शहीद स्मारक ‘सी’ डिभिजन लिग: महावीर र वीरगञ्ज विजयी

२०७७ चैत ११ बुधबार २१:१०:०० मा प्रकाशित

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लब र वीरगञ्ज युनाइटेड विजयी भएका छन् ।
 
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधबार सम्पन्न खेलमा महावीरले सानोगौचरण युथ क्लबलाई २–० गोलले पराजित गरेको हो । अर्को खेलमा वीरगञ्ज युनाइटेडले सामाजिक युवा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

महावीरका लागि शुभम राय र अरुणराज धाँमीले एक÷एक गोल गरे। खेलको १३औँ मिनेटमा शुभम रायले पहिलो गोल गर्दै महावीरलाई अग्रता दिलाएका हुन् । यस्तै खेलको ३७औँ मिनेटमा महावीरका लागि अरुणराज धाँमीले गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए। जीतसँगै महावीरले तीन खेलमा तीन अङ्क जोडेको छ । सानो गौचरण भने लागातार तेस्रो खेलमा पनि पराजित हुँदै अङ्कविहीन अवस्थामा छ । 

यस्तै बुधबार भएको दोस्रो खेलमा वीरगञ्ज युनाइटेडका लागि विवेक चौधरीले निर्णायक गोल गरे। उनले खेलको ३५औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । आगामी चैत २४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । रासस

ताजा खबर