इमाडोल–लामाटार सडक वैशाखसम्म निर्माण सम्पन्न हुने

२०७७ फाल्गुण २६ बुधबार ०८:४२:०० मा प्रकाशित

काठमाडाैंः विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ। करिब सात किलोमिटर लम्बाइको सडकको पाँच सय ६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

हाल सानागाउँ क्षेत्र र लुभुको बजार क्षेत्र बाहेक अन्यत्र कालोपत्र सकिएको छ। कालोपत्र बाँकी भएका यी स्थानमा पनि वैशाखसम्ममा कालोपत्र गरिसकिने आयोजना प्रमुख गुरु अधिकारीले बताए।

लुभुको बजार क्षेत्रमा पाँच सय मिटर र सानागाउँ क्षेत्रमा ६० मिटर सडक कालोपत्र गर्न बाँकी छ। विगतका आर्थिक वर्षमा स्थानीयवासीको अवरोधका कारण सडक निर्माण अघि बढ्न सकेको थिएन। गत वर्ष नै सरकारले विस्तारका सबै सडक उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेपछि सडक निर्माण अघि बढेको उनले बताए।

उनले भने, “अहिले पनि कतिपय स्थानीयवासीले जग्गाको मुआब्जा र घरको क्षतिपूर्ति माग गरिरहनुभएको छ।” तीन वर्ष पहिले २० मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता भए पनि अहिले त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको आयोजनाले जनाएको छ।

सडकको चौडाइ कम भएकै कारण पैदल यात्रु मार्ग, नालीलगायतका पूर्वाधारसमेत निर्माण हुन सकेको छैन। सो सडक कृष्ण मन्दिरबाट गोदावरी खोलासम्म मात्रै २० मिटर कायम भएको छ। त्यसभन्दा अघि मापदण्डको आधाभन्दा कम चौडाइमा निर्माणको काम भएको उनले बताए।

उपलब्ध चौडाइमा निर्माण गर्दा बजारमा पाँच मिटर चौडाइ भएको उनले बताए। उनी भन्छन्, “अरु धेरै ठाउँमा सातदेखि नौ मिटर चौडाइ भएको छ।”

आयोजनाले तीन ठेक्कामा सो सडक निर्माण अघि बढाएको थियो। डाँफे÷समानान्तर जेभी, आशिष सिएम ड्रागन जेभी र लामा÷सामानान्तर जेभीसँग फरकफरक समयमा ठेक्का सम्झौता भएको थियो। 

ताजा खबर