आत्मघाती गोलको सहारामा पोर्चुगलको विश्व कप यात्रा सुरु

२०७७ चैत १२ बिहीबार ११:१८:०० मा प्रकाशित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल टिमले विश्वकप छनोटको आफ्नो यात्रा जीतका साथ सुरु गरेको छ । युरोपियन च्याम्पियन पोर्चुगलले अजरबैजानलाई एक शून्य गोलले पराजित गर्यो । तर पोर्चुगललाई जीत हात पार्न आत्मघाती गोलको सहारा लिनु पर्यो ।

घरेलु मैदानमा पोर्चुगलले आत्घाती गोल मार्फत पहिलो हाफमा अग्रता लिएको थियो । ३७ औं मिनेटमा अजरबैजानका माक्सिम मेतभेदेभले आफ्नै पोस्टमा गोल गरेका थिए । बाँकी समयमा पोर्चुगलले गोन गर्न सकेन र मेतभेदेभकै गोल जीत हात पार्न निर्णायक बन्यो । रोनाल्डोका लागि यो खेल निराशाजनक रह्यो । उनको ओभर हेड किक बारमा लागेर बारिएको थियो । फ्रि किकलाई अजरबैजान गोलकिपरले सफल हुन दिएनन् । रोनाल्डो  सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान नजिक छन् । उनले अहिलेसम्म एक सय दुइ गोल गरेका छन् । कीर्तिमानधारी इरानका अलि डेइको नाममा एक सय नौ गोल छ ।

बेल्जियमले वेल्सलाई तीन एक गोलले पराजित गर्यो । बेल्जियमले वेल्सको एक शून्यको अग्रता उल्ट्याएको थियो । बेल्जियमको मैदानमा वेल्सले दशौं  मिनेटमा नै गोल गरेको थियो । उसका लागि हेरी विल्सनले गोल गरे । तर घरेलु टोलीले खेलमा उत्कृष्ट पुनरागमन गर्यो । २२ औं मिनेटमा केभिन डि ब्रुयनाले बराबरी गोल फर्काए । २८ औं मिनेटमा इडेन हाजार्डका भाइ थोर्गनले टिमलाई अग्रता दिलाए । ७३ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टमा गोल गरेपछि बेल्जियमले विश्वकप छनोटको पहिलो खेलमा तीन अंक जोडेको छ । 

बेल्जियमले घरेलु मैदानमा सन २०१० देखि हार बेहोरेको छैन । बेल्जियमलाई सन् २०२२ को विश्वकप उपाधी दावेदारका रुपमा पनि हेरिएको छ । वेल्सले भने १९५८ यता विश्वकपमा छनोट हुन सकेको छैन ।

 

विश्वकप छनोटको अर्को खेलमा नेदरल्यान्डस टर्कीसँग स्तब्ध भयो । टर्कीले, नेदरल्यान्डसलाइ ४–२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा टर्कीलाई जीत दिलाउने क्रममा बुकार इलमाजले ह्याट्रिक गरे । 

ताजा खबर