तीनचित् परे प्रचण्ड, ओलीको शीरमा पर्यो पशुपतिको आशिर्वाद !

२०७७ फाल्गुण २६ बुधबार ०९:२८:०० मा प्रकाशित

प्रतिनिधिसभा पुनरस्थापना भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई लछारपछार लाउँदै  गलहत्याइँने हुँकार गर्दै आइरहेको नेदा समूह (नेपाल–दाहाल समूह)ले छलकपटका सबै भगिरथ प्रयास र लज्जास्पद शरणागति एवं समर्पणका अनेकौं दाऊ चाले पनि वास्तविकतामा एक पाइला पनि सार्न सकेन ।


  प्रतिनिधिसभा ब्यूँतिए  पछिको बहुप्रतिक्षित दिन फागुन २३ गते आइतवार बिहानसम्म केपी ओलीका विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन सकेको थिएन । नेदा समूहका यस सम्बन्धी सबै योजना तुहिएका त थिएनन्  बिहानसम्म, तर यति प्रमाणित नै थियो ती सबै योजनाका ठेली बुढानीलकण्ठस्थित  एउटा अट्टालिकाको कुनै खोपीमा थन्किएर रहेका थिए ।


अट्टालिकापति विस्फारित नैन एवं विस्मित भावले सम्झिन प्रयासरत रहे पनि केही ठम्याउन सकिरहेका थिएनन, ’यो मेरो कुन जन्मको पुण्यफल हो ।’ उनलाई स्पष्ट विदित थियो, यस जन्ममा त उनीबाट यस्तो कुनै सुकृत्य भएका  छैनन्, जसको फल खसेर उनको राजनीतिक अभिलाषा मात्रै होइन, नितान्त व्यक्तिगत चोट, घाउ र घायल मनको सफल ‘रेमेडी’ हुँदै  यस्तो सन्ताप पुर्याउने सबैजना वैरीलाई धुलिसात पार्दै अपमानको प्रतिशोध लिने ‘गोल्डेन’ मात्रै होइन ‘प्लूटोनियम अपर्चुनिटी’ प्राप्त हुन आएको हो ।

 उनले सल्लाह लिने अघोरी बाबा र तन्त्रसम्राट चन्द्रा स्वामीज्यूको भौतिक उपस्थिति नरहेका कारण यस रहस्यको ‘प्रोग्रामिङ्ग  डिकोड’ पनि त हुन सकिरहेका  थिएनन् । प्रोटोकलको अहमले उनलाई अरु कुनै रहस्यदर्शीको कुरा मान्ने  त परै जाओस् सुन्ने÷बुझ्ने कोटिकै विनम्रताहीन अहंकारी बनाएको उनकै दलका सदस्यगणले अनुभव गरिरहेकै कुरा हो । उनको हालत ड्राइभिङ्ग नआउने व्यक्तिसरह भएको थियो, जसलाई भाग्यले उपलब्ध गराई दिएको नवीनतम गाडीको सञ्चालन विधि, प्रविधि र प्रक्रियाबारे केही पनि थाहा थिएन ।

तर हात आइपरेको ‘प्लूटोनियम अपर्चुनिटी’ को उपयोग  भने उनले २३ गतेको बिहानसम्म कुशल राजनीतिज्ञका भाँती गरिआएका थिए ।

देउवाजी मनमनै सोची बसेका थिए, मैले चोर औँलाले इशारा गर्नासाथ प्रचण्डलाई जुनबेला पनि ‘उ मने देउवाजी’ भन्दै आइपुग्छन् । केही दिन प्रचण्डको म्याँउम्याँउ सुनेर दिल बहलाउने उपक्रम मञ्चित भइरहोस् । उनले आफ्नो विशिष्ट शैलीमा मनमनै सम्झीरहेका थिए ,’यो यो यो, त्यै होइन... मेरो अधीनको सरकारमा बसेर मेरो शत्रुसँग मिल्न गएको थियो ! यसको छोरीका लागि म अन्तर्राष्ट्रिय रूपमै बदनाम भएँ, अनि यो मलाई छाडेर भागेको थियो । आओस्  न केही दिन मेरा ढोकामा स्तुति गर्न, त्यसलाई आफुसामु विनीत मुद्रामा उभिएको हेर्दा ‘आर्गाज्म’कै आनन्द आउँछ । अहिले के हतार ?


