नेपाल थ्रि नेशन्स कपको फाइनलमा, यस्तो थियो खेल

२०७७ चैत १४ शनिबार २२:१०:०० मा प्रकाशित

काठमाडौं । नेपाल थ्रि नेशन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा बंगालेदशसँग गोल रहित बराबरी खेलेपछि नेपालले फाइनलमा स्थान बनाएको हो । तर नेपाल गोलको खडेरी तोड्न भने असफल भयो ।

दशथर रंगशालामा भएको खेलमा नेपाल वल पोसेसनमा अघि थियो । तर गोल गर्न भने सकेन । २१  औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विस्टको हेडर पोस्ट माथिबाट बाहिरियो । २४ औं मिनेटमा त्रिदेव आफैं    चुके । पहिलो हाफमा बंगलादेशले पनि नेपालको पोस्टमा आक्रमण गरेको थियो । ४० औं मिनेटमा जमल भुयाको फ्रि किक पोस्ट नजिकैबाट बाहिरिएपछि बंगलादेश अग्रता लिने मौकाबाट बञ्चित भयो । ६५ औं मिनेटमा रंजित धिमालको क्रसमा अभिषेक रिजालको हेडरले पोस्टको दिशा लिन सकेन । ८२ औं मिनेटमा दर्शन गुरुङको प्रहार क्रस बारमा लागेपछि नेपाल गोल रहित बराबरी खेल्न बाध्य भयो ।

 रोहित चन्द खेलको म्यान अफ द म्याच चुनिए । सुनिल बल र विशाल राइ दोस्रो हाफमा मैदान प्रवेश गरेपछि नेपालले मुभ सिर्जना गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा पनि किर्गिस्तान अन्डर ट्वान्टी थ्रिसँग गोल रहित बराबरी खेलेको थियो । जीतपछि नेपालले दुइ अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

पहिलो खेल जितेको बंगलादेश चार अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो । किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरियो । नेपाल लगातार ६ खेलमा गोल गर्न सफल भएको भयो । पछिल्लो पटक नेपालले विश्वकप छनोट खेलमा सन २०१९ मा चाइनिज ताइपेइलाई दुइ शून्य गोलले पराजित गरेको थियो । त्यसपछि विश्वकप छनोटमा नै नेपाल अस्ट्रेलिया, जोर्डन र कुबेतसँग हारेको थियो ।

 गत मंसिरमा बंगलादेशसँग उसकै मैदानमा भएको दुइ मैत्रीपूर्ण खेलमा नेपालले एक खेल दुइ शून्यले हार्दा एक खेल गोल रहित बराबरी खेलेको थियो । 

थ्रि नेशन्स कपको फाइनल सोमबार हुनेछ ।

खेलपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टिमको रणनीति अंक नगुमाउने रहेको प्रतिकृया दिए । दोस्रो हाफमा उत्कृष्ट खेल खेलेको भन्दै फाइनलमा अझ सशक्त प्रदर्शन गर्ने उनको भनाइ छ । उपाधी नै नेपालको लक्ष्य भएको महर्जनको भनाइ छ । 

 शनिबारको खेलमा नेपालका तीन खेलाडीले राष्ट्रिय टिमबाट डेब्यु गरे । मिडफिल्डरद्वय संजोग राइ र त्रिदेव गुरुङ सुरुवाती एघारमा नै रहेका थिए । निशान खड्का दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । यी तीनले यसअघि किर्गिस्तानसँग खेलेपनि सो खेल फिफाले मान्यता लिएको आधिकारिक खेल थिएन । डिफेन्डर निशान ७१ औं मिनेटमा अभिषेक रिजालको स्थानमा मैदान प्रवेश गरेका थिए । 

ताजा खबर