बायर्न म्युनिखले कोलोनलाई पाँच गोलले हरायो

२०७७ फाल्गुण १६ आइतबार १०:५६:०० मा प्रकाशित

बायर्न म्युनिखले जर्मन लिग बुन्डेसलिगामा कोलोन माथि पाँच एक गोलको फराकिलो जीत हात पार्दै उपाधी रक्षाको यात्रा वलियो बनाएको छ । घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि रोबर्टा लेवान्डोस्की र सर्जी जिनाब्रीले दुइ दुइ गोल गरे ।

 १८ औं मिनेटमा एरिक म्याक्सिम चुप्पो मोटिङले बायर्नको खाता खोलेका थिए । ३३ औं मिनेटमा लेवान्डोस्कीले अग्रता दोब्बर बनाए । ४९ औं मिनेटमा कोलोनका एलयास स्खिरीले बायर्नसँगको दुरी दुइ एकमा झारेका थिए । तर ६५ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल थपे । उनको जारी सिजन यो २८ औं गोल हो । 

अब लिगमा एघार खेल खेल्न बाँकी छ । पोलिस स्ट्राइकर लेवान्डोस्की बुन्डेसलिगाको एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गर्नबाट मात्र १२ गोलले पछि छन् । यसअघि गेर्ड मुल्लरले सन् १९७२ मा एकै सिजन बुन्डेसलिगामा ४० गोल गरेका थिए । 

८२ र ८६ औं मिनेटमा जिनाब्रीले गोल गरेपछि बायर्नले प्रभावशाली जीत हात पार्यो । शीर्ष स्थानको बायर्नको २३ खेलबाट ५२ अंक छ ।  दोस्रो स्थानको लाइपिजिगको ५० अंक छ । गएराती नै भएको खेलमा लाइपजिगले बोरुसिया मोन्चेग्लाग्बालाई तीन दुइ गोलले हराएको थियो । अर्को खेलमा बोरुसिया डर्टमन्डले अर्मिनियालाई तीन शून्य गोलले हरायो ।

ताजा खबर