एकमहिने महिला लिगको यस्तो छ अन्तरकथा

२०७७ फाल्गुण १२ बुधबार ११:१३:०० मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाले कोरोना भाइरस संक्रमणको कारण भन्दै यो सिजन शहीद स्मारक ए डिभिजन लिग आयोजना नगर्ने निर्णय गर्यो । तर महिलाको लिगलाई भने प्राथमिकतामा राख्यो र सम्पन्न पनि गर्यो । माघ सात देखि फागुन सात गतेसम्म भएको लिग उपाधी एपीएफ क्लबले जित्यो । एक खेल पनि नहारी एपीएफ च्याम्पियन बन्दा चौदन्डीगढी नगरपालिकाले अंकको खाता खोल्न सकेन ।

 तीन विभागीय टिम, एक महानगरपालिका र दुइ नगरपालिका  सहित सात टिमले डवल राउण्ड रोविन फरम्याटमा लिग खेले । पहिलो पटक महिला लिग यति लामो समय भएको हो । विदेशी खेलाडीको अनुबन्धन, नगरपालिका टिमहरुको राम्रो प्रदर्शन, खेलाडीको सुधारिएको स्तर आदि कुराले लिगमा आकर्षण थपेको पाईयो । तर एन्फाले लगातार खेल खेलाउँदा खेलाडीले आराम पाएनन् र टिमले चोटको समस्या भोगे ।

 पुरस्कार राशीमा बृद्धिले महिला खेलाडीमा हौसला बढायो । लिगको अन्त्यमा स्टार स्ट्राइकर सावित्रा भण्डारीको चोटले लिगलाई केही खल्लो बनायो । समग्रमा राष्ट्रिय महिला लिग कस्तो रह्यो त ? 

डवल राउण्ड रोविन 


यसअघिका महिला लिगहरु कहिले सुरु भयो र कहिले सकियो पत्तै हँुदैन थियो । अर्थात् नकआउट प्रतियोगिता जस्तै लिग संचालन हुने गरेको थियो । जसका कारण खेलाडीले आफ्नो क्षमता देखाउने अवसर नै पाउँदैन थिए  । प्रतिस्पर्धा पनि खासै हुँदैन थियो । यसपटक एन्फाले झण्डै ६ महिना लामो लिग गर्ने बताएको थियो । तर कोरोनाको कराण देखाउँदै एक महिनामा झार्यो । यद्यपी डवल राउण्ड रोविन फरम्याटमा गरिएकाले हरेक टिमले १२ खेल खेल्ने मौका पाए ।

लिगमा एपीएफ, त्रिभुवन आर्मी फुटवल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, चौदण्डीगढी नगरपालिका उदयपुर, चन्द्रपुर नगरपालिका रौतहट र वालिङ नगरपालिका स्याङजा गरी सात टिम सहभागी भएका थिए । उनीहरुले पहिलो चरणमा ६ र दोस्रो चरणमा ६ गरी कुल १२ खेल खेले । पहिलो चरणमा राम्रो खेल्न नसकेका टिमले दोस्रो चरणमा सुधारिएको प्रदर्शन गरे । खेलाडीले एक्सपोजरको मौका पाए । एउटै खेलमा खेलाडीको क्षमता अनुमान गर्न सकिन्न । कुन खेलाडीले कस्तो खेल्छ भनेर जान्नका लागि लामो समयको लिग जरुरी हुन्छ । यसपटक दुइ चरणको लिगले केही हदसम्म भएपनि महिला फुटवलमा ब्यावसायिकता झल्कियो । दर्शकले पनि महिला खेलाडी चिन्ने मौका पाए । 


विदेशी खेलाडी 


पुरुष लिगमा विदेशी खेलाडी आएर खेल्न थालेको दशकौं भइसक्यो । तर महिला लिगमा पहिलो पटक विदेशी खेलाडी समावेश गरियो । यो महिला लिगमा नयाँ सुरुवात हो । वालिङ, विराटनगर महानगरपालिका तथा चौदण्डीगढी नगरपालिकाले विदेशी खेलाडी अनुबन्धन गरेका थिए ।  जसमा चार चार गरी १२ विदेशी खेलाडी मैदान उत्रिए । विदेशी खेलाडीको उपस्थितिले लिगलाई केही हदसम्म प्रतिस्पर्धात्मक बनायो । पहिलो चरणमा विदेशी खेलाडीको प्रदर्शनको मदतमा विराटनगरले नेपाल पुलिस क्लब माथि जीत हात   पार्यो । जुन लिगमा विभागी टिमले बाहिरको टोलीसँग बेहोरेको पहिलो हार थियो । वालिङले पनि पुलिसलाई हरायो । लिगमा विभागीय टोलीकै वर्चश्व छ ।  

