'मलाई एम्बुसमा पार्ने प्रयास गरिएको थियो'

डा. रामशरण महत नेपाली कांग्रेसका वरिष्ठ नेतामध्येमा पर्छन् । उनी नुवाकोटको १ नं क्षेत्र मा कांग्रेसको तर्फबाट उम्मेद्वार छन् । विगत चारवटा चुनावमा उनी लगातार विजयी भएका थिए।  जनतामाझ बोलेको कुरा पूरा गर्नसक्ने नेताको छवि भएका डा महतले मुुलुकको सिंगो विकास र राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिका उल्लेख्य छ । यही भूमिकाका कारण मुलुकभित्र मात्र होइन, उनको यो छवि अन्तर्राष्ट्रिय समुदायमा पनि परिचित छ । चुनावी प्रचार अभियान पूरा गरेपछि बिहीबार नुवाकोटको खरानीटारमा नेता डा महतले सरल संवाददातासँग भने, जनतामा मेरो पक्षमा अभूतपूर्वरुपमा लहर आएको छ । मैले चुनाव जित्ने आधार यही हो । नेता महतसँग  गरिएको कुराकानीको सार:

चुनाव प्रचार सकिएको छ, आफ्नो स्थिति कस्तो पाउनुभयो ?

मेरो पक्षमा व्यापक जनसमर्थन देखिएको छ र यसले मलाई उत्साहित बनाएको छ । म महत्वपूर्ण जिम्मेवारीमा रहेको बखत पनि निरन्तर जिल्ला आउने र यहाँका जनतासँग सम्वाद र सम्पर्कमा रहने गरेकै थिएँ । अहिले धेरै गाउँ घुमेर जनतासँग सम्वाद र अन्तरक्रिया गरेँ । जताततै उत्साहित जनसमुदाय देखें र जनताको यति भब्य स्वागत र माया ममता पाउँदा अत्यन्तै खुशी लागेको छ । यो भनिरहनुपरेन पुरानो क्षेत्रबाट मैले निरन्तर जितिरहेको छु । नयाँ थपिएको क्षेत्रबाट मैले अहिले अभूतपूर्वरुपमा सहयोग र समर्थन प्राप्त गरेको छु । यहाँ बाम गठबन्धनको प्रभाव देखिँदैन । जिल्लाका विभिन्न ठाउँबाट ठूलो संख्यामा माओवादी लगायत अन्य दलहरु छोडेर कांग्रेसमा प्रवेश गरेका छन् । लोकतान्त्रिक गठबन्धनको पूरै सहयोग छ र सम्पूर्ण मत प्राप्त गर्नेछु । त्यतिमात्र होइन, कतिपय बाम तटस्थ मत पनि मैले प्राप्त गर्नेछु भन्नेमा विश्वस्त छु । यसले गर्दा मैले अत्यधिक बहुमतले चुनाव जित्नेछु भन्नेमा ढुक्क छु ।

गाउँ गाउँ घुम्दा जनताको चाहना के रहेको पाउनुभयो ? 

जनता शान्ति र बिकास चाहन्छन्, अशान्ति अस्थिरता र अविकास होइन । यो कुरा सबैले बुझ्नुपर्छ । राजधानीसँगै रहेर पनि २०४८ अघिसम्म पनि नुवाकोट जिल्ला बिकासमा पछि परेको थियो । मेरै पहल र सक्रियतामा अहिले गाउँ गाउँमा विकास निर्माण पुगेको छ र यी विकासका काममा मेरो भूमिकाप्रति सबैलाई जानकारी भएको मैले पाएँ । जनतालाई यो पनि थाहा छ  कि अरु उम्मेद्वारहरु यही चुनावी मुखमा मात्र गाउँ गाउँमा आएका छन र जिल्लाको विकासका लागि केही काम गरेका छैनन् । विकास निर्माणका अतिरिक्त जनताले सुखदुखमा साहरा र संरक्षण खोजेका हुन्छन र मैले सकेसम्म उनीहरुले भोगेका हरेक समस्या समाधानमा पहल गरिदिएको छु । यसले गर्दा उनीहरुको मप्रतिको विश्वास र भरोसा बढेको हो भन्ने मलाई लाग्छ । मैले ठूला ठूला आश्वासन दिएको छैन । सक्ने कुरा बोलेको छु र बोलेको कुरा पूरा गरेरै छाड्छु भन्ने गरेको छु । यहाँका दाजुभाइ दिदीबहिनीहरुले मलाई यसरी नै मूल्यांकन गर्ने गरेको पाएको छु ।

नयाँ थपिएको क्षेत्रमा त्यहाँका जनताको चाहना के रहेछ ?

