फुटबलर सरुको सपनाः विश्व कपमा नेपाल !

२०७७ फाल्गुण १९ बुधबार १२:२९:०० मा प्रकाशित

मोरङको कीर्तिपुर भन्ने एउटा गाउँ । धेरैलाई मोरङमा पनि कीर्तिपुर भन्ने ठाउँ छ भन्नेनै थाहा छैन । सायद यो कीर्तिपुर गुमनाम नै हुन्थ्यो होला यदि सरु लिम्बु नजन्मिएकी भए । सरु लिम्बुलाई चिनाउन धेरै शब्दहरु खर्च गर्नु पर्दैन । राष्ट्रिय महिला फुटवलकी नयाँ पुस्ताकी स्टार हुन् उनी । गत फागुन सात गते सम्पन्न भएको राष्ट्रिय महिला लिगकी सर्वोत्कृष्ट खेलाडी सरु सपनाका ठूलो चाङ बोकेर काठमाडांै आएकी थिइन् । सपनाका चाङहरु विस्तारै एकपछिअर्को गर्दै सानो हुँदैछन् पनि  । तर मुख्य लक्ष्य भने बाँकी नै छ । राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिपमा स्वर्ण जित्ने अनि आफ्नी आमाले मन भित्र गुम्स्याएर राखेका इच्छा चाहनाहरु पूरा गर्ने सरुको मनमा थाँती रहेको एउटा मुख्य सपना हो ।  

बाल्यकाल

 

मोरङको पथरीबाट अलि नजिक पर्छ सरुको गाउँ कीर्तिपुर । बुबा बैदेशिक रोजगारीमा । आमाको काँधमा तीन छोरा छोरीको जिम्मेवारी । जेठी सन्तान हुन् सरु । अरु बच्चाहरुले लोरी सुन्दै सुत्ने समयमा सरु भने आमासँगै उन कात्थिन् मध्यरातसम्म अनि बिहान चार बजे उठेर उन कातेर परीक्षा दिन जान्थिन् । बुबाले विदेशमा कमाएको पैसाले ऋण तिर्न ठिक्क हुन्थ्यो । घरको नुन भुटुन र पढाइ खर्चका लागि आमाले चर्खामा उन कात्ने काम गर्थिन् । आमाले रातभरी दुःख गरेको हेर्न नसकेर उनी पनि सघाउँथिन् । 

सरुलाई आफ्नो काल्यकालमा सवैभन्दा बढी केही कुराको कमी महसुस भयो भने त्यो हो बुबा आमासँगै घुम्न जान नपाएको । अरुका आमाहरु   चिटिक्क परेर हिँडेको देख्दा उनको मन अमिलो हुन्थ्यो । बाल्यकालका दःुखहरु अहिले पनि सरुको मानसपटलमा ताजै छन् । रातभरी उन कातेर भोलिपल्ट परीक्षा दिन जाँदा निन्द्राले उँघेको अहिले पनि सम्झिन्छिन् सरु । यिनै यादहरु हुन् उनलाई अप्ठेरोहरुमा प्रेरणा दिने । मेहनत गर्न हौस्याउने अनि कठिन परिस्थितिमा पनि शान्त भएर अघि बढ्न पर्छ भनेर पाठ सिकाउने । 

फुटबल यात्रा 

प्रतिकुल परिस्थितिमा पनि सरुलाई फुटवल खेल्न भने केहीले पनि रोकेन । दाइहरु सँगै फुटबल खेल्थिन् उनी । स्थानीय न्यू स्टार क्लबबाट सुरु भएको उनको फुटबल खेलयात्रा आज राष्ट्रिय टिमसम्म आइपुगेको छ । सुरु सुरुमा बुट किन्न पैसा माग्दा आमाको गाली  पनि खाइन् उनले । धेरैपटक सिलाएको बुटबाटै काम चलाइन् । पछि पछि बुटको जोहो आफैं गर्न सक्ने भइन् र आमाको गाली पनि खान छोडिन् । घरबाट पाएको असहयोग यतिनै हो । सुरुमा सरुले तत्कालको पूर्वाञ्चल टिमबाट खेलिन् ।