तर यसपटक एकाध खेल बाहेक विभागका टिमलाई नगरपालिका विरुद्ध जीत हात पार्न संघर्ष नै गर्नुपर्यो । एपीएफकी स्ट्राइकर सावित्रा भण्डारी भन्छिन्– विदेशी खेलाडी हुने वित्तिकै अलि दवाव महसुस भइहाल्छ । गोल गर्न सहज भएन । उनीहरुको आगमनले लिगलाई प्रतिस्पर्धात्मक बनाएको छ । हाम्रा लागि सिक्ने मौका मिल्यो । भारतीय आइ लिग खेलेका र क्यामरुको अण्डर नाइन्टिन टिममा रहेका खेलाडी नगरपालिका टिममा आवद्ध भएका थिए । उनीहरुले पनि नेपाली लिग खेल्न पाउनुलाई उपलब्धिको रुपमा लिए । नेपाली खेलाडीमा प्रतिस्पर्धात्मक भावना जगायो । दर्शक र स्वयम् खेलाडीले पनि लिगमा नयाँ स्वादको पाएको अभनुभव गरे ।

 

खेलको स्तर 


पहिलेको महिला लिग अलि अल्छी लाग्दो हुन्छ भन्ने प्रतिक्रिया आउने गर्दथ्यो । तर यो पटक त्यस्तो भएन । धेरै गोल खाने टोलीका खेलाडीमा पनि फुटवल सेन्स निकै राम्रो देखियो । उनीहरुको बडी ल्याङग्वेज, वल पास दिने शैली, मैदानको मुभमेन्ट निकै स्तरीय थियो । अघिल्लो संस्करणमा राष्ट्रिय टिम बाकेहका प्राय खेलाडीलाई आफ्नो पोजीसनको पनि खासै ज्ञान हुँदैन थियो । उनीहरु मैदानको तलमाथि मुभ भएर खेलिरहेका थिए । रौतहट एकेडेमीका खेलाडी सम्मिलत चन्द्रपुर टिमको प्रदर्शन भने अपेक्षा अनुसारको भएन । त्यसको एउटा कारण उसका मुख्य खेलाडीको चोट पनि  थियो । नगरपालिका टिममा खेल अनुभवको कमी देखन्थ्यिो । यदि बढी भन्दा बढी खेल र लगानी गर्ने हो भने आगामी लिगमा विभागीय टोलीलाई यी टिमले वलियो चुनौती पेश गर्नेमा कुनै शंका छैन ।

खेलाडीको चोट


 एक महिनासम्म चलेको लिगमा खेलाडीको चोट मुख्य समस्याका रुपमा रह्यो । चौदण्डीगढीको ५ जना खेलाडी घाइते भएपछि उसले योजना अनुसार प्रदर्शन गर्न सकेन । पुलिसलाई पनि खेलाडीको चोटले सतायो भने विराटनगर, चन्द्रपुरले पनि आफ्ना मुख्य खेलाडीलाई चोटका कारण गुमाए । केही खेलाडी सुरुमै घाइते भएका थिए भने केही लिगको बीचतिर । लामो समयदेखि मैदान बाहिर रहेका खेलाडीमा फिटनेश नहुनु र लिगमा पनि आराम नहुनुले खेलाडी बढी घाइते भएको विश्लेषण गरिएको थियो । लिगमा लगातार खेल हुँदा खेलाडीले आराम गर्न नै पाएनन् । कोरोना भाइरस महामारीका कारण यो पटक लिग छिटो सक्नुपर्ने बाध्यताका कारण रेस्ट डे राख्न नसकिएको एन्फाको भनाइ छ । महिला समिति एन्फाकी अध्यक्ष पेमा लामा श्रेष्ठ भन्छिन्– महिला टिममा मात्र नभएर पुरुष टिममा पनि फिटनेशको समस्या देखिएको छ । खेलाडीले लामो समय कोरोनाका कारण खेल्न पाएका थिएनन् । एकै पटक मैदानमा उत्रिएपछि चोट बोके । 

 

सावित्रा भण्डारीको चोट

 


यस पटकको लिगमा सवैभन्दा बढी कुनै खेलाडीको चर्चा भयो भने ती हुन् सावित्रा भण्डारी । साम्बा उपनामले चर्चित सावित्रा लिगको पहिलो दिनबाटै संचारमध्यममा छाइन् । एपीएफ क्लबकी स्ट्राइकर सावित्राले पहिलो खेल देखि नै विपक्षीको पोस्टमा गोलको वर्षा गरिन् । सावित्राको खुट्टामा वल आयो की गोल हुन्छ भने जस्तै प्रदर्शन रह्यो उनको । पहिलो चरणमा एपीएफले चौदण्डीगढी नगरपालिकालाई २२ शून्यले हराउँदा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन् । दश खेलमा ४३ गोल गरेपछि सावित्रालाई वज्रपात पर्यो । दोस्रो चरणको लिगमा पुलिस विरुद्धको खेलका क्रममा सावित्राको घुँडामा चोट लाग्यो । त्यसपछि उनले लिगका बाँकी दुइ खेल मात्र होइन एक वर्ष मैदान बाहिर बस्नुपर्ने भएको छ । यसले लिगलाइ नै खल्लो बनायो । एपीएफले लिग जित्दा महत्वपूर्ण भूमिका निभाएकी सावित्राको चोट क्लबका लागि मात्र होइन राष्ट्रिय टिमका लागि पनि घाटा हो ।

