स्पेनिस लिगको निराशाजनक प्रदर्शन 

२०७७ चैत १ आइतबार १२:१०:०० मा प्रकाशित

स्पेनिस लिग ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिडले दश खेलाडीमा समेटिएको गेटाफेसँग निराशाजनक प्रदर्शन गरेको छ । गएराती भएको खेलमा एट्लेटिको गेटाफेसँग गोल रहित बराबरीमा रोकिएको हो । 

वल पोसेसनमा नियन्त्रण राखे पनि एट्लेटिकोले डेड लक तोड्न सकेन । ७० औं मिनेटमा अलान न्योम सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि गेटाफे दश खेलाडीमा झरेको थियो । तर त्यसको फाइदा एट्लेटिको उठाउन सकेन । बराबरी पछि एट्लटिकाले तालिकामा आठ अंकको दूरी बनाउने मौका गुमाएको छ । उसको २७ खेलबाट ६३ अंक छ । 

डिएगो सिमोयानीको टोली एटल्टिकोले आगामी बुधबार च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगका लागि चेल्सिको भ्रमण गर्दैछ । एटल्टिकोलाई चेल्सिको एक शून्यको अग्रताबाट उल्ट्याउनु पर्ने दवाव छ । दोस्रो स्थानको रियाल मड्रिडको ५७ अंक छ ।  रियाल भने एल्चे माथि दुइ एक गोलको जीत हात पारेपछि बार्सीलोनालाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको हो । 

घरेलु मैदानमा रियाल एक शून्यले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो । ६१ औं मिनेटमा एल्चेका काल्भो सानरोमानले गोल गरेका थिए । तर  ७३ र इन्जुरी समयमा करिम बेन्जिमाले गोल गरेपछि रियालले तीन अंक जोड्यो । तेस्रो स्थानमा रहेको बार्साको २६ खेलबाट ५६ अंक छ । 
 

ताजा खबर