 इलाममा भएको राष्ट्रिय प्रतियोगितामा उनी एपीएफको नजरमा परिन् । पूर्वाञ्चलबाट खेल्दा नै सरुले अण्डरफोर्टिनमा नेपालको प्रतिनिधित्व गरिसकेकी थिइन् । श्रीलङ्कामा सन् २०१४ मा भएको अण्डरफोर्टिनमा सरु सम्मिलत नेपाली टोली च्याम्पियन बनेको थियो । २०१६ मा एपीएफमा आवद्ध भएपछि भने उनको करियरले पछाडि फर्किएर हेर्नु परेको छैन । अडरएट्टिन  र नाइन्टिनमा सरुले नेपाली टिमको कप्तानी समेत सम्हाली सकेकी छिन् । २०१८ मा भुटानमा भएको अण्डर नाइन्टिनमा  नेपालले सेमीफाइनलमा भारतलाई पराजित गरेको थियो । फाइनलमा बंगलादेशसँग हारेपछि नेपाल उपाधीबाट बञ्चित भएको थियो । आज पनि त्यो पराजय सम्झँदा सरुलाई निकै पीडा हुन्छ ।  

राष्ट्रिय टिम 

 एपीएफ क्लबबाट प्रधानसेनापति कपमा प्रतिस्पर्धा गर्दा सरुको प्रदर्शन उत्कृष्ट रह्यो । सो प्रतियोगितामा सरु उत्कृष्ट स्ट्राइकर बनेकी थिइन् । त्यसपछि  राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परिन् । यो सन् २०१६ को कुरा हो । नेपालले साफ च्याम्पियनसिपको तयारी गर्दै थियो । बन्द प्रशिक्षणमा बोलाइए पनि उनलाई राष्ट्रिय टिममा नै पर्छु भन्ने चाहिँ लागेकै थिएन । उनी भन्दा धेरै सिनियर र उत्कृष्ट खेलाडीहरुसँग प्रतिस्पर्धा थियो । नाम चलेका दिदीहरु नै टिममा हुन्छन्, म भर्खर खेल्दै छु मेरो पालो अहिले नै आउँदैन जस्तो लागेको थियो उनलाई ।

 भारतमा हुने साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको नाम घोषणा भयो । त्यो टोलीमा सरुको पनि नाम समावेश भयो । आफ्नो नाम सुनेर सरुलाई विश्वासै लागेन । पटक पटक दोहोर्याएर हेरिन् पढिन् ।  खुशी कसरी मनाउने पनि थाहा भएन उनलाई । उनी आफूलाई भाग्यमानी खेलाडी ठान्छिन् । अण्डरफोर्टिनमा परेदेखि नै उनी कतै ब्रेक नलागी राष्ट्रिय टिमसम्म आइ पुगिन् । 

पहिलो पटक राष्ट्रिय टिमको जर्सी पाउँदा कस्तो लाग्यो त ? यो प्रश्नको जवाफ, शब्दले होइन सरुको मुहारमा देखिएको खुशीले दियो । अर्थात् शब्दहरु आवयश्क नै परेनन् ।  उनी भन्छिन– ‘त्यो खुशी त म वर्णन नै गर्न सक्दिन । रातभरी निन्द्रा लागेन । जर्सी हेरेको हे¥यै गरें । खेलाडीको लागि राष्ट्रिय टिमको जर्सी कति महत्वपूर्ण र विषेश हुन्छ त्यसको ब्याख्या सायदै कसैले गर्न सक्छ ।’ उनले २०१६ कै साफ च्याम्पियनसिपमा  श्रीलङ्का विरुद्धको खेल सँगै राष्ट्रिय टिमबाट डेब्यु गरिन् ।  उनी दोस्रो हाफमा शर्मिला थापाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । त्यसयता उनी टिमकी मुख्य सदस्य रहँदै आएकी छन् । 

फुटवलसँग जोडिएका सम्झनाहरु ..

