मेयर कप क्रिकेट कथाः के भन्छन् पारस, बिनोद र दिपेन्द्र ?

२०७७ चैत ४ बुधबार १५:२१:०० मा प्रकाशित

काठमाडौं । घरेलु क्रिकेटमा लामो फरम्याटको प्रतियोगिता खेल्न नपाइरहेका नेपाली खेलाडी टि ट्वान्टीमा नै बढी केन्द्रित थिए । तर पछिल्लो एक महिनामा दुइ ठूला एकदिवसीय प्रतियोगिताको आयोजना भयो । प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता सकिएको महिना दिन नवित्दै अर्को घोषणा भयो । काठमाडांै महानगरपालिका र नेपाल क्रिकेट संघ क्यानले ५० ओभरको मेयर कप आयोजना गरेका हुन् ।

प्रधानमन्त्री कपमा तीन विभागीय टोली र सात प्रदेश टिम बीच खेल भएको थियो । चार सेमीफाइनालिस्ट एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र बाँकी टिमका उत्कृष्ट खेलाडी समेटेर तयार पारिएको काठमाडांै मेयर एघार बीच प्रतिस्पर्धा भएको थियो । गत शनिबार भएको फाइनलमा एपीएफलाई सहजै पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधी उचाल्यो । विनोद भण्डारी र पारस खड्का र दिपेन्द्र सिंह ऐरीको शतक, सन्दीप लामिछानेको घरेलु क्रिकेटमा पुनरागमन, टिमहरु बीच कडा प्रतिस्पर्धा, गुल्सन झाको उदय लगायतले प्रतियोगिता रोमाञ्चक भयो । मुलपानी क्रिकेट मैदानको पिचमा भने सुधार आएन । नौ दिनसम्म चलेको  प्रतियोगिता कस्तो रह्यो त ? 

पुलिसको पुनरागमन 

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा अपेक्षा गरिए अनुसारको प्रदर्शन गर्न सकेको थिएन । साविक विजेताका रुपमा प्रतिस्पर्धा गरेको पुलिस सेमीफाइनलबाटै बाहिरियो । सेमीफाइनलमा एपीएफ क्लबसँग ३० रनले पराजित भएको थियो । तर मेयर कपमा पुलिसले उत्कृष्ट पुनरागमन गर्दै पहिलो संस्करणको उपाधी उचाल्यो । बागमती प्रदेश माथि दुइ रनको रोमाञ्चक जीत हात पार्दै प्रतियोगितामा आफ्नो यात्रा सुरु गरेको पुलिसले दोस्रो खेलमा एपीएफसँगै एक विकेटको हार बेहोरेको थियो । त्यसपछिका दुइ खेलमा फेरि पुलिस लयमा फर्कियो । त्रिभुवन आर्मी क्लबलाई ३ विकेट र काठमाडांै मेयर एघारलाई एक सय तीन रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलमा पुलिसलाई उपाधी जित्न त्यति धेरै मेहनत गर्नु परेन् । एपीएफले सहजै पुलिसलाई उपधी सुम्पिदियो । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर चार वलमा अल आउट हुँदै एक सय ५ रनको झिनो लक्ष्य बनाएको थियो । पुलिसले २४ ओभर १ वलमानै मात्र दुइ विकेट गुमाएर पुरा गर्यो । आठ विकेटको जीत हात पार्दा सुनिल धमलाले ५९ रनको योगदान गरेका थिए । पुलिस कप्तान मंजीत श्रेष्ठले प्रधानमन्त्री कपमा गरेका गल्ति सच्याउँदै गृहकार्य गरेकाले सफलता मिलेको प्रतिकृया लिए । उनले भने– ‘फाइनल यति सहज होला भन्ने लागेको थिएन् । पहिलो संस्करणको च्याम्पियन बन्न पाउँदा खुशी लागेको छ । सवै खेलाडीले आआफ्नो जिम्मेवारी पुरा गरेपछि च्याम्पियन बन्न सफल भयौं ।’

