एपीएफकी सरु लिम्बु राष्ट्रिय महिला लिगकी सर्वोत्कृष्ट खेलाडी

२०७७ फाल्गुण ७ शुक्रबार २१:२१:०० मा प्रकाशित

काठमाडौं । च्याम्पियन टोली एपीएफकी सरु लिम्बु राष्ट्रिय महिला लिगमा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

एपीएफले शतप्रतिशत नतिजाका साथ लिग जित्दा सरुले महत्वपूर्ण भूमिका निभाएकी थिइन् । उनले लिगको अन्तिम खेलमा पनि आर्मी विरुद्ध दुइ गोल गरिन् । उनले जारी लिगमा कुल पाँच गोल गरेकी थिइन् । मिडफिल्डमा सरुको उत्कृष्ट प्रदर्शनका कारण एपीएफले विपक्षी टिममाथि सहजै गोल गरेको थियो । सरुले स्कुटर पुरस्कार प्राप्त गरिन । अन्य विधामा पनि विभागकै खेलाडी हाबी भए । 

आर्मीकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर र एपीएफकी सावित्रा भन्डारी उत्कृष्ट स्ट्राइकर चुनिए । नेपाल पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलकिपर, पुलिसकै अमृता जैशी उत्कृष्ट डिफेन्डर बने । सावित्राले दश  खेलमा ४३ गोल गरिन् । पुलिस विरुद्धको खेलका क्रममा चोट लागेपछि उनले अन्तिम दुइ खेल भने गुमाइन् । एपीएफकी भगवती थापा उत्कृष्ट प्रशिक्षक भइन् । उनी लिगमा सहभागी सात टिमकी एक्ली महिला प्रशिक्षक पनि   हुन् । विजेता सवैलाई  समान ५० हजार पुरस्कार प्रदान गरिएको थियो । 

ताजा खबर