रियाल मड्रिड तीन सिजन पछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२०७७ चैत ४ बुधबार ११:१०:०० मा प्रकाशित

काठमाडौं । स्पेनिस जाइन्ट रियाल मड्रिड तीन सिजन पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियालले अन्तिम १६ मा एटालान्टालाई समग्रमा चार एक गोलले पराजित गरेको हो । 

पहिलो लेगमा एक शून्यले अघि रहेको रियालले गएराती घरेलु मैदानमा भएको दोस्रो लेगमा एटालान्टा माथि तीन एक गोलको जीत हात पार्यो । रियालले ३४ औं मिनटमा करिम बेन्जिमाको गोलमा अग्रता लिएको थियो । बेन्जिमाले लुका मोड्रिचको पासमा सिजनको २१ औं गोल गरेका हुन् । मोड्रिचले एटालान्टाको गोलकिपर मार्कोको कमजोर क्लियरेन्सको फाइदा उठाउँदै बेन्जिमालाई वल उपलब्ध गराएका थिए । बेन्जिामाको च्याम्पियन्स लगमा यो ७० औं गोल हो ।

६० औं मिनेटमा सर्जयो रामोसले पेनाल्टि मार्फत एटालान्टासँगको दूरी दुइ शून्यमा पुर्याए । रफायल टोलोइले भिनिसियस जुनियरलाइ फाउल गरेपछि रियालले पेनाल्टि पाएको थियो । इटालियन क्लब एटालान्टाले ८३ औं मिनेटमा लुइस मुरियलको गोल मार्फत दूरी छोट्याउने प्रयास गरेको थियो । लुइएसले २५ यार्डबट आकर्षक फ्रि किक गोल गरेका थिए ।

त्यसको एक मिनेट पछि मार्को एसेन्सियोले गोल गरेपछि जिनेदिन जिदानको टोली सहज जीतका साथ ३६ औं पटक च्याम्पियन्स लिगको अन्तिमा आठमा प्रवेश गर्यो । पछिल्ला पाँच सिजनमा रियालले चार पटक उपाधी जितेको थियो । तर सिजन भने उसको यात्रा अन्तिम १६ मा नै सकिएको थियो । 

ताजा खबर