एन्फा प्रेसिडेन्ट लिग: जुम्लालाई धादिङको नौ गोल

२०७७ चैत ३ मंगलबार १९:४२:०० मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिगमा धादिङ समाज धादिङले लेकाली युवा क्लब जुम्लालाई नौ एक गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

बागमती लिग च्याम्पियन धादिङले कर्णाली लिग च्याम्पियन लेकालीलाइ सुरुदेखि नै गोलको वर्षा गरेको थियो । नेपालगंज रंगशालामा भएको खेलमा धादिङका लागि कप्तान अमिर श्रेष्ठले चार र शिशिर लेखीले ह्याट्रिक   गरे । उनले खेलको १७ औं मिनेटमा खाता खोलेका थिए । २४ औं मिनेटमा विपिन कँडेलले अग्रता दोब्बर पारे । ३६ औं मिनेटमा आमिरले टिमका लागि तेस्रो गोल थपेका थिए । ५५ औं मिनेटमा लेकालीका कप्तान संगम शाहीले गोल गर्दै धादिङसँगको दुरी घटाउने प्रयास गरेका थिए । तर धादिङ रोकिएन् । 

६० औं मिनेटमा ह्याट्रिक पुरा गरेका अमिरले ६२ औं मिनेटमा ब्यक्तिगत चौथो र टिमका लागि पाँचौ गोल गरेका थिए । शिशिर लेखीले ६४, ७९ र ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । उमेश राईले ८९ मिनेटमा गोल गरेपछि धादिङ विशाल अन्तरको जीत हात पार्न सफल भयो ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश सातका सात च्याम्यिन टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

 
 

ताजा खबर