एपीएफ लगातार दोस्रो फाइनलमा असफल 

एपीएफ प्रधानमन्त्री कपको फाइनलमा आर्मी क्लबसँग पराजित भएपछि उपविजेतामा सिमित भएको थियो । उसका लागि मेयर कप च्याम्पियन बन्ने अर्को मौका थियो । तर त्यसमा पनि एपीएफ चुक्यो । फाइनल अघि भएको प्रि–म्याच कन्फरेन्समा कप्तान शरद भेषवाकरले  यसपटक प्रधानमन्त्री कपमा गरेको गल्ति नदोहोर्याउने बताएका थिए । तर एपीएफको योजना पुलिस सामु पूर्ण रुपमा असफल भयो । उसको ब्याटिङ कोल्याप्स हुँदा एक सय ५ रनको झिनो योगफलमा समेटियो । यो स्कोर टि ट्वान्टीमा पनि प्रतिस्पर्धात्मक मानिदैन । शरदले हार स्वीकार गर्नुको विकल्प नभएको भन्दै निराशा ब्यक्त गरे  । शनिबारको दिन दर्शकहरु राम्रो खेलको अपेक्षा सहित मैदान आउँदै गर्दा पहिलो इनिङ सकिएकोमा दुःख लागेको उल्लेख गरे । सुरुवाती दश ओभरमा नै महत्वपूर्ण विकेटहरु गुमाएपछि प्रतिस्पर्धात्मक लक्ष्य दिन नसकेको उनको भनाइ थियो । फेरि पनि एक पटक हारेको टिम बनेको भन्दै उत्कृष्ट कमब्याक गर्ने विश्वास ब्यक्त गरे । 

प्रतिस्पर्धात्मक खेल 

एकाध बाहेक मेयर कपका सवै खेल प्रतिस्पर्धात्मक बने । उत्कृष्ट खेलाडी बीचको प्रतिस्पर्धाले पनि खेललाई रोमाञ्चक बनायो । प्राय सवै खेलहरुको नतिजा अन्तिम समयमा आएको थियो । एपीएफका कप्तान शरदले मेयर कप निकै नै रोमाञ्चक भएको उल्लेख गरे । शरद भन्छन्– ‘सायद सवै टोलीमा नेपाली क्रिकेटका उत्कृष्ट खेलाडी भएकाले होला प्रतिस्पर्धा बढेको । बागमती प्रदेशका  पारस खड्काले लगातार दुइ एकदिवसीय खेल हुनु नेपाली क्रिकेटका लागि सुखद भएको भनाइ राखे । प्रधानमन्त्री कप लगत्तै भएकाले पनि खेलाडी ५० ओभरको खेलमा अभ्यस्त भए । त्यसै कारण टिम र ब्यक्तिगत रन राम्रो बनेको थियो । पारस भन्छन्– ‘घरेलु क्रिकेटमा प्रतियोगिता जति भयो त्यति नै फाइदा ।’ प्रधानमन्त्री कप यता टियु मैदानको पिच उत्कृष्ट भएकाले पनि ब्याट्सम्यानले धेरै रन बनाउन सके  जुन एकदमै राम्रो संकेत हो । पुलिस टिमका दिपेन्द्र सिंह ऐरीले लगातारको खेलका कारण रन बनाउन सहज भएको अनुभव सुनाए । नेपाली क्रिकेटमा ब्याटिङमा सधै आलोचना हुँदै आएको छ । राष्ट्रिय टिमको मुख्य समस्या पनि ब्याटिङनै हो । तर पछिल्ला दुइ प्रतियोगितामा ब्याटिङ सुधारको संकेत देखिएको छ ।  रनका लागि खेलाडी संघर्ष गरिरहेका हुन्थे । मेयर कपमा तीन शतक र १५ अर्धशतक बन्नुले पनि ब्याटिङमा सन्तोष गर्ने ठाउँ दिएको छ । 

पारस, दिपेन्द्र र विनोदको शतक

 पारस खड्का पछिल्लो समय प्रदेशको टिम बागमतीबाट खेल्न्छन् । प्रदेशको टिमलाई प्रतिस्पर्धात्मक बनाउन आफू र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले विभागीय टोली एपीएफ छोडेर बागमतीको प्रतिनिधित्व गरेको उनको भनाइ छ । प्रदेश वलियो भए मात्र प्रतिस्पर्धात्मक क्रिकेट हुने उनको बुझाइ छ । प्रधानमन्त्री र मेयर कपमा गरी एक महिनाको अन्तरमा तिनै विभागीय टोली एपीएफ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबलाई बागमतीले पराजित गरेको थियो । कुनैपनि प्रदेश टिमले तिनै विभागीय टोलीलाई हराएको यो पहिलो पटक भएको पारसले जनाए । यसले अरु प्रदेशलाई पनि आफ्नो क्षमता माथि विश्वास गर्न पे्ररित गरेको पारसले उल्लेख गरे ।  पारसले आर्मी विरुद्ध मेयर कपमा शतकीय पारी  खेले । उनको घरेलु क्रिकेटमा यो पहिलो शतक पनि हो । एक सय ३३ वलमा १ सय १९ रन बनाएका पारसले ११ चौका र २ छक्का प्रहार गरेका थिए । पहिलो घरेलु शतकबारे पारस भन्छन्– ‘पछिल्लो ६–७ वर्ष यता लगातार अन्तर्राष्ट्रिय क्रिकेटमा रन बनाएर टिमको जीतमा सहयोग पुर्याउन पाउँदा सधै खुशी लाग्छ । घरेलु क्रिकेटको कुरा गर्दा म आफ्नो प्रदर्शनबाट युवा खेलाडीलाई उत्साही बनाउन चाहन्छु ।

