माधव नेपाल र मर्यादाको मानक 

२०७७ चैत ४ बुधबार १२:२२:०० मा प्रकाशित

 सर्बोच्च अदालतबाट पुनस्थापित नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेबी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा गएनन् ।

एमालेकै अर्का नेता झलनाथ खनाल पनि शीतल निवासको त्यो सर्वदलीय भेलामा देखिएनन् । पुनस्थापित एमालेका यी दुइ नेता पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमहत छन् । यही कारण उनीहरुले शीतल निवासको सर्वदलीय बैठक वहिष्कार गरेको बताईएको छ ।

अरु दलका शीर्ष नेता सर्वदलीय वैठकमा सहभागी भए । कतिसम्म भने प्रधानमन्त्री ओलीसँग सबैभन्दा चर्को मतभेद राख्ने पुनस्थापित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत राष्ट्रपतिको निमन्त्रणा मान्न शीतल निवासमा उपस्थित थिए । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त महामन्त्री शशाङ्क कोइराला र नेता रामचन्द्र पौडेल सहित सहभागी थिए ।

नेताहरु माधव नेपाल र झलनाथ खनाल एमालेको असन्तुष्ट समूहको नेतृत्व गरिरहेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटनको सिफारिश गरेपछि प्रचण्डसँग काँधमाकाँध मिलाएर सडकमा उत्रिएका यी नेता यही बिषयमा राष्ट्रपति विद्यादेबी भण्डारीसँग ठुस्किएको बुझ्न सकिन्छ । राष्ट्रपति भण्डारीले सामान्य परामर्श समेत नगरी प्रतिनिधिसभा बिघटनको सिफारिस स्वीकृत गरिदिएकोमा उनीहरु ज्यादै क्रुध्द भएका थिए ।

सर्बोच्च अदालतले बिघटित प्रतिनिधिसभालाई पुनस्थापित गरिदिईसकेको छ । यतिमात्र होइन दल विवादको न्यायिक निरुपण गर्दा पूर्व एमाले र माओवादी केन्द्र समेत पूर्ववत हैसियतमा पुनस्र्थापित भैसकेका छन् । अदालतको फैसला पछि दुबै दलले कार्यालयका साईनबोर्ड परिवर्तन गरेर बैठकहरु पनि आयोजना गरिसकेका छन् ।

संसदका दुबै सदनमा छुट्टै दलको हैसियतमा फर्किएका एमाले र माओवादी केन्द्र भावी सरकारको समीकरणमा नेतृत्व हत्याउन कसरत गरिरहेका देखिन्छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको ठोस निर्णय पछि भावी सरकारको खाका पनि स्पष्ट हुने विश्लेषण गरिएको छ ।

वास्तवमा यो राजनीतिक टिप्पणीको उदेश्य अब कसको नेतृत्वमा सरकार बन्छ भन्ने मुख्य केन्द्रीय बिषय होइन । बिषय हो राजनीतिक शिष्टाचार र संस्कारको । नेपाली राजनीतिमा कमजोर हुँदै गएको शिष्टाचार र संस्कारको प्रकोप कतिसम्म बिस्तार भैसकेको रहेछ भन्ने कुरा मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठक बहिष्कार गर्ने नेताहरुको व्यवहारबाट थप छर्लङ्ग भएको छ ।

माधव नेपाल र झलनाथ खनाल कुनै दल विशेषका नेता मात्र होइनन् देशको प्रधानमन्त्री भैसकेका राजनीतिज्ञ पनि हुन् भन्ने कुरा देशवासीले बिर्सिसकेका छैनन् । राजनीतिमा असमत हुनु विवाद हुनु र आरोपप्रत्यारोप चल्नु कुनै नौलो कुरा होइन । प्रतिनिधिसभा बिघटनपछिका केही साता नेकपा अस्तित्वमा रहँदा त्यसका नेताहरुले कुन तहसम्म ओर्लेर निन्दा, आलोचना, अहंकार, अभिमान र लान्छना लाए भन्ने कुरा राजनीतिक बिषयका विद्यार्थीका लागि नयाँ शोधको पाठ भैसकेको छ । यसको थप चर्चा गर्नु आवश्यक छैन । तर राष्ट्रपतिले आमन्त्रण गरेको सर्वदलीय भेला नै बहिष्कार गर्ने अडानले कस्तो राजनीतिक संस्कारको शिलान्यास गर्न खोजिएको हो भन्ने कुरा भने आजका दिनमा चर्चाको बिषय बनेको पाईन्छ ।

तुलनात्मक रुपमा कम विवादित मानिएका नेताहरु माधव नेपाल र झलनाथ खनालले शीतल निवासको सर्वदलीय बैठक बहिष्कार गरेको बिषयले सर्वसाधारण नागरिकमा समेत असर गरेको देखिन्छ । विद्या भण्डारी राष्ट्रपति हुन् । उनको निमन्त्रणा व्यक्तिगत होइन संस्थागत हो । तर नेताहरु नेपाल र खनालले शीतल निवासको सर्वदलीय बैठकलाई विद्या भण्डारीको व्यक्तिगत आयोजना जस्तो अथ्र्याएर वहिष्कार गरिदिए । यसले राजनीतिमा अनौठो संस्कार र व्यवहारको थालनी भएको मानिएको छ ।

शिष्टाचार र मर्यादा उलंघनको यो नै पहिलो घटना भने होइन । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपतिको उपस्थितिमा हुने शपथ ग्रहण समारोह वहिष्कार गरिसकेका छन् । त्यसैगरी प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पनि उपराष्ट्रपतिको कार्यशैलीकै अनुशरण गर्दै वहिष्कारको अपसंस्कारलाई निरन्तरता दिएका थिए । अहिले आएर पूर्व प्रधानमन्त्रीहरु नेपाल र खनालले गरेको वहिष्कार भने निकै चर्चामा रहेको छ ।

नेताहरुका आहार, विहार, बिचार र व्यवहार सार्वजनिक चासोको बिषय बन्ने गर्छ । उनीहरुले प्रदर्शन गर्ने शिष्टाचार, मर्यादा र चरीत्रले व्यक्तिको होइन सिंगो देशको परिचय बोक्ने गर्छ । नेपालकै सन्दर्भमा चर्चा गर्दा फरक बिचारका नेताहरु कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी दुवैजना देशको प्रधानमन्त्री भए । सत्ता र प्रमुख प्रतिपक्षको बेञ्चमा रहँदा कैयौं चर्का विवाद पनि नभएका होइनन् । तर यी नेताहरुले व्यक्तिगत भेटघाट र सार्वजनिक सभामा प्रदर्शन गर्ने गरेका व्यवहार आजका नेताले गुुरुमन्त्रका रुपमा ग्रहण गर्नुपर्ने शिक्षा हो । आफ्नै देशका नेताहरुका असर संस्कार चटक्कै बिर्सेर आजका नेता किन सार्वजनिक शिष्टाचार र मर्यादाको खिल्ली उडाईरहेका छन् भन्ने कुरा सार्बजनिक चासोको बिषय बनेको छ । यसमा राजनीतिक दल र नेताहरुको ध्यान जान जरुरी छ ।
 

ताजा खबर