सझनाहरु सधै सुखका मात्र हुँदैनन् । कहिलेकाहीँ असाध्यै पिडादायी सम्झनाहरु जीवनभर सँगै साथ साथ हुन्छन् । सरुलाई एउटा विन्दुमा लागेको थियो बेकार फुटवल खेलिछु । मैदानमा रुँदैरुँदै बल अगाडि बढाइन् । २०१८ मा सरुको कप्तानीमा नेपालले अण्डर नाइन्टिन प्रतियोगिता खेल्दै थियो भुटानमा । त्यहीबेला विदेशमा भएका बुबाको फोन आयो, सायद म अब बाँच्दिन ।  आर्थिक स्थिति कमजोर भएकै कारण सानैमा बुबा विदेश गएका थिए । सुरुमा कतार गए कम्पनी राम्रो भएन फर्किए । 

दोस्रो पटक मलेसिया गए तर उनी ठगिए र स्वेदश फिर्ता पठाइए । तेस्रो पटक फेरि कतार जाँदा राम्रो कमाइ हुँदै थियो तर स्वास्थ्यले साथ दिएन । त्योबेला लागेको थियो फुटवल नखेलेको भए यो समयमा म मेरी आमासँग हुने थिएँ ! सायद मेरो बुबाले मेरो सफलता देख्न पाउनु हुन्न की मैदानमा विपक्षीलाई कसरी छल्दै गोल गर्ने भनेर रणनीति बनाउने बेला उनको मनमा यी कुराहरु खेलिरहेको थियो । 

भावुक बनेकी सरुले लामो सास फेर्दै भनिन्– ‘भगवानको कृपाले सबै ठीक भयो । बुबा नेपाल आउनु भयो काम छोडेर । फुटवल प्रतियोगिता हुन थाले, मैले पैसा कमाउन थालें अनि उहाँको उपचारमा सहयोग भयो ।’ आफूले परिवारलाई सहयोग गर्न पाएकोमा गर्व लागेको बताउने सरुले अगाडि थपिन्– ‘अहिले पहिला भन्दा आर्थिक स्थिति राम्रो छ । पसल छ घरमा । भाइ र वहिनीका लागि पढाइ खर्च पठाउँछु । एन्फाले पनि महिला र पुरुषका लागि समान तलवको ब्यवस्था गरेको छ । अहिले आम्दानी राम्रै छ ।  त्यसैले अब आमाका इच्छाहरु पुरा गर्न चाहन्छु ।’ 

अब पालो खुशीको क्षण 

नेपालमा नै गत वर्ष भएको १३ औं दक्षिण एशियाली खेलकुदमा श्रीलङ्का विरुद्धको गोल उनलाई विषेश लाग्छ । सायद श्रीलङ्कासँग उनको छुट्टै खालको कनेक्सन छ । उनको करियरमा भएका सवै महत्वपूर्ण घटनाहरु श्रलिङ्कासँग जोडिएका छन् । उमेर समूहमा श्रीलङ्कामा च्याम्पियन बन्नु, श्रीलङ्का विरुद्ध डेब्यु अनि श्रीलङ्का विरुद्ध नै पहिलो गोल । पोखरामा भएको खेलमा सरु अन्तिम समयतिर मैदान प्रवेश गरेकी थिइन् । त्यसवेला नेपाल गोल रहित बराबरीमा थियो । उनले निर्णायक गोल गर्दै जीत दिलाइन् । उनलाई आफूले गोल गरेकोमा विश्वास नै लागेन जसरी पहिलो पटक राष्ट्रिय टोलीमा नाम आउँदा लागेको थिएन ।  आश्र्चयमा परिन् उनी । कुनै सेलिव्रेशन नै गरिनन् । सावित्रा भण्डारीले तानेर खुशी मनाएको क्षण उनको जीवनको अहिलेसम्मकै खुशीको घटना हो । 

