छोरा प्रकाश दाहालको आकस्मिक निधनले पिता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला पिडाको पोखरीमा डुबेका  छन् । काठमाडौंको पेरीसडाँडास्थित पार्टी कार्यालयमा पुत्र प्रकाशको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदा प्रचण्डले शोकको वेगलाई थाम्न सकेनन् र उनी द्रवीभूत भए । पशुपति आर्यघाटमा छोरालाई दागबत्ती दिँदा कुन बाबुको मन नरोला र ? तैपनि प्रकाश दाहालको अन्तिम यात्रामा सहभागी सयौं नेता÷कार्यकर्तालाई उनले अभिबादन गरे, सम्हालिएरै पुत्रलाई दागबत्ती दिए ।

हामी बाँचीरहेको संसारमा प्रकृतीको आफ्नै नियम छ, जुन हामीले बनाएको भन्दा भिन्न हुन्छ । यही कारण दुइ पटक प्रधानमन्त्री भइसकेका, पार्टीको अध्यक्ष भएका, दश वर्ष लामो विद्रोह र शान्ति प्रकृयाको नेतृत्व गरेका शक्तिशाली व्यक्तित्व प्रचण्डले पनि त एक दिन रुनु पर्दोरहेछ । किनकी, प्रश्न माओवादी अध्यक्ष प्रचण्डका निजी सचिव प्रकाश दाहालको निधनको मात्र थिएन, त्यहाँ एउटा पिताले पुत्र गुमाएको थियो । स्वयंंलाई दागबत्ती दिनुपर्ने छोरालाई नै आफुले दागबत्ती दिनु कुनै पनि पिताका लागि पिडाको सबैभन्दा तिव्र क्षण हो ।

३६ वर्ष उमेर टेक्दै गरेको, हलक्क बढेको छोरो गुम्नु र त्यो छोरालाई आफैंले दागबत्ती दिनु प्रचण्डले भोगेको दुःखको पराकाष्ठा हो । सायद यस्तो पिडाबोध उनले बिगतमा गरेका थिएनन् । प्रचण्ड नै यस्तो दुःखी नेतामा दरिएका छन्, जसले एकपछि अर्को गरी शोक भोग्दै आए । उनले क्रमशः सम्धी पोष्टबहादुर बोगटी, छोरी ज्ञानु दाहाल र भर्खरै छोरा प्रकाशलाई गुमाउनुप¥यो । सन्तानको शोकमा उता श्रीमती सिता दाहालले पनि डिप्रेशनको औषधि खानु परिरहेको पिडा बेग्लै छ ।

फ्रेडरीक एँगेल्सको ‘प्राणीको उत्पत्ती र सिद्धान्त’मा भनिए अनुसार यो बम्हाण्डमा भएका सबै चिज पदार्थ हुन् । कम्युनिष्टहरु के ठान्छन् भने हामी मान्छे पनि पदार्थ नै हौं । हाम्रो चेतना या मश्तीष्क पनि पदार्थ नै हो । मान्छेको जन्म र मृत्यु पनि पदार्थहरुवीच हुने क्रिया÷प्रतिक्रिया नै हो । यस हिसाबले हेर्ने हो भने त जो कसैको मृत्युमा शोक मनाउनुपर्ने कुनै कारण देखिँदैन ।

 तर, भौतिक हेराइ मात्र सत्य हैन, आध्यात्मिक, भावनात्मक र चैतन्यको उच्च तहमा रहेको परमसत्यको आभ्यन्तरीक वोधको पाटो बेग्लै छ । त्यो वोधले भन्छ, कुनै पनि मान्छे फगत पदार्थ मात्र हैन । उसको चेतनाको उच्च महत्व छ र हरेक मानिस यस हिसाबले फरक छ । त्यही वोधले नै पुत्रको निधनमा प्रचण्डजस्ता नेताले पनि रुनुपर्छ । प्रचण्डका लागि प्रकाश दाहाल फगत एक पदार्थ थिएनन्, मोहको एक पात्र पनि थिए । सम्झना, भावना, स्नेह र प्रेमका अनेक आयामको रसायनले प्रकाश दाहालसँग उनी जोडिएका थिए । प्रकाश दाहाल, बुहारी बिना र सिर्जना अनि नातीसम्म गरेर दाहाल परिवारको मोहको ठूलो कोलाज बनिसकेको थियो र प्रचण्डका लागि त्यो चित्र संसारकै सुन्दर चित्र थियो । तर,निर्दयी नियतीले एक झट्कामै त्यो चित्रमा महाकालको कालो मसी पोतिदियो ।

