नेकपा नामकाे विवाद टुंगियाेः सत्तारुढ दल नामविहीन

२०७७ फाल्गुण २३ आइतबार १६:३२:०० मा प्रकाशित

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे नाममा भइरहेकाे विवाद आइतबार टुंगाे लागेकाे छ। सर्वाेच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा नामकाे विवाद टुंगाेमा लगाएकाे हाे।

सर्वाेच्चकाे निर्णय अनुसार नेकपा नामकाे अधिकार ऋषि कट्टेलकाे दलकाे रहने छ। त्यसैगरी पुष्पकमल दाहाल र केपी शर्मा ओली नेतृत्वकाे नेकपाले आफ्नाे नाम परिवर्तन गर्नुपर्नेछ।

नामकाे दाबी सँगसँगै सर्वाेच्चकाे फैसलाले एकता प्रकृयासमेत साविककै रुपमा रहने गरी नेकपा एमाले र माओवादी केन्द्रलाई व्यूँत्याएकाे छ। 

२०७५ काे जेठ ३ मा पार्टी एकीकरण पश्चात पुष्पकमल दाहाल र केपी शर्मा ओली अध्यक्ष रहेकाे नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयाेगले आधिकारिकता दिएपछि ऋषि कट्टेलले नेकपा आफ्नाे पार्टी भएकाे भन्दै सर्वाेच्चमा रिट दर्ता गराएका थिए। २०७५ जेठ २३ मा दाहाल र ओली अध्यक्ष रहेकाे नेकपा निर्वाचन आयाेगमा दर्ता भएकाे थियाे।

आज साे निर्णय बदर गर्दै सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ।

सर्वाेच्चकाे निर्णयअनुसार हाल सत्तारुढ दल नेकपा अब नामविहीन भएकाे छ। सत्तारुढ दलमा अनेक विवाद उठिरहेकाे बेला सर्वाेच्चकाे निर्णयले राजनीतिक वृत्तमा अर्काे तरङ्ग थपेकाे छ। 

ताजा खबर