इपिएल लिभरपुलसँग उल्भ्स एक गोलले पराजित

२०७७ चैत ३ मंगलबार १३:४१:०० मा प्रकाशित

काठमाडौं । इङलिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले उल्भ्सलाई एक शून्य गोलले पराजित गरेको छ । लिभरपुलको जीत उल्भ्स गोलकिपर रुइ पेट्रिसियोको चोटको छायाँमा पर्यो ।

 पाहुना टोली लिभरपुलले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । लिभरपुलका लागि साडियो मानेको पासमा डिएगो जोटाले पूर्व क्लब विरुद्ध गोल गरे । जोटा उल्भसबाटै गत सेप्टेम्बरमा लिभरपुल आएका हुन् । ४९ औं मिनेटमा कोनर कोडेले बराबरी गोल फर्काउने सुनौलो अवसर गुमाएका थिए । लगातार जीत हात पार्ने लक्ष्यमा रहेको उल्भ्सको नतिजा र चोटका कारण लिभरपुलसँगको खेल सुखद रहेन । उसका गोलकिपर पेट्रिसियोको टाउकोमा गम्भीर चोट लागेको छ ।

८६ औं मिनेटमा लिभरपुलका मोहम्मद सालाहलाई रोक्ने क्रममा पेट्रिसियोलाई चोट लागेको थियो । सालाहले गोल गरेका थिए तर अफसाइड भएपछि मान्यता पाएन । सहयाक रेफ्रिले गोल भइसकेपछि मात्र झन्डा उठाएका थिए । यदि गोल हुनु अघिनै अफसाइडको संकेत गरेको भए पेट्रिसियोलाई चोटबाट बचाउन सकिने भन्दै रेफ्रिको आलोचना भएको छ । 

मैदानमा लडेपछि १५ मिनेट खेल रोकिएको थियो । पछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो । उनको अहिले होस आएको क्लबले जनाएको छ । उनी छिट्टै मैदान फर्कने क्लबको विश्वास छ । लिभरपुलको जीतमा जोटाको त्यहि एक गोल पर्याप्त बन्यो । तालिकाको छैटौं स्थानमा उक्लिएको लिभरपुलको २९ खेलबाट ४६ अंक छ । उल्भ्स ३५ अंक जोड्दै १३ औं स्थानमा छ । लिगको शीर्ष स्थानमा ३० खेल बाट ७१ अंक जोडेको म्यानचेस्टर सिटी छ । 

ताजा खबर