महिला दिवसमा अमेरिकाले मुस्कान खातुनलाई सम्मान गर्ने

२०७७ फाल्गुण २१ शुक्रबार ११:४७:०० मा प्रकाशित

काठमाडाैंः एसिड आक्रमणमा परेकि किशाेरी मुस्कान खातुनलाई अमेरिकाले सम्मान गर्ने भएकाे छ। खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको हाे।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्च (अन्तराष्ट्रिय महिला दिवस) मा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन्।

नेपालस्थित अमेरिकी दूतावासले तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताएकाे छ।

अघिल्ला वर्ष पाकिस्तानकी महिला अधिकारवादी मलाला युसुफजईलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो।

नेपालस्थित अमेरिकी दूतावास भन्छ- ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन्। धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लागि परिन्। उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे। यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो।’

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्सा वीरगञ्जकी मुस्कानमाथि २०७६ साल भदौमा एसिड आक्रमण भएकाे थियाे।

ताजा खबर