तरल राजनीतिको कथा: देउवाको हातमा सिलाजित र यार्सा गुम्बा !

२०७७ फाल्गुण १५ शनिबार १०:५८:०० मा प्रकाशित

ब्राम्हण रामचन्द्र उवाच– अब ओली कुन मुख लिएर संसदमा जानु हुन्छ ?

निठल्ला चिन्तकलाई हाँसो उठ्यो, उसले समाचारको ‘लिङ्क कपी’ गर्दै टिप्पणीका साथ फेसबुकमा लेख्यो– जुन मुख लिएर १७ पटकसम्म तपाईं जानुभएको थियो, त्योभन्दा धेरै कुलीन मुख मुद्रा र हावभाव प्रदर्शित गर्ने क्षमता छ सम्माननीय प्रधानमन्त्री केपी ओलीसँग ।

सम्माननीय सर्बोच्च अदालतले प्रतिनिधिसभाको पुनरस्थापना गरेपछि रामचन्द्र जस्ता ...(उपयुक्त विशेषण आफैं छनौट गरी रिक्तस्थान पूर्ति गर्नुस्) सबैले  नैतिकताको आधारमा प्रधानमन्त्रीको राजीनामा माग गरे, अझै गर्दैछन् । नैतिकताको आधारमा राजीनामा माग गर्नेहरुका अनुहार एकपटक हेरौ त ! यी आफैँ भने कति नैतिकताले ओतप्रोत रहेका छन् ?

नेपालीजनले नेतामा नैतिकता अन्वेषण गर्ने कार्य उहिल्यै बागमतीमा सेलाएको स्मरण छैन र माधव नेपालजी ! तपाईंकै पालामा १७ पटकसम्म  शर्मसार हुनु भएको होइन रामचन्द्रजी ? तपाईं दुबैको त्यसै कृत्यको पुनर्मञ्चन गर्न के ले छेक्छ सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई ?

सबै दलका घाँटीसम्म दलदलमा भासिएका नेताहरुको मुखारबिन्दबाट खसेको यो शब्द ‘नैतिकता’ ले मनोज गजुरेलका प्यारोडीभन्दा पनि बढी मनोरञ्जन सञ्चार गर्छ नेपाली समाजमा । मानिस पेट मिचीमिची हाँस्छन, ए आज फलानो नेताले जोक सुनायो, जोक सयौंपटक सुनेको भए पनि पब्लिकले नेताको सम्मान खातिर हाँसेको अभिनय गरी दिन्छन् । नेताप्रति यति सम्मान अझै बाँकी नै छ नेपाली जनमानसमा !

श्रीमान् केपी ओली यस्तै प्रवृति र प्रकृतिका नैतिकताविहीन नेता समुदायको सम्पर्क, संगत, सहवास, सानिध्य, सहचर्य, सहकार्यमा समवेत स्वरले ‘ॐ सहनाभवतु । सहनौ भुनक्तु । सहवीर्यं करवावहै । तेजस्विनावधीतमस्तु मा विद्विषावहै ।’ १९ (कठोपनिषद–कृष्ण यजुर्वेद) गाउँदै बिकसित भएको  एउटा नेपाली पात्र हो भन्नेमा सायदै कसैलाई विमति होला । अनि उहाँसँग उहाँका राजनीतिक साथीभाई, इष्टमित्र, बन्धुबान्धव, नातागोता, नन्दीभृंगी, प्रतियोगी–प्रतिष्पर्धी, शुभेच्छुक–आलोचक लगायत टाढाटाढाका शत्रुहरुसँग   निमेषमात्रका लागि निमित्त मात्रामा पनि नभएको यो नैतिकता भन्ने जीनिस के मंगल ग्रहबाट आपूर्ति भई आओस् ?

