सकियो ‘झ्यालिन्चा’

२०७४ मङ्सिर ४ सोमबार २१:३८:०० मा प्रकाशित

काठमाडौं,४ मंसीर । अभिनेता दयाहाङ राई पछिल्लो समयका निकै व्यस्त सुचीका कलाकार हुन । लामो समयको अन्तराल  पछि उनी पुन रंगमञ्चमा फर्किएका छन् तर कलाकार रुपमा होइन निर्देशक बनेर । उनी निर्देशित नाटक ‘झयालिन्चा’ ले राम्रै चर्चा कमायो । कुमार नगरकोटीले लेखेको कथामा आधारित नाटक निर्देशनमा दयाहाङलाई सोमनाथ खनाल, उमेश तामाङ र विकाश जोशीले पनि सघाएका थिए  ।

नाटकका मुख्य पात्र हासबिरा सहरमा बस्छन् । उनले हालसालै लेखेको उपन्यास ‘झ्यालिञ्चा’ बजारमा आइपुगेको छ र त्यसैको सेरोफेरोमा आयोजित साक्षात्कार कार्यक्रमबाट नाटक झ्यालिन्चा अगाडि बढ्छ ।

आफ्नो बगैंचामा आएको प्याजी झ्यालिन्चाबाट मोहित भएर त्यसैको स्वैर कल्पनामा डुब्दै हासबिराले उपन्यासको खाका तयार पारेका छन् । उपन्यास लेख्ने क्रममा चरित्रको छायाले पछ्याउन थालेको उनलाई भान हुन्छ । उनी त्यसै मख्ख पर्छन । अलिअलि समस्यामा पनि पर्छन् । उनले उपन्यास लेखिसक्दै गर्दा उनकै बगैंचाको घरपालुवा छेपारोले प्याजी झ्यालिन्चालाई निलिदिन्छ । हासबिरालाई हाइसन्चो हुन्छ । त्यसपछि झ्यालिञ्चाको वास्तविक कथा शुरु हुन्छ ।

सुदूर गाउँकी एक युवतीको आत्मा झ्यालिञ्चा बनेर उडिरहेको हुन्छ । जनयुद्धकालमा बिद्रोहीहरुलाई खाना खुवाए वापत सरकारी सुरक्षा फौजले उनको अपहरण गरेको हुन्छ । बलात्कार पश्चात जंगलको ऐसेंलु झाडीमा उनको जिउँदो शरीर गाडिएको हुन्छ तर बेपत्ताको राष्ट्रिय सूचिमा उनको नाम हुँदैन । उनकी आमाको विश्वास हुन्छ, झ्यालिञ्चा बनी उडेर गएकी उनकी छोरी एकदिन घर फर्किन्छे । हासबिराको घरपालुवा छेपारोले आफूलाई निलिसकेको बताउँदै गर्दा यता झ्यालिञ्चाको आत्मा उडेर जान्छ ।

रंगमञ्चबाट नै आफनो अभिनय शुरु गरेका निर्देशक दयाहाङ राई आफु नाटकबाट कहिले टाडा जान नसक्ने बताउँछन् ।  उनी भन्छन्, ‘समयले भ्यायसम्म म नाटक पनि गरिनै रहन्छु’ । आफुले नाटक खोजिरहेको बेला लेखक कुमार नगरकोटीको धेरै कथाहरु मध्य झ्यालिञ्चाले मन छोएकोले  यो नाटक बनाएको उनले जानकारी दिए । 

करिब ५० मिनेट लामो नाटकमा विजय बराल र रञ्जना ओलीले अभिनय गरेका छन् । अनुपम शर्माको संगीत रहेको नाटकमा किरण चाम्लिङले गीत संयोजन गरेका छन् । रोहित पौडेल र अनुप न्यौपानेले नाटकको मञ्च निर्माण, लाइट व्यवस्थापन तथा प्राविधिक पक्षका कामहरु गरेका छन् । 
–सुकृत 

ताजा खबर