बेलायतका पूर्वराजकुमारकी श्रीमती मेघनकाे खुलासाः 'राजपरिवारकाे व्यवहारले जतिबेला पनि मर्ने सोच आइरहन्थ्यो'

२०७७ फाल्गुण २४ सोमबार १३:५२:०० मा प्रकाशित

एजेन्सीः बेलायतका पूर्वराजपरिवारकी सदस्य मेघन मर्केलले आफू कुनै समय आत्महत्या गर्ने अवस्थामा पुगेकाे खुलासा गरेकी छिन्। साेमबार विश्वप्रसिद्ध सञ्चारकर्मी ओपरा विन्फ्रीसँगकाे अन्तर्वार्ताका क्रममा ब्रिटिस राजपरिवारभित्रको रंगभेदी व्यवहारले आत्महत्या गर्ने अवस्थामा पुर्याएकाे उनले खुलासा गरेकी हुन्।

अन्तर्वार्तामा मेघनका श्रीमान् पूर्वराजकुमार ह्यारी पनि उपस्थित थिए। मेघनले अन्तर्वार्ताका क्रममा आफ्नो छोराको छाला कालो हुन सक्ने भन्दै राजपरिवारले उनलाई राजकुमारको उपाधि दिन अस्वीकार गरेकोसमेत बताइन्।

पूर्व अमेरिकी अभिनेत्री मेघन अश्वेत आमा र श्वेत बुवाकी सन्तान हुन्। मेघनले अन्तर्वार्ताका क्रममा भनेकी छन्- 'उनीहरू मेरो छोरा आर्चीलाई राजकुमार बनाउन चाहँदैन थिए। उ जन्मदै उसको छाला कति कालो हुन सक्छ भन्नेबारे छलफल भएको थियो।’

'राजपरिवारकाे व्यवहारले मलाई जतिबेला पनि मर्ने सोच आइरहन्थ्यो। मलाई त्यतिबेला ह्यारीले मलाई कसरी सान्तवना दिन्थे भन्ने अझै याद छ,’ उनले भनिन्। 

ह्यारीले पनि राजपरिवारप्रति आफ्नाे वितृष्णा पाेख्दै विवाहपछि आफ्नो परिवारलाई राजपरिवारले पैसा दिन छोडेको बताएका छन्। ह्यारीका बुवा राजकुमार चार्ल्सलेसमेत उनीसँग कुरा गर्न अस्वीकार गरेको उनले बताएका छन्।

सन् २०२० मा ह्यारी र मेघनले राजपदवी त्याग गरेका थिए। उनीहरू हाल अमेरिकामा बस्दै आएका छन्।

ह्यारी र मेघनकाे खुलासापछि बेलायती राजपरिवारबाट कुनै प्रतिक्रिया प्राप्त भएकाे छैन। यता बेलायती प्रधानमन्त्री बाेरिस जनसनले भने आफू अन्तर्वार्ताभन्दा काेराेना भाइरसविरुद्धकाे भ्याक्सिनमा केन्द्रित हुने प्रतिक्रिया दिएका छन्।

ताजा खबर