बाहियात... मलाई थाहा छ केपीजीले राजीनामा दिनु हुन्न, थाहा हुँदाहुँदै पनि म उहाँलाई ‘किमार्थम’ पनि यस्तो लाचारी प्रदर्शित नगर्ने परामर्श प्रेषित गर्दैछु । नैतिकता देखाएर राजीनामा गरे कुनै पुरस्कार पाइँदैन, अतैव यस्तो विचारसम्म पनि नगर्नुस् । सीपी मैनालीको फर्मूला लीसो टाँसे झैं टास्सिनुस् सत्तासँग । तपाईंलाई सत्ताबाट बहिर्गमन गराउन सक्ने सामथ्र्य तपाईंका कुनै रिपुसँग छैन ।

केपी ओलीसँग नैतिकताको आधारमा राजीनामा माग्ने जन हो ! हिजो उहाँले प्रतिनिधिसभा विघटनको सिफारिश गर्दा तपाईंहरुले कोलाहल मच्चाउनु भयो राजीनामा किन नदिएको ? तपाईंहरुका तमाम भगीरथ प्रयासले पुनरस्थापित भएको प्रतिनिधिसभामा उहाँ यो लेख लेख्दै गर्दासम्म पूर्ण बहुमत रहेको प्रधानमन्त्री होइन र ? कि  प्रतिनिधिसभाको पुनरस्थापना तपाईंहरुलाई तीन महिनाको भत्ता ख्वाउन मात्रै भएको हो ? स्थापित संसदमा जे अन्य २७४ जनाको भूमिका र अधिकार छ के त्यो केपी शर्मा ओलीलाई छैन र ?

बहुमत प्राप्त प्रधानमन्त्रीलाई हटाउने तमाम प्रक्रिया होलान् नि महोदय तपाईंहरुले बनाएको संविधानमा ।  त्यतैतिर लाग्नुस्, किन व्यर्थमा अरण्यरोदन गरेर पूरा देशलाई ‘प्रहशन प्रदर्शित गर्ने लघु नाट्यगृह’ मा रूपान्तरित गर्ने उद्यमशीलता देखाई  राख्नु भएको छ ?

नेकपाको पूर्ण बहुमतको सरकारसँग असन्तुष्ट भएको नेकपा समूहले नेकपाको रक्षाका लागि नेकपाका प्रधानमन्त्रीसँग राजीनामा माग्दैछ । अहिले मात्रै होइन ‘नेकपामा, नेकपासँग, नेकपाले नेतृत्व परिवर्तनको माग’ उछालेको एक वर्षभन्दा बढी समय व्यतित भइसकेको छ । प्रतिनिधिसभा पुनरस्थापनाले नेकपाको नेतृत्व सम्बन्धी विवादलाई  पुनः पुस ५ मा फर्काइ दिएको छ ।

शेरबहादुरजीलाई मात्रै होइन, मधेसी भनी सदा हेपिएको, हेपाइ भोगेको समुदायको पात्रलाई पनि विदित छ यो फगत जीवनभरी झूठ, फरेब, जालझेल, ठगी, मिथ्याभाषण, प्रतिशोध, हत्या, हिंसा, अराजकता, धर्म संस्कृतिलाई छिन्नभिन्न बनाउने समुदायभित्र बन्दरबाट नमिलेर उत्पन्न भएको परिस्थिति मात्रै हो । यसमा अन्य कसै नेपालीले चासो राख्नुको कुनै अर्थ नै छैन ।

राजनीतिक विमर्श गर्न बूढ़ानीलकन्ठ पुगेका दुबै पक्षलाई देउवाजीले आदर्श सल्लाह दिई फर्काउने गरेको समाचार सुन्दा तपाईंहरुलाई कस्तो लाग्छ थाहा छैन, मलाई भने बडो हर्ष र गौरवको अनुभूति हुन्छ । देउवाजी दुबै पक्षसँग भनी राख्नु भएको छ– ‘नेपाली कांग्रेससँग सम्पर्क गर्न– सम्बन्ध राख्न– सहयोग लिन पहिला तपाईंहरु फुटेर आउनु पर्यो, अनि नेपाली कांग्रेसले बिचार गर्छ ।’

मलाई लाग्छ देउवाजीका लागि ४ पटकसम्म प्रधानमन्त्री हुनुभन्दा पनि ठूलो आत्मगौरवको क्षण हुन्छ होला यो, जब उहाँ शरणागत हुन आईपुगेका आफ्ना शास्वत रिपुलाई– ‘मलाई शत्रुहरु जुटेको मन पर्दैन, जानुस् पहिला फुटेर आउनुस्, त्यसपछि बिचार गरौंला’ भन्दै सिगरेट सल्काउनु हुन्छ होला (शायद यहाँले सिगरेट पिउन छाड़ी सक्नु भएको छ) !

