थ्रि नेशन्स कप: के भन्छन् बालगोपाल र किरण चेम्जोङ ?

२०७७ चैत ११ बुधबार २२:०८:०० मा प्रकाशित

काठमाडौं । थ्रि नेशन्स कपको आफ्नो पहिलो खेलमा नेपालले भोली बिहीबार किर्गिस्तानको ओलम्पिक टिमसँग प्रतिस्पर्धा गर्दैछ । किर्गिस्तानले आफ्नो पहिलो खेलमा बंगलादेशसँग एक शून्य गोलको हार बेहोरेको थियो । घरेलु टोली नेपाल जीतका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्य सहित मैदानमा उत्रनेछ । किर्गिस्तान पहिलो जीत निकाल्ने प्रयासमा हुनेछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगलाशालामा खेल साँझ साढे पाँच बजे सुरु हुनेछ । नेपालको सिनियर टिमले ६ वर्षपछि दशरथ रंगशालामा खेल्दैछ । यसअघि सन् २०१५ मा नेपाल र भारतबीच विश्वकप छनोट खेल दशरथ रंगशालामा भएको थियो । सो खेल गोल रहित बराबरीमा सकिएको थियो । गत वर्षको १३ औं दक्षिण एशियाली खेलकुदमा २३ वर्ष मुनिको नेपाल टिमले दशरथ रंगशालामा स्वर्ण पदक जितेको थियो ।

कोरोना भाइरस संक्रमण बढेपछि अखिल नेपाल फुटवल संघ एन्फाले  दर्शक संख्या कम गर्ने भएको छ । यसअघि नै रंगशालाको दर्शक क्षमता भन्दा तीन हजार कम अर्थात १२ हजार टिकट विक्री गर्ने एन्फाले बताएको थियो । नेपाल र किर्गिस्तान बीचको खेलमा अझ तीन हजार घटाएर नौ हजार मात्र टिक विक्री गरिनेछ  ।

किर्गिस्तानको खेल अघि के भन्छन् प्रशिक्षक बालगोपाल महर्जन 

प्रश्न–  किर्गिस्तान र बंगलादेशको खेल हेर्नुभयो कस्तो पाउनु भयो विपक्षी ?

बालगोपाल– हिजोको खेल हामीले हेर्यौं, किर्गिस्तानको युथ टिम आएको रहेछ । मैले जुन अनुसारको तयारी गरेको थियो अपेक्षा गरेको थिएँ त्यो स्तरको खेल भने देखिन । पहिलो खेल भएर पनि हुनसक्छ । पहिलो खेल जुन सुकै प्रतियोगितामा पनि एडजस्ट गर्न टिमलाई गाहे नै हुन्छ ।  प्रशिक्षकको रणनीति पनि होला कुन खेलाडीलाई कुन टिम विरुद्ध खेलाउने । हिजोको खेल हेरेर विपक्षीलाई कमजोर चाही ठान्नु हुन्न । मलाइ जहाँसम्म लाग्छ अभ्यासका दौरान खेलाडीले जस्तो प्रशर्दन गरेका छन्, भोली त्यति नै खेले पनि राम्रो नतिजा ल्याउन सक्छौं ।

प्रश्न– भनेपछि विपक्षी कमजोर हो ?

बालगोपाल– त्यस्तो भन्न खोजेको होइन । सोचे भन्दा कम स्तरको भनेको । यसो भन्दैमा हामीले कम आँकेर खेल्नु हुँदैन । भोलि त हामीसँग उनीहरुले मर या गरको स्थितिमा खेल्छ । आक्रामक फुटवल खेल्छ । हामी सचेत हुनुपर्छ । अंक गुमाउनु हुन्न ।

प्रश्न– बंगलादेशले जितिसकेको अवस्थामा नेपाललाई कत्तिको दवाव छ ?

बालगोपाल– दवाव त जुनसुकै प्रतियोगितामा पनि हुन्छ, जसलाई पनि हुन्छ । त्यो दवावलाई थेग्न सक्नु पर्छ ।

प्रश्न– त्यसो भए हाम्रो मुख्य विपक्षी बंगलादेश नै हो ?

बालगोपाल– अहिले त हामी भोलीको खेलमानै केन्द्रित छौं । भोलिको नतिजा महत्वपूर्ण हो । त्यसपछि मात्र अर्को खेलको बारेमा सोच्छौं ।

प्रश्न – खेलाडी छनोटमा के भन्नु हुन्छ ?

बालगोपाल– केही सोचेर भन्दा पनि  जो राम्रो छ, जो डिर्भ गर्छ, जसले मेहनत गरेको छ उनीहरु नै टिममा छन् । टेक्निकल टिम छ सवैले उत्कृष्टलाई टिममा राखेको हो । हाम्रो लक्ष्य त विश्वकप छनोटका खेल हुन् । त्यसैलाई मध्यनजर गरेर टिम बनाएको छु । जो टिमलाई आवश्यक छ त्यही अनुसार छानेको हो । नेपालले विश्वकप छनोटमा अस्ट्रेृलिया, जोर्डन, चाइनिज ताइपेइसँग खेल्नु पर्छ ।  

किरण चेम्जोङ, कप्तान

प्रश्न– ६ वर्षपछि सिनियर टिम दशरथ रंगशालामा उत्रँदैछ, कस्तो महसुस भइरहेको छ ?

किरण– अत्यन्त उत्साहित छौं । घरेलु मैदान, समर्थकका बीच खेल्न गइरहेका छौं ।

प्रश्न– किर्गिस्तान र बंगलादेश बीचको खेलपछि नेपाल कुन स्तरमा छ जस्तो लाग्छ ?

किरण– दुवै राम्रो छ । कुनैपनि टिमलाई कम सोच्नु हुनन । बंगलादेशसँगको खेल त सधैनै प्रतिस्पर्धात्मक हुन्छ ।

प्रश्न– घरेलु मैदानमा पहिलो पटक कप्तानको भुमिकामा हुनुहुन्छ, सोच्नु भएको थियो ?

किरण – बच्चादेखिकै सपना थियो राष्ट्रिय टिमबाट खेल्ने । कहिले पनि सोचेको थिएन, राष्ट्रिय टिमको नेतृत्व गर्छु भन्ने सोचेको थिएन । तर समयको कुरा हो । आज मैले टिमलाई नेतृत्व गर्ने अवसर पाएको छु । मेरो तर्फबाट गर्न सक्ने सवै गर्छु । 

ताजा खबर