थ्रि नेशन्स कप: बंगलादेशसँग यसरी हार्यो किर्गिस्तान

२०७७ चैत ११ बुधबार ०८:११:०० मा प्रकाशित

काठमाडौं । थ्रि नेशन्स कपको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तानको २३ वर्ष मुनिको टिमलाई एक शून्य गोलले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगबार भएको खेलमा बंगलादेश आत्मघाती गोल उपहार पाएपछि विजयी भएको हो । 

सुरु देखि नै  किर्गिस्तानको युवा टोली माथि दवाव बढाएपनि बंगलादेशले आक्रामक खेल भने प्रस्तुत गर्न सकेन । ३० औं मिनेटमा किर्गिस्तानले आफ्नै पोस्टमा गोल गरेपछि बंगलादेश एक शुन्यको अग्रता लिन सफल भएको थियो । किर्गिस्तानका कुमारवाज युलु वाइयामानले मोहम्मद मोहम्मद साद उद्धिनको प्रहार क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । सोही गोल बंगलादेशको जीतमा निर्णायक बन्दा किर्गिस्तानले भने मंहगो मुल्य चुकायो । खेलको अन्त्यतिर किर्गिस्तानले बराबरी गोल फर्काउने अवसर गुमाएको थियो । 

८६ औं मिनेटमा आर्तेक रिसकेल्दीको प्रहार पोस्ट माथिबाट बाहिरियो । इन्जुरी समयमा जापारोभ अरिमको फ्रि किक बंगलादेशका रियादुल हसनले सफल हुन दिएनन् । जीतसँगै बंगलादेशले तीन अंक बटुल्यो । बंगलादेशका प्रशिक्षक जेम्स डेउले जीतले खुशी भएको बताए पनि नेपाल विरुद्ध सुधार आवश्यक रहेको प्रतिृकया दिए ।

 किर्गिस्तानका प्रशिक्षक नुरर्विकले आफ्नो ओलम्पिक टिमका खेलाडीका लागि राम्रो अनुभव मिलेको बताए । नेपालले भने आफ्नो पहिलो खेल विहीबार किर्गिस्तानसँग खेल्नेछ  । 

दशरथ रंगशालामा ६ वर्षपछि अन्तराष्ट्रिय फुटवल फर्किएको हो । 

ताजा खबर