ककनी र आसपासका क्षेत्रबाट मलाई ठूलो सहयोग जुट्ने विश्वास रहेको छ । मेरो पक्षमा यहाँका जनताको ठूलो सहयोग र सहभागिता देख्न नसकेर मलाई एम्बुसमा पार्ने प्रयास गरिएको थियो । कसैको उक्साहटमा त्यस्तो काम गर्न साथ दिनेहरुमा पनि अहिले पश्चाताप हुन थालेको मलाई खबर ल्याउने गरिएको छ । त्यस घट्नापछि स्थानीय जनताको मप्रतिको सहानुभूति र माया नै बढेको पाएको छु । यहाँका जनतासँग पछिल्लो समय धेरै भेटघाट र अन्तरक्रियाहरु भएका छन । ककनी र आसपासका क्षेत्रमा म गएको पनि छु । यहाँका जनताले आफ्नो क्षेत्रको विकास निर्माण र समस्या परेको बखत संरक्षकत्व खोजेको मैले पाएको छु । यसमा उनीहरुको मप्रति पूर्ण विश्वास र भरोस रहेको पाएको छु । त्यसैले ती ठाउँहरुमा गएको बखत उनीहरु उत्साहित भएको र मलाई सहयोग गर्न सक्रियताका साथ लागेको मैले पाएको छु । यहाँका जनताको मप्रतिको यति ठूलो सम्मान, उत्साह जोस र जाँगर देखेर मलाई यस क्षेत्रको विकासका लागि थप सक्रिय हुने प्रेरणा मिलेको छ । यस क्षेत्रको विकासका लागि हिजो पनि मैले काम गरेको छु र आगामी दिनमा अझ थप सक्रियताका साथ काम गर्ने संकल्प गरेको छु । के कस्ता कामहरु गर्न सकिन्छ भनेर उनीहरुसँग छलफल र कुराकानी पनि गरेको छु । मैले विकास निर्माणका कामबारे केही प्रतिवद्धताहरु पनि जाहेर गरेको छु । यहाँको जनताको मुख्य चाहना विकास निर्माण नै रहेको छ । विकास निर्माणबारे स्पष्ट सोच र त्यसलाई सफलतापूर्वक यथासमयमा कार्यान्वयनमा ल्याउन सक्ने जनप्रतिनिधि उनीहरुले खोजेका छन । मैले गर्न सक्छु भन्ने उनीहरुको दृढ विश्वास छ ।

तपाईंले नुवाकोटको बिकासका लागि के कस्ता कामहरु गर्नुभएको छ ?

जिल्लाको विकासका लागि मैले धेरै काम गरेको छु । ०४८ अघिसम्म जिल्लामा केही विकास भएको थिएन । ०४८ पछि मेरै पहल र सक्रियतामा यस जिल्लामा थुपै्र विकास निर्माणका कामहरु भएका छन ।  यति धेरै कामहरु भएका छन, ती सबै उल्लेख गर्नु यहाँ संभव छैन । मुख्य मुख्य कामका बारेमा भन्नुपर्दा  जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने छहरे–टोखा सडक, गल्छी–देवीघाट सडक, नुवाकोट हुँदै जाने मध्यपहाडी लोकमार्गको निर्माण, निर्माणाधीन गल्छी–रसुवागढी सडक, गँगटे–गोल्फुभन्ज्याङ्ग, लिखु–कविलासदेखि बेतिनी–गोल्फुभन्ज्याङ्ग आदि सडकहरु छन । अन्य दर्जनौं सडकहरु बहुबर्षीय ठेक्का प्रणालीमा शुरुवात गरी सबै गाउँपालिका र वडाहरुमा पक्की सडकहरु निर्माणाधीन छन । लिखु, तादी र सहायक नदीहरुमा दर्जनौं पक्की पुलहरुमध्ये अधिकांश निर्माण भै सञ्चालनमा आइसकेका छन र कतिपय निर्माणाधीन छन । त्यस्तै दर्जनौं झोलुङ्गे पुलहरु, ठूला तथा मध्यम सिंचाई आयोजनाहरु, सबै गाउँमा उज्यालो पु¥याउने विद्युतीकरण कार्यक्रम, डुवाचे जस्ता वृहद् आयोजना लगायत कैयौं खानेपानी आयोजना, झोर–छहरे टनेल मार्गको संभाब्यता अध्ययन जस्ता कार्यक्रमहरु मेरो पहल र सक्रियतामा सञ्चालनमा छन । त्यसैगरी मेरै सक्रियता र पहलमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय, अस्पताल मन्दिर, गुम्बा एवं पुरातात्विक सम्पदा तथा धरोहर, सार्वजनिक भवनको पुनर्निर्माण र भूकम्पपीडितहरुलाई घर निर्माण अनुदान आदि कार्यक्रमहरु पनि सञ्चालनमा छन । यी त राष्ट्रियस्तरका कार्यक्रमहरुका साथै अनगिन्ति सानातिना विकासका कार्यक्रमहरु सञ्चालनमा छन । यी विकासका काममा अन्य कुनै पार्टीको कुनै नेताको भूमिका छैन भन्ने स्थानीय जनतालाई थाहा छ ।

अब भविष्यमा जिल्लाको बिकासका लागि तपाईका एजेण्डाहरु के छन् ?

