एकदिवसीय सिरिज: भारत र इङल्याण्ड बराबरीमा रोकिए

२०७७ चैत १४ शनिबार १०:२०:०० मा प्रकाशित

काठमाडौं । भारत र इङल्याण्ड बीचको तीन खेलको एकदिवसीय सिरिज एक एकको बराबरी भएको छ । पहिलो खेल हारेको इङल्याण्डले दोस्रो एक दिवसीयमा भारतलाई ६ विकेटले पराजित गर्दै सिरिज बराबरी गरेको हो ।

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा टस हारेर ब्याटिङ गरेको घरेलु टोली भारतले ५० ओभरमा ३ सय ३६ रन बनाएको थियो । भारतका ओपनर भने सस्तैमा आउट भएका थिए । शिखर धवन मात्र चार रनमा पवेलियन फर्किँदा रोहित शर्माले २५ रन जोडे । तेस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलले १ सय २१ रनको साझेदारी गरे । कोहली ६६ रनमा आउट भए । 

जारी सिरिजमा उनको लगातार दोस्रो र समग्रमा ६२ औं एकदिवसीय अर्धशतक हो । राहुलले १ सय १४ वलमा १ सय ८ रन बनाए । उनको पारीमा ७ चौका र २ छक्का सामेल थियो । राहुलले करियरमा पाँचौ  एकदिवसीय शतक बनाएका हुन् । उनले रिसव पन्तसँग मिलेर चौथो विकेटका लागि पनि १ सय १३ रनको साझेदारी गरे । रिसवले ७७ र हार्दिक पाण्डेयाले १६ वलमा ३५ रन बनाए । कुर्णाल पाण्डेयाले ९ वलमा १२ रन जोडे । वलिङ तर्फ रेस टोप्ले र टम करणले दुइ दुइ तथा साम करण र आदिल रासिदले १–१ विकेट लिए । 

३ सय ३७ रनको विशाल लक्ष्य इङल्याण्डले आक्रामक ब्याटिङ गर्दै ४३ दशमलब ३ ओभरमा ४ विकेटको नोक्सानीमा पुरा गर्यो । इङल्याण्डको जीतमा जोनी ब्रेस्टो र बेन स्टोक्सले शानदार पारी खेले । पहिलो विकेटका लागि जेसोन रोय र ब्रेस्टोले एक सय १० रनको साझेदारी गर्दै जीतको वलियो आधार तयार गरेका थिए । रोय ५५ रनमा आउट भए । दोस्रो विकेटका लागि ब्रेस्टो र स्टोक्सले १ सय १७ वलमा  १ सय ७५ रनको साझेदारी गरेपछि भारतीय वलर निरिह सावित भएका थिए  ।

ब्रेस्टोले करियरको एघारौ एकदिवसयी शतक बनाउने क्रममा १ सय १२ वल खेल्दै १ सय २४ रनको योगदान गरे । उनले ११ चौका र ७ छक्का प्रहार गरे । स्टोक्स भने एक रनले शतकबाट चुके । ९९ रनमा उनी भुवनेश्वर कुमारको वलमा आउट भएका थिए । ५२ वलको सामना गर्दै स्टोक्सले ४ चौका र १० छक्क प्रहार गरे । डाविड मालानले १६ रन थपे । स्टोक्ससँगै इङल्याण्डले दुइ रन बनाउदा तीन विकेट गुमायो तर त्यति वेलासम्म इङल्याण्ड जीत नजिक पुगी सकेको थियो ।

प्रसिद्ध कृष्णले २ विकेट लिए । पहिलो एक्दिवसीय भारतले ६६ रनले जितेको थियो । लगातार दोस्रो खेल पनि जित्दै सिरिज कब्जा गर्ने भारतको योजना इङल्याण्डले पछि धकेलिदियो । 

तेस्रो तथा निर्णायक एकदिवसीय आइतबार हुनेछ । 

ताजा खबर