राष्ट्रिय टिममा फर्किए स्ट्राइकर ज्लाटन इब्राहिमोभचि

२०७७ चैत ३ मंगलबार १९:४९:०० मा प्रकाशित

 काठमाडौं । स्ट्राइकर ज्लाटन इब्राहिमोभचिलाई स्वीडेनले पुन राष्ट्रिय टिममा बोलाएको छ । ज्लाटनले अन्तर्राष्ट्रिय करियरबाट सन्याश लिएको ५ वर्षपछि राष्ट्रिय टिमले फेरि उनलाई बोलाएको हो । 

सन् २०१६ को युरोकपको समुह चरणबाट बाहिरिएपछि ज्लाटनले राष्ट्रिय टिमबाट सन्याशको घोषणा गरेका थिए । सन्याश लिनु अघि ज्लाटनले राष्ट्रिय टिमबाट १ सय १६ खेल खेल्दै ६९ गोल गरेका थिए । उनी स्वीडेनका उच्च गोलकर्ता हुन् । ३९ वर्षिय ज्लाटनले सन् २०२० को नाभेम्बरमा एक पत्रिकालाई दिएको अन्तर्वार्तामा राष्ट्रिय टिममा पुन फर्किने ढोका खुला रहेको बताएका थिए । 

त्यसपछि स्वीडेनका प्रशिक्षक जेन एन्डरसन इटालियन शहर मिलान ज्लाटन भेट्न पुगेका थिए । ज्लाटन हाल सिरी या क्लब एसी मिलानबाट खेरिहेका छन् । उच्च फर्ममा रहेका ज्लाटनले यो सिजन मिलानका लागि सिरीयाका १४ खेलमा १४  गोल गरेका छन् । स्वीडेनले २५ मार्चमा विश्वकप २०२२ का छनोट खेलमा जर्जियाको सामना गर्दैछ । त्यसको तीन दिन पछि कोसोभोसँग खेल्नेछ । ज्लाटनले राष्ट्रिय टिममा बोलाएपछि द रिर्टन अफ द गड भन्दै प्रतिकृया दिएका छन् ।

६ फिट ५ इन्च अग्ला ज्लाटनले १९ वर्षको उमेरमा फारोइ आइल्यान्ड विरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । २००२ को विश्वकप छनोटमा अजरवैजान विरुद्ध पहिलो गोल गरेका थिए । २०१२ को युरोकपमा उनले राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । 

ताजा खबर