चौदण्डीगढीको प्रदर्शन 


सहभागी सात टोलीमध्ये सवैभन्दा कमजोर चौदण्डीगढी नगरपालिका उदयपुर रह्यो । उसले लिगमा एक खेल पनि जितेन । अंक विहिन हुँदै घर फर्कने  चौदण्डीगढी एक्लो टोली बन्यो । १५ दिन जतिको मात्र तयारी गरेर आएको बताएको चौदण्डीगडीले लिगमा कुल एक सय ६ गोल खायो । चार गोल फिर्ता गर्यो । जसमा एपीएफले पहिलो चरणमा २२ गोल प्रहार गरेको थियो । यतिधेरै गोल खाएपनि चौदण्डीगढीका खेलाडीले यति ठूलो स्तरको प्रतिस्पर्धा गर्न पाउनुमानै उपलब्धि भएको प्रतिृकया दिए । 

एपीएफको वर्चश्व 


एपीएफका खेलाडीको भनाइ अनुसार उनीहरुको तयारीमा स्कोरिङको एकदमै ठूलो समस्या थियो । ए र बी टिम बनाएर अभ्यास गर्दा लिग खेल्ने सेटको ए टिम सधैं पराजित   हुन्थ्यो । तर लिग सुरु भएदेखि नै एपीएफले हरेक खेलमा गोल गर्यो । एपीएफले अपराजित रहँदै लिग उपाधी जितेको हो । उसले १२ खेलमा शतप्रतिशत नतिजा निकाल्दै ३६ अंक जोड्यो । उसले हरेक खेलमा गोल गरेको थियो । उसले लिगमा कुल ७७ गोल गर्दा मात्र एक गोल खाएको थियो । एपीएफलाई पुलिसले दोस्रो चरणमा एक गोल हानेको थियो । एपीएफका  लागि प्रीति राई सरु  लिम्बुको प्रदर्शन उच्च रह्यो । सरु त लिगकै सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन् । आर्मीले उपविजेतामा  र पुलिसले तेस्रो स्थानमा चित्त बुझाए ।

के भन्छिन् महिला समिति अध्यक्ष पेमा– 


‘कोरोना भाइरस महामारीका कारण लिग आयोजनाका लागि चुनौती थियो । त्यसैले छिटो सक्न यस पटक एक महिनाका लागि मात्र गर्यो । लिगलाई सफलता पूर्वक सम्पन्न गर्न सकेकोमा पनि हामी खुशी छौं । बढी भन्दा बढी नयाँ खेलाडी आउन् भन्ने हाम्रो उदेश्य थियो । केही  राम्रा खेलाडी आएका पनि छन् । अन्तर्राष्ट्रिय खेलाडीको आगमनले लिगलाई प्रतिस्पर्धात्क बनायो । कोरोनाका कारण अपेक्षा गरे अनुसारका विदेशी खेलाडी आएनन् । तर अफ्रिका र सार्क राष्ट्रबाट आएर नेपाली लिग खेल्नुलाई नयाँ सुरुवातका रुपमा लिएका छौं । उनीहरु आएपछि विभागीय टिमलाई पनि चुनौती भयो । वलियो टोली छ राम्रो खेल्नु पर्छ भनेर खेल्नु र नगरपालिका हो सजिलै जित्छौं भन्ने सोचेर खेल्नुमा फरक हुन्छ । त्यसैले विभागीय टिमले सचेत भएर खेले । छरिएर बसेका खेलाडी एक ठाउँमा आए सेयरिङ एन्ड केयरिङ कस्तो पनि भयो । केही कमीकमजोरी पनि देखिए । रेस्ट डे नहुँदा खेलाडी चोटग्रस्त भएको भन्ने पनि प्रतिकृया आयो । यसपटक हाम्रो बाध्यता थियो । अर्को वर्ष लिगको अवधि बढाउनका लागि अहिले देखि नै योजना बनाउन सुरु गर्छौं । होम एन्ड अवेको अवधारणामा पनि जान सक्नेबारे बृहत छलफल गर्छौं । समग्रमा लिगको सफलताबाट खुशी छौं । अन्त्यमा सावित्राको चोटले अहिले नमिठो अनुभव भयो । हामी उनको सही उपचार र केयरमा कुनै कसर बाँकी राख्दैनौं ।’ 
 

ताजा खबर