परिस्थितिले मूर्ख कालिदासलाई एक झट्कामै विद्वान कालीदास बनाई दिन्छ । यस प्रकरणलाई फगत कथा मान्नेहरुले देउवाजीको बौद्धिक विकासले कालिदास प्रकरणको सत्यता बुझ्दै गइरहेका थिए । विगतमा  सत्ताका लागि जस्तोसुकै अनैतिक गतिविधि गर्न लिप्त रहनु हुने देउवाजीले सुनैसुनको परिधानले सुसज्जित र आफ्ना परम विरोधीहरुले सुनकै डोलीमा बोकी आफ्नो आँगनामा ल्याई पुर्याई दिएकी सत्ता सुन्दरीसँग हेलोसम्म भनेका थिएनन् । देउवाजीको राजनीतिक परिपक्वताको योभन्दा ठूलो दृष्टान्त अरु के हुन सक्छ ?

उनका सबै राजनीतिक विरोधी डोले बनेका थिए, यस्तो भाग्यफल ! निश्चय पनि यो उहाँको यस जुनीको कर्मको परिणाम थिएनन् ।

पल्टियो बाजी– नेपालको राजनीतिक फुटबल गेममा टेनिस बलले गर्यो निर्याणक गोल– अन्ततः २३ फागुनको दिन नेपाली राजनीतिमा ऐतिहासिक दिन साबित भयो । केही दिन पहिला न्यायालयले नेकपाको माधव–प्रचण्डलाई ‘कर्नर किक’ उपलब्ध गराई गोल हान्ने  मौका दिएको थियो । यो समूह केपी ओलीलाई ढाल्न अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेको थियो । तर आइतवार न्यायालयले फुटबल गेममा टेनिस बलले पनि गोल गर्ने सुविधा मुहैया गराएर सारा गेम उलटपुलट गरी दियो– एमाले र माओवादी मिलेर बनेको एक शरीर दुइ टाउको भएको चरा विज्ञानमा हुन्छ होला राजनीतिमा यस्तो स्वीकृत हुन्न भनी एमाले र माओवादीको विलयलाई अस्वीकृत गर्दै दुबैलाई शरीर र टाउकोसहित छुट्ट्याइ दियो न्यायालयले । अदालतको यस सानो निर्णयले नेपालको राजनीति मात्रै होइन, भूगोल नै परिवर्तित गरी दियो ।

केपी ओलीविरुद्ध अविश्वास प्रस्तावको हुंकार गरिरहेको प्रचण्ड समूह संसद अधिवेशनको पहिलो दिन नै संसदलाई ‘यह दुनियाँ यह महपिÞmल मेरे काम की नहीं’ भन्दै बहिष्कार गर्न बाध्य बन्यो । कहाँ केपी ओलीलाई अपदस्थ गरी प्रधानमन्त्रीको सपना देखिरहेका प्रचण्ड र अब ...

खैर अर्को गीत ‘तकदीर का पÞmसाना जाकर किसे सुनाये,  इस दिल में जल रही है अरमान की चिताएं’ सुन्दै प्रचण्डले रातभरी यही चिन्तनामा समय बिताए होलान्– अब प्रत्यक्ष तर्फका ३६ गुलाफ र समानुपातिक तर्फका १७ लाहुरे फूलको माला बनाई कसरी कण्ठमा धारण गर्ने ! तर हसरत जयपुरी लिखित उपरोक्त गीतका अंतिम पंक्ति–


 ‘तुम तो रहो सलामत सेहरा तुम्हे मुबारक,
 मेरा हर एक आँसू देने लगा दुआएँ’


घन्किदा उहाँले बुर्जुआ गीत भनी ‘साउण्ड अफ’ गरी ख्वै कसलाई फोन गर्ने उपक्रम पो गर्नु भयो ।