राष्ट्रिय महिला लिग 

कोरोना भाइरस संक्रमणका बीच अखिल नेपाल फुटवल संघ एन्फाले राष्ट्रिय महिला लिग आयोजना गर्ने घोषणा गर्यो । त्यो पनि डवल राउण्ड रोविन । यसले सवै खेलाडीलाई उत्साहित बनायो । एपीएफले पनि उपाधी रक्षा गर्ने योजना सहित अभ्यास सुरु गर्यो । तर एपीएफको अभ्यास राम्रो भएन । सरुका अनुसार अभ्यासमा सधैं बी टिमले लिग खेल्न तयार पारिएको ए टिमलाई पराजित गर्दथ्यो । गोल नै नहुने । यसले प्रशिक्षक लगायत पुरै टिमलाई चिन्तित बनाएको थियो । तर प्रतियोगिता सुरु भए देखि नै एपीएफले गोलको वर्षा गर्यो । यसले सरु आफैं अचम्मित छिन् ।

 ‘अभ्यासमा त्यति खराब खेलेका हामीले लिगमा कसरी गोल गर्यौं । साम्बा दिदीको खुट्टामा देउता बसेको हो की बल छोयो की गोल हुने’ सरुले ती दिन सझिईन् । राष्ट्रिय टिमबाट सावित्राको जोडी भएर खेल्ने सरुले एपीएफबाट मिडफिल्डको भूमिका निभाउँछिन् । यो पटक त डिफेन्समा पनि खेलिन् उनले । सरु फुटबल अघि एथ्लेटिक्समा एक सय मिटरमा प्रतिस्पर्धा गर्थिन् । जिल्ला स्तरीय च्याम्पियन पनि हुन् उनी । त्यसैले आफ्नो स्पिड राम्रो भएको जस्तो लाग्छ उनलाई ।

एपीएफले अपराजित रहँदै उपाधी जित्दा उनले पाँच गोल गरिन् । त्यो पनि महत्वपूर्ण खेलहरुमा । पहिलो चरणको लिगमा त्रिभुवन आर्मी क्लब विरुद्ध गोल गरेपछि सावित्राले उनको बुटमा किस गरेकी थिइन् । जुन लिगको सुन्दर क्षण मध्येको एक थियो । सरुले त्यो सेलिव्रेशसनका बारेमा भनिन्– ‘मलाइ थाहा नै थिएन साम्बा दिदीले त्यसरी मेरो बुट किस गर्नु हन्छ भन्ने । म त लजाएँ । साम्बा दिदीको त्यो साथले मलाई प्रेरणा मिल्यो ।’ चौदन्दडीगढी नगरपालिका विरुद्ध २२ गोल गर्दा भने उनलाई खुशी मिलेन । अनि बिराटनगर महानगरपालिकासँगको खेलमा भावनात्मक सम्बन्ध । सावित्राको चोटले टिम मानसिक रुपमा कमजोर बनेको पनि उनले सुनाइन् । 

लिगकै सर्वोत्कृष्ट खेलाडी हुन्छु भन्ने लागेको थियो ? 

‘पटक्कै थिएन’ सरुले आफ्नो पोजीसनमा उत्कृष्ट हुन्छु भन्नेसम्म विश्वास रहेको सुनाईन् । तर सर्वोत्कृष्टको अपेक्षा थिएन । संयोग पनि कस्तो भने दुइ वर्ष अघिको लिगमा सावित्रा सर्वोत्कृष्ट  खेलाडी, सरु उत्कृष्ट स्ट्राइकर भएका थिए । यसपटक ठीक उल्टो भयो । दशरथ रंगशालामा आर्मीसँग लिगको अन्तिम खेल खेल्दै एपीएफले उपाधी उचालेको थियो । अन्तिम खेलमा पनि सरुले गोल गरेकी थिइन् । लिगमा प्राप्त गरेको यो सफलताले थप जिम्मेवारी बोध गराएको छ । पूर्व टिम मेट सजना राना र अनु लामाकी फ्यान सरुलाई बिना प्रसंग सोधियो फुटवलर नभएको भए के बन्नु हुन्थ्यो होला ?

