गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी

२०७७ फाल्गुण ८ शनिबार १८:१२:०० मा प्रकाशित

काठमाडौं । पौडीकी गौरिका सिंह र कराँतेका मन्देकाजी श्रेष्ठले एनएनआइपिए सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आज गौरिका र मन्देकाजीलाई सर्बोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरेको हो । गौरिकाले  १३ औं दक्षिण एशीयाली खेलकुद सागमा कीर्तिमानी चार स्वर्ण सहित कुल नौ पदक जितेकी थिइन् । लण्डनमा बस्ने गौरिका केही दिन अघि मात्र नेपाल आएकी हुन् । गौरिकाले पौडीको उत्कृष्ट खेलाडीको अवार्ड पनि जितिन् । मन्देकाजी १३ औं सागका दोहोरो स्वर्ण दिक विजेता खेलाडी हुन् । दुवैले एक एक लाख नद पुरस्कार पाए ।

प्रतिभावान खेलाडीको अवार्ड तेक्वान्दोकी आयशा शाक्य र फुटवलका सुजल श्रेष्ठले जिते । आयशाले १३ औं सागमा नेपालका लागि दोहोरो स्वर्ण जितेकी थिइन् । सुजलको कप्तानीमा नेपालले सागमा फुटवल तर्फ स्वर्ण जितेको थियो । दुवैलाई ५०–५० हजार पुरस्कार प्रदान गरियो ।

गल्फका सुवास तामाङ र कुस्तीकी संगीता धामीले राइजिङ प्लेयरको अवार्ड हात पारे । सुवासले सागमा दुइ स्वर्ण जितेका थिए । संगीताले पनि स्वर्ण पदक जितेकी थिइन् । उनीहरुले पनि ५०–५० हजार पुरस्कार जिते ।

टेवल टेनिसका केशव थापाले पारा एथ्लिट अवार्ड र स्पोर्टस जर्नलिस्ट अवार्ड अन्नपूर्ण पोस्टका रोशन राउतले प्राप्त गरे । गजराज आदर्श खेल अवार्ड बाट कराँतेका अकबर शाह सम्मानित भए । 

वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने २६ खेलका खलाडीलाइ अवार्ड प्रदान गरिएको थियो ।  

ताजा खबर