न्यायालयको ‘टेनिस बल प्रकरण’ले केपी ओलीलाई सबैभन्दा ठूलो दलको नेता बनाई दिएको छ । प्रत्यक्ष तर्फका ८० पुष्प र समानुपातिक तर्फका ४१ पुष्पका साथै हिन्दूहरुको पवित्र संख्या १२१ पुष्प दलको माला उहाँका कण्ठमा सुशोभित हुन आइपुगेको छ । भगवान् जब दिन थाल्छन् छानो्– भित्ता– दल सबै फोडेर–फुटाएर मनवांछित वस्तु प्रदान गर्छन्, केपी ओलीलाई यसको प्रत्यक्ष प्रत्तीति भएको छ । जम्मा एकपटक पशुपति पुगेर ३० करोडको दान दिनासाथ भगवान भोलेनाथले उनलाई यस्तो गरिमा प्रदान गरी दिनु भयो कि शेष जीवनपर्यन्त केपी ओलीले यस भगवतकृपालाई विस्मृत गर्न सक्दैनन् । अब केपी ओलीले भगवत कार्यलाई अर्को २–४ अर्ब समर्पित गर्ने के बेर ! मुलुकलाई  पुनः हिन्दू राष्ट्र बनाउने संकल्प लिन के बेर !!

केपी ओलीका पुराना मित्र माधव नेपालजीले भने केपीको कण्ठमा आसीत हुन आएको माला चुँडाएर केही पुष्प खोस्ने जमर्को गर्नुहुन्छ अथवा आत्मलोचना गरी ‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव’ को पथ अनुशरण गर्नु हुन्छ ! यो स्पष्ट हुन अझै केही दिनको प्रतीक्षा गर्नु पर्ने हुन्छ ।

अब देशमा लड्डु खाने – ख्वाउने पालो कस्को ? आफु त मधुमेहको मरीज ! एकजना अग्रज पत्रकारले यस्तो निमन्त्रण पठाए पनि चिनी नभएको चिया खाएर नै काम चलाउने –  निम्तो मान्ने मूडमा रहेको छु ।

सबै नेपालीलाई उत्कन्ठा हुनु स्वाभाविक नै हो, अब देशमा के हुन्छ ?

यस मामलामा ढुक्क भने केपी ओली पक्ष– नेपालका राजावादी समूह, १२ बुँदे सम्झौताका आलोचक बन्धुगण सर्वश्री युवराज घिमिरे, अरुणकुमार सुवेदी, देवप्रकाश त्रिपाठी लगायतका थुप्रै हिन्दूवादी रहेका छन् । प्रक्रियागत रूपमा विभिन्न घटना – उपघटना घटित हुन्छन्, सबै यस्ता गतिविधिको अन्तिम परिणति भने देशलाई १२ बुँदे सम्झौताभन्दा पूर्वको स्थितिमा लैजानु नै रहेको हुन्छ ।  यस ‘रोड म्याप’ को मार्गमा बाधा बन्न आइपुगेका सबै व्यक्ति, समूह र संगठनको नाश हुनु पनि स्वाभाविक नै हुन्छ ।


बाँकी देशमा अहिले पनि केपी ओली प्रधानमन्त्री छन् ।  फागुन २३ गतेको टेनिस बलले भएको गोल पछि उनको सरकार अल्पमतमा आए पनि कुनै भुईँचालो  जादैन ।  अब उनका विरुद्ध नेपाली कांग्रेसको सदिच्छाबिना अविश्वास प्रस्ताव आउँदैन । प्रचण्ड त आफ्नो बलबुतामा अविश्वास प्रस्ताव दर्ता गराउनेसम्मको हैसियतमा रहेनन् ।  रह्यो केपीले  विश्वासको मत लिने कुरा ! यो पनि उनको मूडमा निर्भर गर्छ । मूड आयो भने  लिन्छन्, मूड चलेन भने शीतल निवास गई राजीनामा दिइ कार्यवाहक प्रम भइ बस्छन् । कसैको तागत पुग्छ भने बनोस् प्रधानमंत्री ! १५–२० दिनको समय दिनुहुन्छ राष्ट्रपति महोदयाले ।  संविधानका विभिन्न धारामा लडीबुड़ी गर्दै कसैले १३८ को गणित पुर्याउन सक्छ भने बनोस् प्रधानमन्त्री ।

