रोनाल्डोले तोडे पेलेको कीर्तिमान: खुशी हुँदै पेलेले दिए वधाई र शुभकामना !

२०७७ चैत २ सोमबार ११:०२:०० मा प्रकाशित

क्रिस्टियानो रोनाल्डोले औपचारिक खेलमा सवैभन्दा धेरै गोल गर्ने ब्राजिलियन लेजेन्ड पेलेको कीर्तिमान तोडेर अघि बढेका छन् । पोर्चुगिच स्ट्राइकर रोनाल्डोले गएराती सिरी या मा युभेन्टसले कालियारीलाई तीन एकले पराजित गर्दा ह्याट्रिक गरेका थिए । 

रोनाल्डोले ३२ मिनेट भित्रै कालियारीको पोस्टमा तीन गोल गरेका थिए । योसँगै उनले आधिकारिक खेलमा गोल संख्या सात सय ७० पुर्याएका छन् । यसअघि पेलेले सात सय ६७ गोल गरेका थिए । आफ्नो कीर्तिमान तोडेपछि पेलेले सामाजिक संजाल मार्फत रोनाल्डोलाई बधाइ दिएका छन् ।

इन्टाग्राममा पेले लेख्छन्– जीवन एक एक्लो उडान हो । हरेकले आफ्नो यात्रा तय गर्छन् र तिमीले कति सुन्दर यात्रा तय गरिरहेका छौ । म तिमीलाई सम्मान गर्छु । म तिमीले खेलेको हेर्दा एकदमै आनन्द मान्छु र यो कसैबाट पनि लुकेको छैन । औपचारिक खेलमा मैले बनाएको कीर्तिमान तोडेकामा बधाइ छ । 

रोनाल्डो गत साता च्याम्पियन्स लिगमा युभेन्टस पोर्टोसँग पराजित हुँदै लगातार दोस्रो सिजन नक आउट चरण बाट बाहिरिएपछि आलोचित भएका थिए । रोनाल्डोले कालियारी विरुद्ध पहिलो गोल खेलको दशौं मिनेटमा गरेका थिए । दोस्रो गोल २५ औं मिनेटमा गरेका थिए । ३२ औं मिनेटमा ह्याट्रिक पुरा गरे । उनको यो करियरको दोस्रो छिटो ह्याट्रिक हो । यसअघि सन २०१५ मा उनले रियाल मड्रिडबाट ला लिगामा स्पानियोल विरुद्ध २० मिनेट भित्र ह्याट्रिक गरेका थिए ।

रोनाल्डोले पनि पेलेलाई सदैव उच्च सम्मान गर्ने बताउँदै उनको कीर्तिमान तोड्न पाउँदा खुशी लागेको बताएका छन् । उनले आफु अर्को चुनौतिको लागि तयार रहेको पनि उल्लेख गरेका छन् । 

ताजा खबर