२२ वर्षपछि एभर्टनले एनफिल्डमा जित्यो

२०७७ फाल्गुण ९ आइतबार १२:५१:०० मा प्रकाशित

 एभर्टनले २२ वर्षपछि एनफिल्डमा जीत हात पारेको छ । इङलिस प्रिमियर लिगमा गएराती भएको खेलमा एभर्टनले लिभरपुलाई दुइ शून्य गोलले पराजित गरेको हो ।

एभर्टनले खेल सुरु भएको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि हामेज रोद्रिगेजको पासमा रिचार्लिसनले गोल गरे । पहिलो हाफमा एक शून्यले अघि रहेको योर्गेन क्लोपको टोली दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । ८३ औं मिनेटमा गिल्फी सिगुर्डसनले गोल गरेपछि एभर्टनले एनफिल्डमा हारको श्रृङखलामा पूर्णविराम लगाएको हो । एभर्टनका गोलकिपर जोर्डन पिकफर्डले लिभरपुलका मोहम्मद सालाह, साडियो माने, जोर्डन हेन्डरसन लगायतका प्रहारको उत्कृष्ट बचाउ गरेका थिए ।

 लिभरपुलको घरेलु मैदानमा यो लगातार चौथो हार हो । उसले घरेलु मैदानमा सन १९२३ यता लगातार चार खेलमा हार बेहोरेको यो पहिलो पटक हो । एनफिल्डमा तीन अंक जोड्नु मात्र एभर्टनका लागि ठूलो कुरा रहेन । मानसिक रुपमा पनि ठूलो सफलता मिलेको एभर्टनले बताएको छ ।  १९९९ सेप्टेम्बर २७ पछि पहिलो पटक एभर्टन एनफिल्डमा विजयी भएको  हो । यो बीचमा उसले २३ पटक लिभरपुलसँग पराजय बेहोरेको थियो । एभर्टनले पछिल्ला १२ खेलमा आठमा जीत हात पारेको छ । तालिकाको सातौं स्थानमा रहेको एभर्टनको २४ खेलबाट ४० अंक छ । साविक विजेता लिभरपुल २५ खेलबाट ४० अंकका सात पाँचौ स्थानमा छ ।  

ताजा खबर