सपना होस् त किसुनजीको जस्तो, काठमाडौंमा आयो मेलम्ची !

२०७७ चैत १७ मंगलबार ११:००:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि मेलाम्ची खानेपानी आयोजनाको निरीक्षण गरे । मानौं महाथीर मोहमदकै पारा झिके । लि क्वान यु झैं आफ्नै सपनाबाट मेलम्ची आएको हो कि भन्ने भान पनि जनतामा पारे ।

मेलम्चीको सुरुङ सामु उभिएर बडो सानले सम्वोधन गरे । ओली निकट कार्यकर्ताले सामाजिक सञ्जालमा लेखे, ‘बिना मगरले मन्त्री छाड्नासाथ मेलम्चीको पानी आयो ।’

मानौं, मेलम्चीको सुरुङको साँचो प्रधानमन्त्री ओलीको जनैमा थियो, उनले साँचो खोल्नासाथ छल्छल्ती पानी सुन्दरीजल हुँदै काठमाडौंमा बगेको हो । मेलम्चीको सपना कसले   देख्यो ? मेलम्ची आयोजना कसरी बन्यो ? मेलम्चीमा दाता जुटाउने पहल कसको पालामा भयो ? यसको लामो प्रकृयाको इतिहास नबुझ्नेहरुले ठाने होलान्, मेलम्ची त ओली सरकारले नै ल्याएको हो ।

भूपीले लेखेकै हुन्, दौडन्छ गोडाले, तर तक्मा छातीले थाप्छ । मेलाम्चीको सपना देखे किसुनजीले, यो सपना साकार पार्ने सारा काम काँग्रेस सरकारले ग¥यो, उद्घाटन गर्नेहरुको चाहिँ कत्रो फुर्ती ? जस लिने कत्रो   होड ? 

किसुनजीको सपना

इतिहासको तथ्यमा उभिएर लेख्दा, मेलम्चीको इतिहास प्रारम्भ हुन्छ, २०३० सालमा, जतिबेला केपी ओलीहरु झापामा बर्गशत्रु सफायाको अभियान चलाइरहेका थिए । सम्भवतः तिनले मेलम्चीको नामै सुनेका थिएनन् । नेपाल खानेपानी संस्थानले उपत्यकाका विभिन्न सतही तथा भूमिगत जलस्रोत परिचालन गरी खानेपानी वितरण गरे पनि बढ्दो जनसंख्याका कारण माग अनुरुपको आपूर्ती भइरहेको थिएन । त्यसैताक उपत्यकाबाहिरका जलस्रोतहरुको परिचालन गर्ने अवधारणा अघि सारिएको हो ।

२०४४ सालमा त्यसबारेमा बेलायतको परामर्शदाता ‘बिन्नी एन्ड पार्टनर्स’लाई उपत्यका बाहिरका जलस्रोतको अध्ययनको जिम्मा दिइयो, जुन परामर्शदाताले उपत्यकाबाहिर र भित्रका विभिन्न २० वटा सम्भाव्य जलस्रोत औंल्याउने क्रममा मेलम्ची खोलाको नाम पहिलोपटक उच्चारण गरेको हो, जतिबेला ओलीको पार्टी नेकपा(माले) भूमिगत नै थियो ।

यसैवीच मुलुकमा जनआन्दोलनको उभार सुरुभयो । २०४७ सालको प्रारम्भमै कृष्णप्रसाद भट्टराई (किसुनजी) अन्तरीम सरकारका प्रधानमन्त्री बने । उपत्याकामा त्योबेला दैनिक ११ करोड लिटर खानेपानीको माग   थियो । धारामा पानी आउँदैनथ्यो । माले नेताहरु नौलो जनवाद र क्रान्तिका उडन्ते गफ गरिरहेका थिए । मेलम्ची खोलातर्फ कसैको ध्यान नै गएको थिएन । २०४८ सालको निर्वाचन प्रचारका क्रममा एक सभामा किसुनजीले भने, ‘मेलम्चीको पानी ल्याइयो भने खान त के काठमाडौंको सडक पखाल्न पुग्छ, काठमाडौं सिंगापुर झैं सफा हुन्छ ।’

तात्कालीन एमाले नेता र अन्य केही बुद्धिजिवी भनाउँदाले किसुनजीको ‘मेलाम्ची सपना’ को घनघोर उपहास गरे । पंक्तिकारलाई सम्झना छ, काठमाडौं एककै निर्वाचन प्रचारका क्रममा हजूरको पसल अगाडिको सभामा एमाले नेता कृष्णगोपाल श्रेष्ठले भनिदिए, ‘भट्टराईले मेलम्ची ल्याउने उडन्ते गफ दिइरहेको छ (महान नेतालाई तँ उच्चारण) । अब उसलाई के थाहा, मेलम्चीको हावादारी सपनाले देश बन्दैन भन्ने । भट्टराईल भने झैं काठमाडौं सिंगापुर त हैन, सिँगानपुर हुने होला ।’

