कहाँ होला न्यूट्रलभेन्यू , फिफा विश्वकप छनोट अन्योलमा

२०७७ फाल्गुण १९ बुधबार ११:०५:०० मा प्रकाशित

काठमाडौं ।  फिफा विश्वकप छनोट अन्तर्गत नेपाल र अस्ट्रेलियाबीच दशरथ रंगशालामा हुने खेल अन्योल भएको छ । नेपालले घरेलु मैदानमा आगामी चैत १७ गते अर्थात मार्च ३० मा  दशरथ रंगशालामा खेल्ने तालिका थियो । तर एशियाली खेलकुद महासंघले खेल तालिकामा हेरफेर गरेपछि नेपाल अस्ट्रेलियाबीचको खेल अब न्युट्रल भेन्युमा हुने संभावना उच्च बनेको छ ।

 एएफसीले मंगलबार सार्वजनिक गरेको परिमार्जित तालिकामा मार्च ३० मा हुने नेपाल र अस्ट्रेलियाबीचको खेलबारे केही पनि उल्लेख छैन । एएफसीले विश्वकप छनोटका बाकी खेलहरु न्युट्रल भेन्युमा खेलाउने तयारी गरेको छ । कोरोना भाइरस संक्रमण कारण निम्त्याएको यात्रा प्रतिबन्ध र क्वारेन्टिन नियमका कारण एएफसीले तत्कालका लागि छनोटका केही खेलहरु स्थगित गरेको हो । चैत १२ अर्थात मार्च २५ मा हुने नेपाल र चाइनिज ताइपेइबीचको खेल भने यसअघिनै स्थगित भइसकेको थियो । 

न्युट्रल भेन्युका लागि सदस्य राष्ट्रहरुले एएफसीमा एक साता भित्र आवेदन दिन सक्नेछन् । अखिल नेपाल फुटवल संघ एन्फाले पनि  प्रस्ताव गर्ने उल्लेख गरिएको छ । अस्ट्रेलियामा भएको अवे खेलमा नेपाल पाँच शून्य गोलले पराजित भएको थियो । समूह बी मा रहेको  नेपाल पाँच खेलबाट ३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । पहिलो स्थानको अस्ट्रेलियाको चार खेलबाट १२ अंक छ । दोस्रो स्थानमा कुबेत, तेस्रो स्थानमा जोर्डन तथा पाँचौ स्थानमा चाइनिज ताइपेइ छन् । 

ताजा खबर