एकै दिन एउटै नगरपालिकामा ११ स्वास्थ्य सेवा केन्द्रकाे शिलान्यास

२०७७ फाल्गुण २८ शुक्रबार ०९:३४:०० मा प्रकाशित

नवलपरासीः कावासोती नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास भएकाे छ। यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११ वटा स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास भएकाे हाे।

वडा नं २, ४, ५, ७, ८, ९, ११, १३, १५ र १६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरिएको हो। नगरपालिकाभित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्र यसअघि नै सञ्चालनमा आइसकेका छन्।

सेवालाई थप व्यवस्थित बनाउन स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न लागिएको नगर प्रमुख चन्द्रकुमारी पुनले बताइन्।नगरभित्र यसअघि ६ वटा वडामा स्वास्थ्य केन्द्रका लागि भवन रहेकाले भवन नभएका बाँकी ११ वटा वडामा भवन निर्माण गर्न लागिएको उनले बताइन्। 

एउटा कार्यालय झण्डै रू ३८ लाखको लागतमा निर्माण हुने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रुपाखेतीले बताए। यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौतासमेत भइसकेको उनले बताए। 

सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवन निर्माण गर्न लागिएको हो। नेपाल सरकारको भवन मापदण्डानुसार टाइप दुई प्रकारको भवन बन्नेछ। आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सरकारले उपलब्ध गराउने ३५ प्रकारका निःशुल्क औषधिसहित खोप सेवा, परिवार नियोजन, उत्तर प्रसूति सेवा, पोषणसहित सामान्य बहिरङ्ग सेवा प्रदान हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए।

ताजा खबर