क्रिकेट सङ्घ महोत्तरीले बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गर्दै

२०७७ फाल्गुण २१ शुक्रबार ०९:४८:०० मा प्रकाशित

महोत्तरीः क्रिकेट प्रतियोगिताका लागि जिल्लाको बस्ती–बस्तीबाट सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ। क्रिकेटका स्थापित खेलाडी स्व विशाल गुप्ता र कुन्दन सिंहको सम्झनामा जिल्ला क्रिकेट सङ्घ महोत्तरीले आयोजना गर्न लागेको स्व विशाल गुप्ता एवं कुन्दन सिंह मेमोरियल जिल्ला अन्तरपालिकास्तरीय क्रिकेट प्रतियोगिताका लागि हाल बस्ती–बस्तीबाट खेलाडी छनोट प्रक्रिया थालिएको हो।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहलाई सहभागी गराइने प्रतियोगिताबाट अन्तर जिल्ला, प्रादेशिक र राष्ट्रिय प्रतियोगिताका लागि उम्दा खेलाडी छनोट हुने जिल्ला क्रिकेट सङ्घ महोत्तरीले अपेक्षा लिएको छ। आगामी चैत २२ देखि शुरु हुने अन्तरपालिकास्तरीय प्रतियोगिताका लागि अहिले सबै पालिकामा खेलाडी छनोट थालिएको सङ्घका जिल्ला अध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए।

“जिल्लाका सबै पालिकाको सहभागिता हुने अपेक्षासाथ हामीले प्रतियोगिताको तालिका बनाएका छौँ”, अध्यक्ष सिंहले भने, “यस प्रतियोगिताको माध्यमले भित्री गाउँ÷नगर बस्तीमा ओझेलमा परेका खेलाडी उजागर हुनेछन्।” सङ्घले चैत २२ देखि शुरु हुने प्रतियोगिताका लागि बिहीबारदेखि नै टिम दर्ता प्रक्रिया शुरु गरेको छ। यो क्रम चैत १० गतेसम्म रहने सङ्घको तालिकामा उल्लेख छ । जिल्लाका सबै पालिकाले सहभागिताको प्रतिबद्धता जनाउँदै टिम दर्ता गर्ने जानकारी दिएको अध्यक्ष सिंहले बताए।

सङ्घले प्रतियोगितामा रू ३२ लाख खर्च हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई रू एक लाख एक हजार र दोस्रो हुने टोलीलाई रू ५१ हजार तथा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ। यसैगरी म्यान अफ दि सिरिजलाई रू २० हजार, इमर्जिङ प्लेयरलाई रू १५ हजार, बेस्ट व्याट्सम्यान र बेस्ट बलरलाई रू १०÷१० हजार र म्यान अफ दि म्याच खेलाडीलाई रू दुई हजार ५०० का दरले प्रत्येक खेलमा प्रदान गरिने बताइएको छ।

जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर रङ्गशालामा आयोजना हुने प्रतियोगिताको चैत १५ गते खेलतालिका कप्तान, टिम प्रशिक्षक, टिम व्यवस्थापक र प्राविधिक समितिको संयुक्त बैठकबाट टुङ्ग्याइने सङ्घले जनाएको छ। प्रतियोगिता ५० ओभरको हुने छ।
 

ताजा खबर