मेलम्चीको पानी  आइपुग्यो, खाने हतार चैं नगरौं

२०७७ चैत १५ आइतबार २१:०२:०० मा प्रकाशित

काठमाडौं । लामो प्रतिक्षापछि आईतबारदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ । देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, अनामनगर, धनवन्तरी मार्गलगायत क्षेत्रका धारामा पानी आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले जनाएको छ । हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छाइएको नयाँ पाइपलाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ । 

अहिले दैनिक चार करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए। पहिलो चरणमा महाङ्कालचौर, अनामनगर, मीनभवन र खुमलटारमा रहेका ट्याङ्कीमा पानी भरेर ग्राहकका घरमा पठाउन लागिएको छ । उनले भने, “विस्तारै सबै क्षेत्रमा पानी पठाइनेछ ।” महाङ्कालचौर पोखरी खोलेर जम्मा भएको पानी घरघरमा पठाउन थालिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए। सो पोखरीबाट चावहिल, कुटुबहाल, आनन्द नगर क्षेत्रमा पानी पुग्ने उनले जानकारी दिए। पानी बढाउँदै लगेर दैनिक १७ करोड लिटरसम्म काठमाडौँ ल्याउन लागिएको छ । सकेसम्म दैनिक रुपमा विवरण गर्ने लिमिटेडको योजना छ । उहाँले भन्नुभयो, “सकेसम्म दैनिक नभए दिन बिराएर पानी ग्राहकले पानी पाउनेछन् ।”

अहिले खानेपानीको शुल्क यथावत नै राख्ने लिमिटेडको योजना छ । पहिले पानी दिने लक्ष्य भएको र ग्राहक खुशी बनाएर मात्रै महसुल बढाउन सोच्ने उनले बताए। तोकिएका स्थानमा कुनै घरमा पानी नपुगेमा तत्काल समस्या पत्ता लगाएर समाधानका लागि टोली बनाइएको छ । उनले भने, “सम्बन्धित शाखामा सम्पर्क गरेपछि समाधान हुनेछ ।”

निर्माण शुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको आयोजनाको निर्माण सकिएसँगै परीक्षण गरिएको हो । यस अघि मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका सुरुङ र पानी प्रशोधन केन्द्रको परीक्षण गरिएको थियो । राष्ट्रिय गौरवको सो आयोजनाले काठमाडौँ उपत्यकामा लामो समयदेखि रहेको खानेपानीको अभाव हट्ने अपेक्षा गरिएको छ । आयोजनामा यसअघि विभिन्न कम्पनीले काम गरेका थिए । पछिल्लो पटक चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम सम्पन्न गरेको हो । सोही कम्पनीले ‘हेडवर्क’ निर्माण गरिरहेको छ । रासस

ताजा खबर