चौथो टि ट्वान्टी: भारतसँग ८ रनले हार्यो इङल्याण्ड

२०७७ चैत ६ शुक्रबार १२:२६:०० मा प्रकाशित

काठमाडौं । भारतले चौथो टि ट्वान्टी खेलमा इङल्याण्डलाई ८ रनले पराजित गरेको छ । यो सँगै पाँच खेलको सिरिज दुइ दुइको बराबरीमा पुगेको छ । 

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङ गरेको भारतले सूर्य कुमार यादवको विस्फोटक पारीमा २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ८५ रन बनाएको थियो ।

रोहित शर्मा १२, लोकेश राहुल १४ र विराट कोहली मात्र एक रनमा पवेलिएन फर्किएपछि भारतको पारी दवावमा आएको थियो । तर सूर्यकुमारले ३१ वलमा ६ चौका र तीन छक्काको मदतमा ५७ रन बनाएपछि भारतले ठुलो योगफल बनाएको हो । श्रेयस ऐयरले १८ वलमा ३७ रनको योगदान गरे । रिसव पन्तले ३० रन जोडे । हार्दिक पाण्डेया ११ र सर्दुल ठाकुरले १० रन थपे । जोफ्रा आर्चरले ४ विकेट लिए 

जवाफमा पाहुना टोली  इङल्याण्डले २० ओभरमा आठ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो । जस बटरले नौ, डाविड मालान १४, जेसोन रोय ४० र जोनी ब्रेस्टोले २५ रन बनाए । सुर्दल ठाकुरले १७ ओभरमा इङल्याण्डका दुइ महत्वपूर्ण ब्याट्सम्यानलाई आउट गर्दै भारतको पक्षमा खेल ल्याएका थिए । उनले १६ दशमलब १ ओभरमा ४६ रन बनाएका बेन स्टोक्सलाई आउट गरे ।

दोस्रो वलमा कप्तान इयोन मोर्गनलाई मात्र ४ रनमा मैदान बाहिर पठाए । जोफ्रा आर्चरले ८ वलमा अविजीत १८ रन बनाएपनि जीतका लागि पर्याप्त भएन् । सर्दुलले ३, हार्दिक पाण्डेया र राहुल चाहरले दुइ दुइ विकेट लिए । भारत गर या मरको स्थितिमा मैदान प्रवेश गरेको थियो भने जीत हात पारेको भए इङल्याण्डले सिरिज जित्ने थियो । अब पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलको विजेता च्याम्पियन बन्ने छ । 

पाँचौ टि ट्वान्टी शनिबार हुनेछ ।  

ताजा खबर