मेसीले सर्वाधिक गोलको कीर्तिमानमा जाबीलाई भेटे, यसै वर्ष बार्सा छोड्ने अनुमान

२०७७ चैत ३ मंगलबार १३:३५:०० मा प्रकाशित

काठमाडौं । अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसीले स्पेनिस क्लब बार्सीलोनाबाट सर्वाधिक खेल खेल्ने जाबीको नाममा रहेको कीर्तिमान बराबरी गरेका छन् । ला लिगा अन्तर्गत गएराती भएको खेलमा वेस्का विरुद्ध मैदानमा उत्रँदै मेसीले करियरमा अर्को सफलता प्राप्त गरे । यो खेलमा बार्सा चार एक गोलले विजयी भएको थियो । जसमा मेसीले दुइ गोल गरे ।

वेस्का विरुद्धको खेल मेसीको बार्साबाट ७ सय ६७ औं खेल हो । यसअघि स्पेनका पूर्व कप्तान जाबीले बार्साबाट सवैभन्दा धेरै ७ सय ६७ खेल खेलेका थिए । मेसी र र जाबीको प्रिन्ट भएको ब्यानर देखाउँदै क्याम्प नोउमा खेल सुरु भएको थियो । ब्यानरमा टचिङ द स्काइ लेखिएको थियो ।  १३ औं मिनेटमा मेसीले खाता खोले । ३५ औं मिनेटमा एन्टोइन ग्रिजमनले अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा वेस्काका राफा  मिरले पेनाल्टि मार्फत गोल फर्काएका थिए । यो पेनाल्टि विवादास्पद बनेको थियो । ५३ औं मिनेटमा ओस्कार मिनग्वेजा र ९० औं मिनेटमा मेसीले गोल गरेपछि बार्साले घरेलु मैदानमा चार एकको प्रभावशाली जीत हात पार्यो ।

गत बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन पिएसजीसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको बार्सालाई यो जीतले घरेलु लिग जित्ने आश जगाएको छ । बार्सा २७ खेलबाट ५९ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा एट्लेटिको मड्रिड छ । उसको ६३ अंक छ । साविक विजेता रियाल मड्रिड ५७ अंक जोड्दै तेस्रो स्थानमा छ । 

मेसीले क्लबका लागि सात सय ६७ खेल खेल्दै सवै प्रतिस्पर्धामा गरी ६ सय  ६१ गेल गरेका छन् । उनले सन २००४ अक्टोबर १६ मा स्पानियोल विरुद्ध बार्साबाट सब्सिच्युट खेलाडीका रुपमा डेब्यु गरेका थिए । यो बीचमा उनले कुल ३४ उपाधी जितेका छन् । जसमा दश ला लिगा र चार च्याम्पियन्स लिगको उपाधी सामेल छ । ३३ वर्षिय मेसीको पछिल्लो समय भने क्लबसँगको सम्बन्ध सुमधुर छैन । उनको यसै सिजनको अन्त्यमा सम्झौता सकिनेछ । मेसीले सम्झौता सकिए लगत्तै बार्सा छोड्ने अनुमान गरिएको छ । 

ताजा खबर