लाज, शर्म र आत्मगौरवको एक तोला भार मात्रै भएको भए राजेन्द्र महतोले ‘तपाईंको पार्टी कुन हो भनी सोध्दा’ ठाउँको ठाउँ हृदयाघात हुनु पथ्र्यो, प्रत्यारोपण गरी प्लास्टिकको मुटु राखिएको भए घर फर्की ‘सल्फास अथवा डोरी’ को  खोजी हुनुपथ्र्यो ।  बेशर्म जमातलाई योभन्दा क्षुद्र शब्द उच्चारण गर्ने लाज शर्म पचेको मानिस होइन म !

१३ दिने शुद्धीकरण झंै हुन गइरहेको प्रतिनिधिसभाको आगामी बैठक अघि नेकपाको संसदीय दलको नेतृत्व विषयक फैसला नभए पूर्ण बहुमतका प्रधानमन्त्रीले संसदमा बहुमत प्रदर्शनको स्वाङ गरीरहनु पर्दैन, होइन त कानूनविदहरु ! अदालतले निर्दिष्ट गरेको शुद्धीकरण १३ दिनभित्र हुन्छ कि अहिले चलेको नयाँ परम्परा अनुसार ५–७–९–१० दिनमै, सम्बन्धित उत्तरदायी वर्गसँग अपेक्षा छ यस शुद्धीकरण महाभोजमा आउने सारा व्यक्तिलाई खीर र पूरीको महाप्रसाद अवश्य वितरित गरियोस् ।

ओलीसँग राजीनामा मागी रहेको÷ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउन कसरत गरिरहेको नेकपा अहिले (गत एक वर्षदेखि) एक शरीर दुइ टाउको भएको विचित्र प्राणी झंै बनेको छ । दुबै टाउको एकअर्कासँग भनिरहेका छन्, मेरो कुरा मान्छस् कि ‘म शंखिया खाऊँ ?’ दुबैलाई थाहा छ, कुनै टाउकोले पनि शंखिया सेवन गरे, परिणाम के हुन्छ ?

एउटै शरीरमा दुईवटा टाउको पलाएको जटिल संरचनाको उपचार आधुनिकतम चिकित्सा जगतसँग त छैन, नेपालको निर्वाचन आयोगसँग कुनै शल्यक्रियाको अपेक्षा गरी दुइ स्वतन्त्र ‘इन्टीटी’ निर्माण गरिदिने आशा गर्नु पुनः हास्यास्पद हुन आउँछ । यसको सम्भावित उपचार यही हो कुनै एउटा टाउकोले दुस्साहस देखाई चोइटिएर जे जति शरीर लान सकिन्छ त्यो लिएर पलायन हुने ! देउवाजी, राजेन्द्र महतो लगायत अन्य मजस्ता रमितेहरुको चाहना यही हो । निर्वाचन आयोगले कुनै शल्यक्रिया सम्पादन गर्ने मनस्थिति देखाउँदैन, कारण उसले गरेको शल्यक्रियाको परिणाम घातक हुन सक्छ । शरीर कै मृत्यु घटित हुने सम्भावना हुन्छ । दुबै टाउकालाई यस कुराको संज्ञान नभएको होइन ।

