मेलम्चीकाे पानी घरघरमाः खुमलटार, मीनभवन, महांकाल र अनामनगर क्षेत्रमा आज वितरण हुँदै

२०७७ चैत १५ आइतबार १०:१०:०० मा प्रकाशित

काठमाडौं: मेलम्चीको पानी आइतबारदेखि काठमाडौंका धारा–धारामा आउने भएकाे छ। आयोजना शुरु भएको झण्डै २२ वर्षपछि बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको मेलम्चीको पानी आज आइतबारबाट काठमाडौंमा वितरण शुरु भएकाे छ। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर मेलम्ची वितरण शुरु गर्न लागिएको हो। आगामी चैत २० मा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीकाे पानी वितरण कार्यक्रमलाई औपचारिक उद्घाटन गर्ने तयारी रहेकाे छ।

गत  फागुन २२ गते मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा सुरुङमार्फत् झारिएको थियो। आयोजनाका अनुसार यही चैत १५ गते अर्थात् आइतबारदेखि नै पानी परीक्षणका रूपमा घरका धारा–धारामा पुर्‍याइने भएको हो। पहिलो साता साढे आठ करोड र त्यसपछि पुनः साढे आठ करोड लिटर गरी १७ करोड लिटर धारामा पठाउने याेजना रहेकाे आयोजनाले बताएको छ। 

हाल उपत्यकाभित्र ८० हजार नयाँ धारा जडान गर्नुपर्ने अवस्था रहेको पनि आयोजनाले जानकारी दिएको छ। आइतबार काठमाडौंमा मात्र  मेलम्चीको पानी वितरण हुनेछ भने दुई सातापछि भक्तपुरमा पनि छाडिने जनाइएको छ।

ताजा खबर