पर्यटन प्रवर्द्धन गर्न गढीदेखि गढीसम्म साइकलयात्रा

२०७७ फाल्गुण २३ आइतबार ११:२९:०० मा प्रकाशित

मकवानपुरः बागमती प्रदेशले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म साइकल यात्रा शुरु गरिएको छ। प्रदेशकाे राजधानी मकवानपुरको हेटौँडामा शनिबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व साइकलयात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर साइकलयात्राको शुभारम्भ गरे।

मुख्यमन्त्री पौडेलले साइकलयात्रीलाई उत्साह भर्न केही मिनेट साइकल पनि डोहाेर्‍याएका थिए।

बागमती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा गढीदेखि गढीसम्मको साइकलयात्रा आयोजना गरिएको हो। चर्चित विश्व साइकलयात्री शाहको अगुवाइमा तीन महिलासहित एक सय २२ साइकलयात्रीले मकवानपुरगढीबाट यात्रा शुरु गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले बताए।

मकवानपुरगढीबाट हेटौँडा–फापरबारीको सडकखण्ड हुँदै शनिबार राति सिन्धुलीको हरिहरपुरगढीमा बास बसेको टोलीले आज साइकलयात्री सिन्धुलीगढी पुगेर आफ्नो यात्रा समापन गर्नेछ। मकवानपुरगढीबाट सिन्धुलीगढीको दूरी एक सय ३१ किलोमिटर छ।

साइकलयात्राका लागि रू ११ लाख ५० हजार लाख खर्च हुने अनुमान गरिएको छ।

ताजा खबर