सपनाको विज अँकुरण 

जब कुनै महान नेताले सपना देख्छ, त्यो सपनाको बिज विस्तारै अँकुरीत हुँदै जाँदो रहेछ । कसैले उपहास गर्दैमा त्यो सपना तुहिँदैन । सपना कसले देख्यो ? सपना साकार हुने कुरा यसमै निर्भर गर्छ ।  नभन्दै मेलम्ची खोलाबाट काठमाडौंमा पानी लाउन सकिने÷नसकिने बारे सम्भाव्यता अध्ययन सुरु भयो । २०४९ सालमा नेपाली कांग्रेसको सरकारकै पालामा अष्ट्रेलियाको ‘स्नोइ माउन्टेन इन्जीनियरीङ कर्पोरेशन’ ले मेलम्चीको विस्तृ सम्भाव्यता अध्ययन गरेर मेलम्ची परियोजनालाई सबै दृष्टिकोणले उपयुक्त ठहर गरिदियो । ठीक यसैबेला एमाले चाहिँ गिरिजा सरकार विरुद्ध कर्मचारी आन्दोलन र सडकका रेलीङ अनि टेलिफोन बुथ भत्काउने अभियानमा थियो ।

एशियाली विकास वैंक, जापानी तथा नर्वेजियन सरकारजस्ता प्रमुख दाताहरुले मेलम्ची खानेपानी आयोजनामा लगानी गर्न इच्छा देखाए । कांग्रेस सरकारकै पालामा २०५५ साल (सन् १९९८ अगस्ट)मा भौतिक योजना मन्त्रालय अन्तर्गत मेलम्ची खानेपानी विकास समितिको गठन गरियो ।

मेलम्ची खानेपानी विकास समिति अन्तर्गत तात्कालीन सिनियर डिभिजनल इन्जीनियर (पूर्व सचिव) हरिराम कोइरालाका अनुसार उनले नै काठमाडौं उपत्यकाको खानेपानीको वृहत वितरण प्रणालीको ढाँचा डिजाइन गरेका थिए । पानी प्रशोधन केन्द्रमा वातावरणीय प्रभाव न्यूनिकरण गर्ने उपाय सुझाएका थिए । उनले नै त्यसबेला आयोजनाको थोक बितरण प्रणाली (द्यगपि म्ष्कतचष्दगतष्यल क्थकतझ )को डिजाइन तयार गरेका    थिए । अहिले जुन मेलम्चीको बितरण प्रणाली छ, त्यो उतिबेलै तयार भएको डिजायन बमोजिमकै हो ।  

‘मेलम्चीबाट पानी आइसकेपछि काठमाडौंको मुख्य क्षेत्रमा वितरणका लागि पाइप विच्छयाउन एशियाली विकास बैंकले लगानी गर्ने तदारुकता देखायो । हामीले तयार गरेको डिजाइन बमोजिम नर्वे सरकारको अनुदान, विश्व बैंक, जापानी सहयोग नियोग जाइका र एशियाली विकास बैंकबाट आर्थिक श्रोत जुटाउन सकिने विश्वासका साथ काम प्रारम्भ गरिएको थियो’, कोइराला सम्झन्छन् । 

सपना साकार 

विचमा मेलम्चीको काम हुन पाएन । राजा ज्ञानेन्द्रको शासनकाल र राजनीतिक परिवर्तनको संक्रमणकालमा यो अभियान रोकियो । २०६४ साल साउनमा हरिराम कोइराला पुनः मेलम्ची खानेपानी आयोजनाको कार्यकारी निर्देशक बने । मेलम्चीमा कोइरालाले पहिले नै थोक वितरण प्रणाली र ११ वटा रिजर्भवायरको आवश्यकतासहितको डिजाइन तयार गरीसकेका थिए । यसवीचमा विभिन्न अवरोधका कारण रोकिएको मेलम्ची अलपत्र थियो । अवरोध र अन्यौलका कारण एशियाली विकास बैंकले ऋण नदिने अवस्था सिर्जना भइरहेको थियो । काम गर्ने वातावरण नभएकाले एडिबी वाक्क भएर मेलम्चीबाटै हात झिक्ने अवस्थामा पुगिसकेको थियो । विस्तारै कांग्रेस सरकारकै पालामा ती गाँठाहरु फुक्दै गए । सन् २००८ मा एडीबीसँग ९ अर्ब रुपैयाँ ऋण सम्झौता भयो, जुन आयोजनाको लागी कोषेढुङ्गा सावित भयो ।

