ललितपुर मेयर कप चैतको २१ बाट

२०७७ चैत ८ आइतबार २१:२३:०० मा प्रकाशित

काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर महिला च्याम्पियनसिप आगामी चैत २१ देखि २८ गतेसम्म आयोजना हुने भएको छ ।

ललितपुर महानगरपालिका र नेपाल क्रिकेट संघ क्यानले आईतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति घोषणा गरेका हुन् । क्यानलाई प्रतियोगिताका लागि ललितपुर महानगरपालिकाले २० लाख उपलब्ध गराएको छ । क्यान र महानगरपालिका बीच प्रतियोगिताका लागि यसअघिनै सम्झौता भइसकेको थियो । काठमान्डौ महानगरपालिकाको सहयोगमा क्यानले पुरुषको ५० ओभरको  मेयर कप आयोजना गरेको थियो । 

महिलाको भने टि ट्वान्टी फरम्याटमा हुनेछ । राउन्ड रोविन लिगको आधारमा हुने खेलमा पांच टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार पाउनेछन । पुरुषको मेयर कप  च्याम्पियन नेपाल पुलिस क्लब र उपविजेता एपीएफले भने क्रमश ५ लाख र तीन लाख पाएका थिए ।  प्लेयर अफ द सिरिज हुनेले  २५ हजार र उत्कृष्ट वलर र ब्याटरले १५–  १५ हजार पाउनेछन । 

दाङमा गत पुषमा सम्पन्न भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला प्रतियोगिताका चार सेमीफाइनालिस्ट र मेयर एघार बीच प्रतिस्पर्धा हुनेछ । प्रधानमन्त्री कपमा प्रदेश एक, एपीएफ, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश अन्तिम चारमा पुगेका थिए । बांकी प्रदेशका उत्कृष्ट खेलाडी छनोट गरी मेयर एघारको टोली बनाइनेछ । ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले आगामी संस्करणमा यो प्रतियोगितालाइ बृहत बनाउने बताएका छन । क्यानका महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिताको कुल खर्च ५५ लाख अनुमान गरिएको जानकारी दिए । 

खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । लिगका शीर्ष दुइ टिम बीच उपाधीका लागि भिडन्त हुनेछ । 

 

ताजा खबर