नेदा (माधव नेपाल–पुष्पकमल दाहाल) समूहको टाउकोको प्रयास ओली  समूहको  टाउकोको  शक्ति निस्तेज गर्नु हो । ओलीलाई जसरी भए पनि प्रधानमन्त्रीबाट बर्खास्त गर्नु हो । यसका लागि उ आफूसँग रहेको शिलाजीत देउवालाई दिएर उनको जवानी फर्काउनसम्म तयार रहेको छ । र उता ओली पनि आफूसँग रहेको यार्सागुम्बा देउवाजीलाई प्रदान गरी सत्ता सुन्दरीसँग रमण गर्ने निमन्त्रण दिईरहेका छन् । देउवा भने राजा भ्रतृहरिका भाँती श्रृंगार शतकको धेरै पटक आस्वादन गरिसकेको स्मरण गर्दै नयाँ परिधानमा सजिएर आएकी पुरानै सत्तारूपी ‘पिंगला’ प्रति आकर्षित नभएर वैराग्य शतक लेख्ने मनस्थितिमा देखिएका छन् ।  उनको वैराग्य शतकले नेपाली कांग्रेसलाई ‘नीति शतक’ सम्म पुर्याई ‘क्षणिक सत्ता सुन्दरी साहचर्य’ को अपेक्षा देशका कम्युनिस्टरूपी असुर–रिपुलाई छिन्नभिन्न पारी निष्कंटक राज्य उपलब्ध गराउने प्रतिष्ठासम्म पुनरस्थापित गर्नसक्छ । देउवा र उनको दल नेपाली कांग्रेसले यो ‘गोल्डन चान्स’ गुमाउने गल्ती गर्दैन । देउवाजी  आफ्नो निवासमा आईपुगेका दुबै समूहलाई फुटेर आउ भन्ने निष्काम परामर्श दिई राख्नुभएको छ । आहा, के भाग्य देउवाजीको ! इन्द्रलाई पनि उहाँको यस  शौभाग्यमा डाह लाग्न सक्छ !

कÞानूनतः एक शरीर दुइ टाउको भएको (मेडिकल साइन्समा यस्तो अवस्थालाई एयथिअभउजबथि र यस्ता प्राणीलाई दष्अभउजबष्अि यच मष्अभउजबष्अि भनिन्छ) राक्षस न फुट्न सक्छ, न जुट्न सक्छ । आज मेरा दुइजना आदर्शपुरुष रसिक शिरोमणि सर्वश्री कृष्णप्रसाद भट्टराई र दुर्गाप्रसाद भण्डारी (प्राध्यापक डीपी भण्डारी) जीवित भएको भए कति प्रफुल्ल बन्नु हुन्थ्यो ! अधर्मी– विधर्मी– छलकर्मीको असहाय अवस्थाको यस दूर्लभ परिस्थितिलाई रंगोत्सव गरी आनन्द लिन  निश्चय पनि दुबैले मलाई सोमरस पानको निमन्त्रण पठाउनु हुन्थ्यो ! जीवित रहेका प्रदीप गिरी, अरुणकुमार सुवेदी, देवप्रकाश त्रिपाठी, ज्ञानेन्द्र शाह सदृश्यका महानुभावले उत्साह प्रदर्शन गरी यस्तै कुनै महोत्सवको  निमन्त्रण पठाएको खण्डमा म आफ्नो सन्ध्या र  निशाकालीन आध्यात्मिक क्रियाकलापलाई एक दिनका लागि स्थगित गरी शरीक हुन आउने प्रतिबद्धता व्यक्त गर्दछु । ए महानुभावहरु, तपाईं सबैजना एउटा सन्ध्यालाई इन्द्रसभामा झै ‘सेलीब्रेट’ गर्न÷गराउन सक्षम हुनुहुन्छ, होइन र ?

प्रतिनिधिसभा विघटन गरेर कामचलाउ– चुनावी प्रधानमन्त्रीको हैसियतमा झरेका प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्च अदालतले पुनः बहुमतको प्रधानमन्त्रीमा पुनरस्थापित गरी दिएको छ । कसैले पनि १२–२७ कुरा नगरी उनलाई यदि विस्थापित गर्न सक्छन् भने गर्ने प्रयास गरुन्, सबै ढोका खुलेकै छन् । संसदीय दलको नेताबाट बर्खास्त गरेर हुन्छ कि अविश्वास प्रस्ताव ल्याएर हुन्छ कि फाल्नुस् न ओलीलाई ! यो आफैसँग नभएको कुराको दुहाई (नैतिकताको माला जपेर) र सत्तोसराप गर्दै अश्लीलताजन्य क्रियाकलाप नगर्नुस् । बहुमतको प्रधानमन्त्रीले राजीनामा दिने कुरा हुन्न क्यारे ! यस्तो आशा प्रत्याशा नगर्नुस् । केपी ओली आन– बान– शानका साथ संसदमा जानुहुन्छ ।  रामचन्द्रजी, पम्फा भुषालजी लगायत अन्य महानुभावजीहरु, तपाईंहरुले यो दृश्य आफ्नै चक्षुले हेर्न पाउनु हुन्छ ।

