विभेदविरुद्ध राज सागरकाे गीत 'ए मान्छे' सार्वजनिक (भिडियाेसहित)

२०७७ चैत ९ सोमबार १५:३७:०० मा प्रकाशित

काठमाडाैंः विभेद विरुद्ध गायक राज सागरले 'ए... मान्छे' बाेलकाे गीत सार्वजनिक गरेका छन्। ५६ औं अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भमा गजल तथा सुगम गीतका चर्चित गायक राज सागरले सन्देशमूलक गीत सार्वजनिक गरेका हुन्।

चर्चित विश्लेषक तथा लेखक आहूतिको शब्द रहेको 'ए...मान्छे' विभेद विरुद्धको रचनात्मक आवाज भएकाे गायक राज सागरको ठम्याई छ। मर्यादा मिडियाको प्रस्तुती रहेको सांगीतिक भिडियो राजसागरकै संगीतमा तयार पारिएकाे कोशेली हो।

अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आईरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीति कोशेली ल्याएको गायक राज सागर बताउँछन्।

'समाजकाे लागि, अन्याय र विभेदविरुद्ध गाएकाे गीत हाे ए मान्छे' गायक राज सागर रोमान्चित हुँदै भन्छन्, 'मान्छेहरू जातकै कारण मारिने क्रम नरोकिँदा आफूले सांगीतिक क्षेत्रवाट सानो प्रयास किन नगर्ने भन्ने हुटहुटीले आज पूर्णता पाएको छ।' सञ्जीव बराईलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाईस अफ नेपाल स्टुडियाेमा रेकर्ड गरिएको हो।

भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन्। यस्तै प्रविन कार्कीकाे छायांकन, प्रकाशचन्द्र परियारकाे परिकल्पना र असीम तिमल्सिनाकाे ऐक्यवद्धता वाचन रहेकाे भडियाे मर्यादा टिभी नामक युट्युव च्यानलमार्फत हेर्न सकिनेछ।

यस्ताे छ गीतकाे भिडियाेः 

 

ताजा खबर