बायर्न म्युनिखका रोबर्ट जमर्न लिगमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी 

२०७७ चैत १ आइतबार १२:१५:०० मा प्रकाशित

बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की जमर्न लिग बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । बुन्डेसलिगामा गएराती बायर्नले बेर्डर बर्मेनलाई तीन एकले पराजित गर्दा एक गोल लेवान्डोस्कीको नाममा रह्यो ।

 बर्मेनको मैदानमा भएको खेलमा बायर्नले २२ औं मिनेटमा लियोन गोरेट्ज्काको गोल मार्फत अग्रता लिएको थियो । ३५ औं मिनेटमा सर्जि नाब्रीले टिमका लागि दोस्रो गोल थपे । ६७ औं मिनेटमा पोलिस स्ट्राइकर लेवान्डोस्कीले बर्मेनसँगको दूरी तीन शून्यमा पुर्याएका थिए । यो बुन्डेसलिगामा लेवान्डोस्कीको दुइ सय ६८ औं गोल हो । बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने कीर्तिमान जेर्ड मुल्लरको नाममा छ । उनले तीन सय ६५ गोल गरेका थिए ।

 लेवान्डोस्कीले बर्मेन विरुद्ध गोलका थप तीन सुन्दर मौका गुमाएका थिए । ३२ वर्षिय लेवान्डोस्कीको यो सिजनको ३३ औं गोल हो । उनी एकै सिजन ४० गोल गरेका मुल्लरको नामको कीर्तिमान तोड्ने लक्ष्यमा छन् । ८५ औं मिनेटमा निकलसले सान्त्वना गोल फर्काएका थिए ।

 लिग लिडर बायर्नको २५ खेलबाट ५८ अंक छ । गएराती नै भएको अर्को खेलमा बोरुसिया डर्टमन्डले हर्था वर्लिनलाई दुइ शून्य गोलले पराजित गर्यो ।
 

ताजा खबर