 यहि खेलमा आर्मीका विनोद भण्डारीले पनि शानदार शतक बनाएका थिए । आर्मीले, बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको थियो । विनोदले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाएका थिए । तर खेल भने बागमतीले जित्यो । तर आर्मी र बागमती बीचको खेल र पारस र विनोदको ब्याटिङ घरेलु क्रिकेटको दुर्लभ प्रतिस्पर्धाका रुपमा हेरियो । विनोदले १ सय १४ वलमा १ सय १९ रननै बनाउँदा   ८ चौका र ७ छक्का हिर्काए । उनको यो लगातार दोस्रो शतक हो । प्रधानमन्त्री कपमा पनि उनले शतक बनाएका थिए । पारसले मेयर कपको उत्कृष्ट ब्याट्सम्यान घोषित विनोदले पछिल्ले दुइ वर्ष यता सशक्त प्रदर्शन गरिरहेको टिप्पणी गरे । ‘म एकदमै खुशी छु विनोदको लागि । उनी अव सिनियर खेलाडी हुन् र जसरी एक सिनियर खेलोडीले टिमलाई लिड गर्नुपर्ने हो विनोदले त्यसरी नै गरिरहेका छन् ।’ पारसले भने ।

च्याम्पियन नेपाल पुलिस क्लबका दिपेन्द्रको पनि घरेलु क्रिकेटमा यो पहिलो शतक हो । उनले एपीएफ विरुद्धको खेलमा १ सय ३१ वलमा १ सय ४० रन जोडेका हुन् । प्रधानमन्त्री कपका कारण मेयर कपमा ब्याटिङमा सुधार आएको दिपेन्द्रले बताए । राष्ट्रिय टिमका स्टार ब्याट्सम्यान दिपेन्द्रले घरेलु प्रतियोगिता निरन्तर नहुँदा त्यसमा पनि ५० ओभरको खेल नहुँदा शतकका लागि लामो समय कुर्नु परेको बताए । पहिलो शतकमा एकदमै खुशी लागेको भन्दै अब राष्ट्रिय टिमबाट शतक हिर्काउने भोक जागेको उनको भनाइ छ । ८ विकेट समेत लिएका दिपेन्द्र मेयर कपको  प्लयेर अफ द सिरिज भएका थिए । पवन सरार्फ, सन्दीप जोरा, सुनिल धमला, युवा खेलाडी अरियो पौडेल लगायतको प्रदर्शन पनि सन्तोषजनक रह्यो । बागमतीका अरियो त प्रतियोगिताको उत्कृष्ट बलर नै बने । 

सन्दीप लामिछोको पुनरागमन 

स्टार स्पिनर सन्दीप लामिछानेले तीन वर्षपछि घरेलु क्रिकेटमा पुनरागमन गरे । उनले काठमाडौं मयेर एघारको कप्तानी सम्हालेका थिए । सन् २०१८ मा एभरेस्ट प्रिमियिर लिग खेले यता उनले घरेलु क्रिकेट खेलेका थिएनन् । पाकिस्तान सुपर लिग खेल्न गएपछि सन्दीपले मेयर कप पनि नखेल्ने भएका थिए । तर कोरोना भाइरसका कारण पाकिस्तान सुपर लिग स्थगित भएपछि उनले  मेयर कप खेल्ने मौका पाएका हुन् । उनले आर्मीका सोमपाल कामीलाई ५ छक्का हिर्काएर सनसनी मच्चाएका थिए । प्रतियोगितामा सन्दीपले चार खेलमा ९ विकेट लिए । 

गुल्सन झाको उदय

 