बहुमत प्राप्त प्रधानमन्त्रीले बहुमतको प्रस्ताव राख्न गइरहेका छैनन् नि  सम्मानित सदनमा । उनी त आफू विरुद्ध पर्ने अविश्वास प्रस्तावको सामना गर्न सदनमा मूड भएको खण्डमा उपस्थित हुन आई दिन्छन् । केपी ओली त्यो दिन पनि सदनमा उपस्थित नहुँदा केही फरक पर्दैन उनको स्वास्थ्य अवस्थामा । केपीले यसो गर्दा पनि  तपाईंहरुले केही गर्न सक्नु हुन्न, कि कसो ? तपाईंहरुले सदस्य संख्या १३८ पुर्याएर प्रस्ताव पारित गराएको  खण्डमा शीतल निवास गइ केपी प्रधानमन्त्रीकै गाड़ी चढी पार्टी कार्यालय गइ व्हिप उल्लंघन गरेको आरोपमा तपाईंहरुलाई पार्टीको साधारण सदस्यताबाट निलम्बित गरिएको पत्र प्रेषित गर्ने कार्यमा सहयोगीगणका साथ दत्तचित्त भई खटिएर तत्पश्चात  बालकोट जानु हुनेछ ।

तर सदनमा अविश्वासको पक्षमा सदस्य संख्या १३८ पुग्न देउवाजीको अनुकम्पा नभएसम्म सम्भव छैन । कांग्रेस बाहेक सारा शक्ति मिले पनि १३८ को चमत्कारिक अंक पुग्दैन । पहिलो कुरा त कांग्रेसले यस अभियानमा भाग नै लिन्न, प्रस्ताव पारित हुन । त्यो दिन केपी ओलीले शेरबहादुरजीलाई र शेरबहादुरजीले ओलीजीलाई लड्डू ख्वाउनु हुन्छ, तपाईंहरुको सिको गर्दै । कथंकदाचित शेरबहादुरजीलाई थप कौतुक गर्ने अभिलाषाले ओतप्रोत गर्यो भने प्रस्ताव पारित भएर माथि वर्णन गरिएको अवस्था सिर्जना हुन्छ । प्रस्ताव पारित भएपछि ओलीजीका माफिक देउवाजी आफ्नो निवासमा गइ नयाँ रणनीतिबारे चिन्तन गर्नु हुन्छ । स्मरण रहोस्, प्रस्ताव पारित भए पछि पहिलो पटक ओलीजी कामचलाउ–कार्यवाहकको हैसियतमा आउनु हुन्छ अर्थात् अर्को प्रधानमन्त्री नबनेसम्म उहाँ नै प्रधानमन्त्री रही रहनु हुन्छ ।