पुत्र शोकको पिडा एउटा पितालाई मात्र महसुस हुन्छ । चुनावी प्रचारको उत्कर्षमा पुत्रको अवसानले पक्कै पनि प्रचण्डलाई केही कमजोर त बनाएको होला, तर उनी विचलित भने पक्कै भएका छैनन् । दश वर्ष लामो विद्रोह र त्यसयताको शान्ति प्रकृयामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका प्रचण्डले पुत्र शोकको पिडाका वाजुद पनि आसन्न निर्वाचन सम्पन्न गर्ने महाअभियानलाई निरन्तरता दिने नै छन् । किनभने संविधानको पूर्ण कार्यान्वयनका लागि पनि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु आवश्यक छ । निर्वाचनको परिणाम जनता जनार्दनको हातमा छ तर शान्ति प्रक्रियाको पूर्णता आसन्न निर्वाचनको सफलतापूर्वक सम्पन्न हुनुमा निर्भर छ ।

यतिबेला पिडाको पोखरीमा डुबेका प्रचण्डप्रति हामी हार्दिक समबेदना प्रकट गर्दछौं । र उनको शोक सन्तप्त परिवारजनलाई पिडा सहनसक्ने शक्ति इश्वरले प्रदान गरुन् भन्ने कामना पनि गर्दछौैं । शोकको यस घडीमा उनका बिगतका गल्ती कमजोरी उधिन्नु भनेको अमानविय हर्कत हुनजान्छ । किनकी, शोक हामी सबैलाई पर्छ र शोकको घडीमा सान्त्वना र समबेदना बाँड्नुपर्छ । यहींनेर नेपाली काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराइको प्रसंग उल्लेख गर्नु उचित होला । गिरिजाबाबुको निधनबारे किशुनजीको प्रतिक्रिया लिन जाँदा उनले भनेका थिए, ‘हुन त गिरिजाबाबुले मलाई धेरै दुःख दिनुभयो, तर अब उहाँ स्वर्गे भइसकेकाले उहाँ धेरै महान नेता हो भनेर भन्छु ।’

 मृत्यु जीवनको एउटा यस्तो अभाव हो, जुन पूर्ती हुँदैन । घर, जग्गा, गाडी, बैँक ब्लालेन्स, पद, प्रतिष्ठा, सत्ताको अभाव पूर्ती हुन्छ, तर मृत्यु नै जीवनको यस्तो अभाव हो, जुन यो संसारमा विश्व विजेता अलेक्जेण्डरदेखि नेपोलियन, हिटलरदेखि चँगेज खाँसम्म कसैको पूरा भएन । सबै मरेर  गए । हामी सबै एक दिन मर्ने नै हो ।

अचम्मको कुरा के छ भने हामी आफ्ना नजिकका मानिस नमर्दासम्म जीवनको त्यो कटु अभाव महसुस गर्दैनौं । यहाँ दिनहुँ कसैका छोरा, कसैका छोरी, कसैका श्रीमान–श्रीमती त कसैका बाबु आमा मरिरहेका हुन्छन् । तर, आफ्ना छोरा, छोरी, श्रीमान, श्रीमती या बाबु आमा नमर्दासम्म अरुका आफन्त मर्दाको पिडा बोध नहुँदोरहेछ ।

पिडाबोध गरिरहेका प्रचण्डलाई इश्वरले यो पिडाको पोखरीबाट उतारुन् । तत्वबोध र जीवनको यथार्थ बोध गर्दै नेपालको राजनीतिलाई सकारात्मक, शान्तिपूर्ण, लोकतान्त्रिक र सहिष्णुताको दिशामा अघि बढाउन उनले योगदान दिइरहून् भन्ने कामना गर्दछौं ।

प्रकाश दाहालप्रति हार्दिक श्रद्धाञ्जली ।  
     
    
    

ताजा खबर