मेयर कपमा सवैभन्दा धेरै कुनै खेलाडीको चर्चा भयो भने ती हुन् गुल्सन झा । मेयर कप आधा सकिँदासम्म गुमनाम रहेका गुल्सन एकाएक हट टपिक बने । मेयर कपमा नेपाल पुलिस क्लबबाट उनले मात्र दुइ खेल खेले । तर दुइ खेलमा नै आफ्नो प्रभाव छोड्न सफल भएका छन् । प्रधानमन्त्री कपमा प्रदेश दुइको टिममा स्थान बनाउन नसकेका तिव्र गतिका वलर गुल्सनलाई मेयर कपमा पुलिसले मौका दिएको हो । उनी आफूले पाएको मौकामा चुकेनन् । काठमाडौं मेयर एघार विरुद्ध पुलिसले खतरा मोल्दै रासिद खानको स्थानमा गुल्सनलाई सुरुवाती एघारमा मौका दिएको थियो । उनले विकेट त लिएनन् तर ६ ओभर वल फाल्दै मात्र २२ रन खर्चिएर एक ओभर मेडन राखे । अग्लो कदका गुल्सनको पेस र बाउन्सले सवैलाई प्रभावित बनायो । फाइनलमा एपीएफलाई एक सय ५ रनमा रोक्ने क्रममा गुल्सनले चार मुख्य ब्याट्सम्यानलाई आउट गरेका थिए ।  कुनैपनि स्तरमा मेयर कप नै उनको पहिलो प्रतियोगिता हो । सर्लाही घर भएका १७ वर्षीय गुल्सनले भारतको झारखण्डमा चार वर्ष क्रिकेटको अभ्यास गरेका थिए । पहिलो प्रतियोगितामा नै च्याम्पियन बन्न पाउँदा दंग छन् गुल्सन । तर राष्ट्रिय टिमसम्म पुग्नका लागि धेरै नै मेहनत आवश्यक रहेको राम्रोसँग बुझेका छन् ।

गुल्सनबारे खेलाडी के भन्छन् ?

पारस खड्का– युवा तीव्र गतिको वलर देख्दा सधै नै खुशी लाग्छ । उनकाबारे टिकाटिप्पणीहरु ग्र्नु अघि उनलाई धेरै प्रतियोगिता खेल्ने अवसर दिनुपर्छ । तिव्र गतिको वलिङ गर्नु सहज छैन । त्यसका लागि धेरै गृहकार्य र मेहनत जरुरी हुन्छ । गुल्सनको पेश राम्रो देखिएको छ । तर उनलाइ अझै तिखार्नु पर्छ । मलाई आशा छ उनी नेपाल क्रिकेटको भविष्य हुनेछन् । तत्कालका लागि उनीमाथि कुनैपनि किसिमको दवाव नहालौं । उनलाई धेरै भन्दा धेरै खेल खेल्ने अवसर दिउँ । 

शरद भेषवाकर– गुल्सन राम्रो तिव्र गतिका वलरका रुपमा देखिएका छन् । तर एउटै प्रतियोगिताको प्रदर्शनलाई लिएर अनुमान लगाउनु हतार हुन सक्छ । पेश र बाउन्स राम्रो छ ।  सम्बन्धित निकायले राम्रो हरेचाह गरे गुल्सनको भविष्य राम्रो देख्छु । 

मंजीत श्रेष्ठ– गुल्सनले एकैपटक हामीलाई प्रभवित गरेका हुन् । नेटमा राम्रो गरेपछि पुलिस टिममा मौका दिइएको हो । सोही अनुरुप उनले राम्रो पनि गरे । उनमा फिटनेशको समस्या छ ।  त्यसमा ध्यान दिन पर्छ । 

मुलपानी पिचको आलोचना 

मुलपानी पिचको आलोचना मेयर  कपमा पनि रोकिएन । प्रधनमन्त्री कपमा पनि यो पिचमा खेलाडीले प्रश्न उठाएका थिए । मेयर कपमा मुलपानीमा चार खेल हुँदा दुइ खेलमा एक सय रन कटेन । यो स्तरको प्रतियोगिता मुलपानीमा खेलाउन नहुने खेलाडीको भनाइ छ । पुलिस र बागमती  भएको खेलमा पुलिस ७२ रनमा अल आउट हुँदा बागमती ७० रनमा सेमेटिएको थियो । आर्मी पुलिस विरुद्ध ८७ रनमा समेटियो । लक्ष्य पुरा गर्न पुलिसले पनि सात विकेट खर्चिएको थियो । केही खेलाडीले मुलपानीको पिच खेत जस्तो भएको भन्दै नेपाल क्रिकेट संघ क्यानको चर्को आलोचना समेत गरेका थिए ।  

समग्रमा भन्दा पछिल्लो समय भएका दुइ ठूला प्रतियोगिताले खेलाडीमा उत्साह थपेको छ । उनीहरुले प्रदर्शनमा सुधार गर्ने मौका पाएका छन् । नयाँ खेलाडीको पनि आगमन भइरहेको छ । क्यानले लगातार लामो फरम्याटको क्रिकेट र ग्रासरुटमा पनि विषेश ध्यान दिन आवश्यक छ ।  
 

ताजा खबर