 नभए केपी ओलीसँग पुनः २ वटा विकल्प हुन आउँछन् ।  संविधानकै धारामा टेकेर सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री पदबाट् पुनः प्रधानमन्त्री पदको शपथ लिन्छन् । अथवा कुनै पनि सरकार बन्न नसक्ने कारण देखाई एकपटक मरेर ब्यूँतिएको प्रतिनिधिसभालाई पुनः आर्यघाट पुर्याई नयाँ निर्वाचनको घोषणा गर्छन् । उनले सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री बनेको केही दिनमा पनि गर्ने यही नै हो, प्रतिनिधिसभा  बिघटन ।  कसैले रोक्न सक्छ भने रोकोस् । यस प्रतिनिधिसभाको नियतिमा दुइ पटक दुर्घटनामा परी इहलीला समाप्त हुनुपर्ने रहेको विधान अकाट्य छ, पूर्व जानकारी पाए पछि सक्नेले रोक्ने सामथ्र्य देखाउन् ।

केपी ओली र उनको दल एमाले बाबुराम भट्टराई भर्खरै जंगलबाट शहर पसेका विप्लवले देशमा सबै किसिमका परिवर्तन हेतु आफु तयार रहेको अभिव्यक्ति दिइसकेका छन् । यसको प्रारम्भ नेपाललाई पुनः हिन्दू राष्ट्र घोषित गर्ने अभियानबाट हुन्छ । नेपाली कांग्रेसको दुर्भाग्य, उ अहिलेसम्म यसप्रति सचेत छैन । कांग्रेस बाहेक प्रचण्डजीले यस विषयक गन्ध पाए पनि ‘रुघाले आफ्नो नाक बन्द भएका कारण थाहा नपाएको अभिनय’ गरिरहनु भएको छ ।  

 

प्रचण्डजीसँग यस पंक्तिकारको कुनै साइनो छैन तर विगतमा नेपाली कांग्रेसको मतदाता भएका कारण नेपाली कांग्रेससँग यस विषयमा स्पष्ट धारणा आउने चाहना हुनु स्वाभाविक हो । सम्माननीय शेरबहादुर देउवाजी, डाक्टर प्रकाशशरण महतजी तपाईं दुबैजनाले केही दिन पहिला मसँग भएको भेटमा व्यक्तिगत रूपमा आफु हिन्दू धर्मको पक्षमा रहेको बताए पनि तपाईंको दल नेपाली कांग्रेसको यस विषयक स्पष्ट धारणा नआएसम्म विश्वास गर्न सकिन्न । नेपालका प्रजातान्त्रिक हिन्दूले कांग्रेसलाई छाडि गाईमा  भोट हालेको याद नै छ होला तपाईंहरुलाई ।

अब हिन्दूहरुको भोट कतै  केपी ओलीतिर नओइरियोस, समयमै संज्ञान लिनु होला । यसका लागि नेपाली कांग्रेससँग एउटा मात्रै उपाय छ – नेपाली कांग्रेसले अल्पमतमा पुगेका केपी ओलीलाई समर्थन गरी यसै संसदबाट हिन्दूराष्ट्र घोषित गराउने अभियानमा होम्मिनु पर्छ नत्र देश विदेशका सारा शक्तिले आउने निर्वाचनमा केपी ओलीलाई दुइ तिहाईभन्दा बढी सीटले जिताएर आफ्नो अभीष्ट पूरा गर्छन् । 

अब नेपालमा हिन्दूहरुको मार्गमा बाधा बन्न आउने जो  कोहीको पनि सम्पूर्ण विनाश हुने निश्चित भइसकेको छ त्यो चाहे नेपाली कांग्रेस होस, कुनै अन्य दल होस अथवा नागरिक समाजका नाममा डालर खेती गरिरहेको जमात नै किन नहोस ।

 इति नमस्कारांते !
 

ताजा खबर