हु्न त, सुरुङ निर्माणको ठेक्का अगाडि बढाउने प्रकृयामै नर्वेजियन ग्रुपले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी मेलम्चीको पानी बागमतीसम्म पु¥याउनुपर्ने र जसबाट तराईमा सिंचाई र जलविद्युत उत्पादनसमेत गर्न सकिने प्रस्ताव राखेको थियो । यसो गर्दा सुरुङ निर्माणमा ढिलाइ हुन्थ्यो । प्रधानमन्त्री कोइरालाले नर्वेको प्रस्ताव मानेनन् । बरु उनले विज्ञहरुसँग परामर्श गरे । 

‘डिपीआर भइसकेको र ठेक्का पट्टा अन्तिम चरणमा पुगिसकेको सुरुङ निर्माणको काममा निर्णय नगरी भोली अध्ययन नै नभएको विषयलाई निर्णय गरेर जाँदा परियोजना गन्तब्यमा पुग्दैन । हामीले प्रधानमन्त्रीलाई यही सल्लाह दिएका थियौं’, हरिराम कोइराला भन्छन्, ‘प्रधानमन्त्रीले हाम्रो आग्रह मान्नुभयो र मेलम्चीको सुरुङ निर्माणको काम प्रारम्भ भयो ।’

किसुनजीको मेलम्ची सपना हरिराम कोइरालाजस्ता इन्जीनियर र जलश्रोतमै भिजेका सेवक, कामदार र दाताहरुको अथक पहलबाट विभिन्न जटीलता चिर्दै सम्पन्न भएको छ । काठमाडौंको धारामा मेलम्चीको पानी आएको छ । किसुनजीको सपना साकार भएको छ । आखिर सपना देख्नु त यस्तो पो, जुन एक दिन साकार होस् ।

बिडम्बना, असम्भव सपनाहरुको गफ हाँकेर जनतालाई भुलभुलैयामा पार्दै आएका प्रधानमन्त्री केपी ओलीले केही साताअघि मेलम्चीको अनुगमन गर्दै भर्खर काला हुन थालेका जुँगामा ताउ लाए, मानौं मेलम्ची उनकै सपना हो । तर, कृतघ्नताको हद हुन्छ नी । आफ्नो सम्बोधनमा उनले मेलम्चीको पानी ल्याएर काकाकूल काठमाडौंमा जलधारा बगाउने सपना देख्ने किसुनजीलाई सम्झिएनन् । एक पटक पनि किसुनजीको नामसमेत उच्चारण गरेनन् । 

त्रिशुलीका सपना कसले देख्ने ? 

जे होस्, मेलम्ची आएको छ । तर, मेलम्ची आफैंमा पर्याप्त चाहिँ हैन । सुरुको इस्टीमेट अर्कै थियो । पूर्व डिभिजनल इन्जीयर कोइरालाका अनुसार मेलम्ची खोलाबाट हरेक दिन १७ करोड लिटर पानी काठमाडौं भित्रयाउन सकिन्छ । यसैगरी छेउकै यांग्री र लार्के खोलाबाट पनि १७÷१७ करोड लिटर पानी भित्र्याउन सकिन्छ । यी तीन खोलाबाट पानी आपुर्ती हुनसकेमा मात्र काठमाडौं उपत्यकाका लागि कम्तीमा चालिस वर्षका लागि खानेपानीको अभाव टार्न सकिने प्रारम्भीक अनुमान थियो । र, यसैक्रममा मेलम्ची आयोजनाबाट सन् २०११ सम्मका लागि खानेपानीको अभाव पूर्ती गर्न सकिने र त्यसपछि अन्य विकल्प खोज्नुपर्ने अवस्था थियो । तर, सन् २०११ मा यो आयोजना पुरा हुन सकेन । त्यसपछि मेलम्चीको पानीले सन् २०१७ सम्मको खाँचो टार्नसक्छ भनियो । तर, २०१७ मा मेलम्ची आएन । सन् २०२१ मा मात्र आएको छ । अब मेलम्ची आए पनि त्यसले काठमाडौंको माग पूर्ण रुपमा धान्न सक्दैन ।

‘हामीले यांग्री र लार्केको पानी ल्याउनुपर्ने हुन्छ । यसै सन्दर्भमा मैले यांग्री र लार्केको सम्भाव्यता अध्ययन गर्नुप¥यो भनेर एडिशनल फाइनान्सीङकै बेला एबडीबीका अधिकारीसँग छलफल गरेको थिएँ । थपिएको ऋणबाटै लार्के र यांग्रीको पनि विस्तृत परियोजना प्रतिबेदन (डिपीआर) तयार गर्ने निक्र्यौल गरियो र सरकारले प्रकृया अघि बढायो’, कोइराला भन्छन्, ‘यांग्री र लार्केको पानी ल्याएर पनि भविष्यमा पानीको माग बढ्यो भने त्रिशुलीबाटै ल्याउनुपर्ने हुन्छ ।’

किसुनजीको मेलम्चीको सपना त साकार भयो, अब त्रिशुलीबाट पम्पीङ गरेर पानी काठमाडौंसम्म ल्याउने सपना देख्ने कोइ माइकालाल छ त ? 

ताजा खबर