल गर्दा उनले मज्जाले खुशियाली मनाए । च्याम्पियन नेपाली टोलीले अन्तिममा सामुहिक तस्विर खिचाए । सो क्रममा खेलाडीले ‘केपी बा वि लभ यु’ भन्दै नारा लगाए । प्राय राजनीतिक सभाहरुमा केपी ओलीका समर्थकले यो नारा लगाएको हामी सुन्ने गर्छौं । यो भिडियो अहिले सामाजीक संजालहरुमा भाइरल बनिरहेको छ ।  खेलाडीले यो  नारा लगाउनुलाई कसरी  लिने त ? 

फाइनल पछि प्रशिक्षक र किरण र विराजले के भने ? 

बालगोपाल महर्जन, प्रशिक्षक, राष्ट्रिय फुटवल टिम – यो नतिजा हामीले विगत एक सय दिन देखी गरेको मेहनतको फल हो । यो उपाधी खेलाडी र समर्थक प्रति समर्पित गर्न   चाहन्छु । हामीले टिममा केही खेलाडी र रणनीति परिवर्तन गर्यौं र यो सफल पनि भयो । नतिजा हाम्रो पक्षमा आयो । उपाधी जित्दा खुशी छु । 

विराज महर्जन– यो उपाधीसँगै मेरो फुटवल करियरले पूर्णता पाएको छ । आफ्नो खेल जीवनलाई फर्केर हेर्दा म एकदमै खुशी छु । मैले आज जे सफलता प्राप्त गरेको छु त्यो मैले अपेक्षा गरेको थिइन । जे पाए त्यसमा सन्तुष्ट छु । सवै  सर्मथकप्रति आभारी छु । 

किरण चेम्जोङ कप्तान, राष्ट्रिय फुटवलल टिम– नयाँ र अनुभवी खेलाडीको समीश्रणले उपाधी संभव भएको हो । युवा खेलाडी एकदमै राम्रा छन् । कप्तानका रुपमा पहिलो उपाधी जित्न  पाउँदा एकदमै खुशी छु । हाम्रा समर्थकलाई विषेश धन्यवाद उनीहरुले हामीलाई अतिरिक्त उर्जा प्रदान गरे । 


 

ताजा खबर