थ्रि नेशन्स कप: नेपालले गुमाएको मौका, अन्तत बराबरीमा रोकियो

२०७७ चैत १२ बिहीबार २१:५०:०० मा प्रकाशित

काठमाडौं । थ्रि नेशन्स कपमा नेपाल निराशाजनक प्रदर्शन गर्दै दश खेलाडीमा समेटिएको किर्गिस्तानको युवा टोलीसँग गोल रहित बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा नेपालले गोलका धेरै अवसर गुमाएको थियो । खेल सुरु भएको चौथो मिनेटमा नै अञ्जन बिस्टको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो । वल पोसेसनमा पकड जमाए पनि नेपालले डेडलक तोड्न भने सकेन । दशौं मिनेटमा  त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडरले पोस्टको दिशा लिन सकेन । नेपालले  १४ औं मिनेटमा अग्रता लिने सुनौलो मौका गुमायो । अञ्जनको क्रस प्रहारको एकदम नजिकबाट बाहिरिँदा नेपाल अभागी सावित भयो ।

दोस्रो हाफमा पनि नेपालको प्रयास सफल हुन सकेन । त्रिदेवको कर्नरमा अनन्तको हेडर किर्गिस्तानका गोलकिपर अर्टेमले सहजै बचाए । ६२ औं मिनेटमा रंजित धिमाल फ्रि किकमा अञ्जन फेरि चुक्दा नेपाल खाता खोल्नबाट बञ्चित भयो । एकपछि अर्को मौकाको सदुपयोग गर्न नसकेका अञ्जन सब्सिच्युट भएका थिए ।

नेपालको पोस्टमा मुश्किलले चुनौती दिएको किर्गिस्तान ६७ औं मिनेटमाल दश खेलाडीमा समेटियो  । उसका कप्तान तासिभ कामोल्दिन दोहोरो पहेंलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । तर त्यसको फाइदा नेपालले उठाउन सकेन । नेपाल र किर्गिस्तानको बराबरी पछि बंगलादेश फाइनल पुगेको छ । बंगालेदशले किर्गिस्तानलाई एक शून्य गोलले पराजित गरेको थियो । नेपाल र किर्गिस्तान दुवैको लागि फाइनल पुग्ने अवसर   छ । यदि नेपालले शनिबार बंगलादेशसँग बराबरी खेले फाइनलमा स्थान बनाउने छ ।

बालगोपाल महर्जन, प्रशिक्षक नेपाली राष्ट्रिय फुटवल टिम

म आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट छु । लामो समयपछि प्रतिस्पर्धात्मक खेल खेलिरहेका छौं । बराबरीको नतिजामा खुशी छु । हो हामीले गोल गर्न सकेनौं तर राम्रो खेल्यौं । टिमले बंगलादेशसँग सुधारिएको खेल खेल्नेछ । मेरो निर्देशन अनुसार नै मैदानमा खेलाडीले प्रदर्शन गरे ।

नुर्बेक प्रशिक्षक, किर्गिस्तान यु२३ टिम

खेलाडीले उनीहरुले दिन सक्ने सवै क्षमता लगाएर खेले । हामी पहिलो हाफमा राम्रो लयमा थियौं । तर दोस्रोे हाफमा दवावमा आयौं । हाम्रो कप्तान रातो कार्ड खाँदै मैदान बाहिरिएपछि दवावमा आयौं । नेपाली खेलाडी बंगलादेशले भन्दा तिव्र गतिको खेल खेले । नेपाली टिमले डाइनामिक खेल खेल्यो । हामी अझै फाइनल पुग्नेमा आशाबादी छौं । तर नेपाल र बंगलादेश बीचको खेल प्रतिक्षा गर्नुपर्छ ।

ताजा खबर