 उनको सिधा जवाफ– ‘म विदेश जान्थे । सानैमा बुबा लगायत गाउँका अरु विदेश गएको देखें । त्यसैले म पनि विदेश जानु पर्छ भन्ने नै थियो । अहिले पनि जान चाहन्छु तर राष्ट्रिय टिमसँग ।’ अनि गाउँ घरमा कस्तो छ तपाईंको चर्चा ? ‘गाउँमा त म सेलिब्रेटी जस्तै छु । बुबा आमालाई छोरी त सरु जस्तो हुनुपर्छ भनेको सुन्दा सही बाटो छु भन्ने लाग्छ’ सरु दंग छिन् । 

दर्शककी झार्की अनि अवको लक्ष्य

 

यो पटक दुइ चरणमा लिग भएकाले दर्शकले महिला खेलाडी चिन्ने अवसर पाए । राम्रो खेल्दा ताली र नराम्रो गर्दा गाली पनि पाए खेलाडीले । यही बीचमा सरुले बारम्बार मैदानभित्र हुँदा दर्शकदीर्घाबाट सुन्ने एउटा शब्द थियो झार्की । कसलाई भनेको होला जस्तो लाग्थ्यो । लिगकै बीचमा केही ब्यक्तिहरुको समूहले सरुलाई सहयोग गर्यो । सहयोग प्रदान गर्ने वेला उनलाई बोलाइयो सरु लिम्बु वान एन्ड वन्ली आवर झाक्री । अनि बल्ल थाहा पाइन आफूलाई नै पो भनिएको रहेछ झाक्री । उनलाई धेरैको प्रेरणादायी मेसेजहरु पनि आए । आफूलाई दर्शकले चिनेकोमा खुशी छिन् उनी । महिला खेलाडी पनि विस्तारै स्टार बन्दैछन् जस्तो लाग्छ आजभोली ।

सरुलाई भविष्यको राष्ट्रिय टिमको कप्तानको रुपमा पनि हेरिन्छ । उनले आगामी दिनमा आफूलाई कसरी प्रस्तुत गर्छिन् त्यसले पनि उनको अगाडिको यात्रा तय गर्छ । तत्कालको उनको लक्ष्य भारतलाई पराजित दक्षिण एशियाली क्षेत्रमा च्याम्पियन बन्ने हो । किनकी नेपालको तगारो भारत नै हो भन्ने लाग्छ उनलाई । उमेर समूहमा भारतलाई पराजित गरेपनि सिनियर स्तरमा सफलता मिल्न सकेको छैन । उचित लगानी, एक्सपोजर र योजनाहरु भए आफ्नै पालामा महिला टिमले विश्वकप खेल्ने विश्वास पनि सरुलाई छ ।  

विदेशी लिगको यात्रा आरम्भ 

सरुले लिगमा गरेको उत्कृष्ट प्रदर्शनपछि पाकिस्तानको लिग खेल्ने मौका पाइन् । पाकिस्तानको मासा युनाइटेडले उनी सहित राष्ट्रिय टिममा समेत रहेका एपीएफका चार खेलाडीलाई लिग खेल्न बोलाएको हो । मार्च आठबाट लिग सुरु हुँदैछ । पहिलो पटक विदेशी लिग खेल्न पाउँदा सरु निकै उत्साहित छिन् । भन्छिन्– ‘मेरा लागि निकै ठूलो अवसर हो । आफ्नो ब्यक्तिगत प्रदर्शन त छँदैछ देशको पनि नाम राख्नेछु ।’ 

ताजा खबर