देउवाजीले सरकार फाले  पनि नयाँ सरकार बनाउने कुनै जाँगर देखाउनु हुन्न, देखाउन पनि सक्नुहुन्न किनकी नेकपाको अवस्था एक शरीर दुइ टाउकोकै रही रहन्छ । यसरी काम चलाउ–कार्यवाहक प्रधानमन्त्रीको पट्यार लाग्दो भूमिका अथवा बहुमत प्राप्त निरीह प्रधानमन्त्रीको भूमिकाले आजित भई अन्ततः केपी ओलीले परामर्श हेतु यस लेखकलाई डाक्नु हुन्छ (यसको सम्भावना अलिक पहिला पनि घटित हुन सक्छ) र चियापान गराउँदै परामर्श माग्नु हुन्छ। यस नागा जोगीले विजया बूटीको धुवा उडाउँदै उहाँलाई ब्रह्मज्ञान दिन्छ– प्रतिनिधिसभाको पुनरस्थापना हेतु सडकमा आएका चारैजना पूर्व प्रधानन्यायाधीशलाई सम्मानपूर्वक निम्तो दिई चियापान हेतु बोलाउनुस् । प्रस्ताव पारित भएर कामचलाउ भएका अथवा प्रस्ताव पारित नहुँदा बहुमतमै रहेका प्रधानमन्त्रीले उहाँहरुसँगै परामर्श माग्नु हुन्छ–  हे सम्मानित पूर्व प्रधानन्यायाधीसज्यूहरु, मलाई मार्गदर्शन दिनुस् अब कुन विधिले, कुन संवैधानिक प्रक्रियाले म प्रतिनिधिसभा विघटनको सिफारिश गरेर देशलाई नयाँ निर्वाचनमा लगौं, कृपा गरी त्यसको मार्गचित्र वर्णन गरी दिनुस् ।

नेपाली कांग्रेसका लागि निर्वाचन नै पुनः ब्यूँतिने, पुनः तङ्गिने महाऔषधि हो, त्यो पनि कुनै सरकारमा नगई, कुनै किसिमको नयाँ सरकार बन्न नदिई; केपी ओलीले गराएको निर्वाचन नै त्यो सञ्जीवनी बूटी हो जसले उसलाई पुनः नवयौवन प्रदान गर्नसक्छ । यो कुरा देउवाले मात्रै होइन, रामचन्द्रदेखि गगन थापा हुँदै समस्त कांग्रेसजनले  हृदयंगम गरे नै नेपालमा ‘डेमोक्रेट’ शक्ति बलियो हुनसक्छ । कम्युनिस्टहरुका ३९ महिने नकारा शासनलाई कांग्रेसले जुनै पनि हालतमा कोल्टे फेर्ने मौका नदिई सोझै  केपी ओलीकै नेतृत्वमा चुनावमा जानुपर्छ ।

नेकपाको नेदा समूहले आजै बुझे हुन्छ, उनका सितारा गर्दिशमा छन् । देउवा र कांग्रेसले उनलाई केपी ओलीलाई ढाल्न साथ दिए पनि त्यसपछि देउवाजीले पनि यस लेखकलाई बोलाई रामायणको सुन्दरकाण्ड महिमा श्रवण गर्ने प्रबल सम्भावना छ । हो, यो समूह हिन्दू धर्मका पक्षमा उभिन आए धर्मले यस समूहको कल्याण हुने मार्ग पनि इंगित गरी दिन्छ ।

नेपालको राजनीतिक नाटक केही समय अरु लम्बिन्छ ।   सर्वोच्च अदालतको निर्णयले देशलाई, नेकपालाई पुस ५ गतेभन्दा पहिलाको स्थितिमा पुर्याई दिएको हो, यस बाहेक अन्य कुनै घटनाक्रम परिवर्तित भएका   छैनन् । सर्वोच्चसँग देशलाई १२ वर्ष पूर्वको स्थितिमा पुर्याई दिने सामथ्र्य थिएन  र छैन । यो सामथ्र्य जोसँग छ ती सम्पूर्ण शक्ति सक्रिय छन्, सञ्चालित छन्, उत्साहित छन्, सफलतासाथ आफ्नो ‘रोड म्याप’ क्रिन्यान्वयन गर्ने दिशामा निर्भीकतापूर्वक अघि बढीरहेका छन् । यस शक्तिको रथ अघि बढ्ने क्रममा मार्गमा आएका सारा कसिङ्गर बाढारिन्छन्, थुप्रिएर रहेका  सारा बेथिति एक एक गरी निर्मूल हुन्छन् । आउने केही समयभित्र नै देश पुनः शाश्त्रसम्मत समय सुहाउँदो बर्कोले सुसज्जित हुनेछ ।

 

इति नमस्कारान्ते !!
 

ताजा खबर