टि ट्वान्टीमा कप्तान कोहलीको कीर्तिमानसहित भारत बिजयी 

२०७७ चैत ८ आइतबार ११:१६:०० मा प्रकाशित

गुजरात । इङल्यान्ड विरुद्धको पाँच खेलको टि ट्वान्टी सिरिज भारतले जितेको छ । पाँचौ तथा निर्णायक खेलमा इङल्यान्डलाई ३६ रनले पराजित गर्दै भारत च्याम्पिन बनेको हो । 

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा आक्रामक ब्याटिङ गर्दै मात्र दुइ विकेटको नोक्सानीमा दुइ सय २४ रनको विशाल रनको योगफल बनाएको थियो । कप्तान विराट कोहली र रोहित शर्माले ओपनिङ गरेका थिए । यी दुइले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए । रोहितले ३४ वलमा ६४ रन बनाए । कोहली ८० रनमा अविजीत रहे । ५२ वल खेलेका उनले सात चौका र दुइ छक्का प्रहार गरेका थिए । सूर्यकुमार यादवले १७ वलमा ३२ रन जोडे । हार्दिक पान्डेयाले १७ वलमा ३९ रन बनाए  । उनले चार चौका र दुइ छक्का हिर्काएका थिए । बेन स्टोक्स र आदिल रासिदले १–१ विकेट लिए ।

जवाफमा इङल्यान्डले २० ओभरमा आठ विकेटको क्षतीमा १ सय ८८ रन मात्र बनाउन सक्यो । उसका ओपनर जेसोन रोय पहिलो ओभरको दोस्रो वलमा नै खाता नखोल्दै आउट भएका थिए । दोस्रो विकेटका लागि डाविड मालान र जोस बटलरले एक सय ३० रनको साझेदारी बनाउँदै इङल्यान्डको आश जगाएका थिए । तर यी दुइको साझेदारी तोडिएपछि अरु ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भुवनेश्वर कुमारले १३ ओभरको पाँचौं वलमा बटलरलाई क्याच आउट गराउदै भारतलाई खेलमा फर्काएका थिए । बटलरले ३४ वलमा ५२ रन जोडे । मालानले ६८ रन बनाए । जोनी ब्रेस्टो ७, इयोन मोर्गन १, बेन स्टोक्स १४, क्रिस जोर्डन ११ रन मा आउट भए ।

सुर्दल ठाकुरले ३ र भुवनेश्वरले २ विकेट लिए । हार्दिक पान्डेया र नटराजनले १–१ विकेट बाडे । भारतले यसअघि पाँच खेलको टेस्ट पनि जितेको थियो । अब तीन खेलको एकदिवसीय आगामी विहीबारबाट सुरु हुनेछ ।  

भारतीयको कप्तान कोहलीको कीर्तिमान

भारतीय कप्तान विराट कोहलीले टिमलाइ सिरिज जिताएसँगै ब्यक्तिगत कीर्तिमान पनि बनाएका छन् । कोहली यहि सिरिजमा टि ट्वान्टी अन्तर्राष्ट्रियमा तीन हजार रन पुरा गर्ने पहिलो पुरुष खेलाडी बनेका थिए । उनको नाममा कप्तानको रुपमा टि ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान पनि बनेको छ । कोहलीले इङल्यान्ड विरुद्धको पाँचौ खेलमा अविजीत ८० रन जोडेका थिए । यो कोहलीको टि ट्वान्टीमा कप्तानको रुपमा कीर्तिमानी १२ र समग्रमा २८औं अर्धशतक हो । उनले न्युजील्यान्डका कप्तान केन विलियम्सनलाई उछिनेका हुन् । केनको नाममा ११ अर्धशतक छ । यसका साथै कोहलीको नाममा ९० टि ट्वान्टी अन्तर्राष्ट्रियमा उनले ५२. ६५ को औसतमा ३१५९ रन बनेको  छ । कप्तानको रुपमा ४५ खेल खेल्दै कीर्तिमान १५ सय २ रन जोडेका छन् । जुन अस्ट्रेलियाका आरोन फिन्च भन्दा बढी हो । फिन्च्ले कप्तानको रुपमा ४४ खेल खेल्दै १४६२ रन जोडेका छन् । 

 

ताजा खबर