जिल्लाको विकासका लागि मेरा एजेण्डाहरु स्पष्ट छन । विगतमा प्रारम्भ गरिएका आयोजनाहरुलाई यथाशाक्य चाँडो सम्पन्न गराउने मेरो सार्वजनिक प्रतिवद्धता रहेको छ । त्यस्तै खानेपानी, विजुली, सिंचाई, सडक जस्ता आधारभूत सुविधाहरु नपुगेका गाउँ–बस्तीहरुमा यी सुविधाहरु पु¥याउनु आवश्यक छ । शिक्षा–स्वास्थ्य क्षेत्रको स्तरोन्नति, कच्ची सडकको स्तरोन्नति गर्दै पक्की बनाउनुपर्ने खाँचो छ । बाटो त पुगेको छ तर पीच नभएको र पानी पर्दा बाटो बगाएर जनतालाई कति असुविधा भएको छ मलाई थाहा छ । त्यसैले बालाजु–त्रिशुली सडक स्तरोन्नतिलाई यथाशीघ्र सम्पन्न गराउने, काउले ठाना - छहरे सडक र विगतमा संभाब्यता अध्ययन भैसकेर पनि निर्माण नभएका अन्य सडकहरुलाई शीघ्र कार्यान्वयन गराउने  मेरो कार्यक्रम रहेको छ । नुवाकोटको दक्षिणी भेगलाई राष्ट्रिय यातायातको सञ्जालमा ल्याउन तीनपिप्ले गल्छीमार्गको स्तरोन्नतिको कामलाई शीघ्र सम्पन्न गरिनेछ । त्यस्तै ओखरपौवा डम्पिङ साइटका कारण यस भेगका जनताले समस्या भोग्नुपरेको गुनासो छ । डम्पिङ साइट भरिदै गएको र विकल्प खोज्ने प्रयास भैरहेको छ । त्यसबेला सम्मका लागि पनि  प्रदूषण तथा अन्य समस्याहरुको निराकरण गर्न मेरो पहल र सक्रियता हुनेछ । 

यी त भौतिक बिकासका कार्यक्रमहरु भए । भौतिक बिकास बाहेक पनि त अरु क्षेत्रमा ध्यान जान जरुरी छैन र ? 

नुवाकोट जिल्लाको सुन्दर भविष्य मैले देखेको छु । अहिले जुन विकासको जग हालिएको छ, तिनको निर्माण पूरा भैसकेपछि नुवाकोटको पूरै तस्वीर बदलिनेछ । भौगोलिक अवस्थितिले यस जिल्लाले रणनीतिक महत्व बोकेको छ । मध्यपहाडी लोकमार्गको पूर्ण सञ्चालन, झोंर–छहरे टनेलमार्ग, चीनसँगको व्यापारिक संभाब्यता, रेलमार्गको संभाब्यता अध्ययन हुँदै गरेको अवस्थालाई हेरौ न यो जिल्लाको भविष्य कति उज्यालो देखिन्छ । यस जिल्लालाई नेपाल–चीन–भारतको व्यापारिक नाकाको रुपमा विकसित गरी आर्थिक अवसरहरु बढाउने हाम्रो सोच अनुसार कार्य अघि बढेको छ । हामी यी सम्पूर्ण संभावना उजागर गर्न कम्मर कसेर लागेका छौं । त्यस्तै, यस जिल्लालाई कारण मैले यस जिल्लालाई उर्जा उत्पादन केन्द्रको रुपमा स्थापित गर्ने मेरो सोच रहेको छ ।

नुवाकोट जिल्लालाई पर्यटकीय आकर्षक गन्तब्यस्थलको रुपमा विकास गर्न नुवाकोट दरबार परिसर लगायत अन्य क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माण गरी प्राकृतिक सम्पदा र विविधताको उपयोग गर्नु आवश्यक छ । नुवाकोट जिल्ला खाद्यान्न भण्डारको रुपमा चिनिएको छ । त्यसैले कृषि उत्पादन विविधिकरण र व्यवसायीकरण गर्दै नयाँ प्रविधि प्रयोग गरी उच्चमूल्यका कृषि उपज, जडिबुटीको प्रवद्र्धन गरी किसानको जीवनस्तर माथि उकास्न कृषि क्रान्ति गर्नु अपरिहार्य छ । यसका साथै रोजगारी सिर्जना र आय वृद्धिका अवसरहरु सिर्जना गर्ने र ग्रामीण क्षेत्रको जीवनस्तर माथि उठाउने चुनौतीपूर्ण कार्य पूरा गर्न स्पष्ट दृष्टिकोण भएको अनुभवी र विकासमूखी नेतृत्वको खाँचो छ भन्ने जनताले बुझेका छन् । 

ताजा खबर