कुरुक्षेत्रमा कौरवहरु:  एउटा ‘निम्छरो’ महाभारत

२०७७ फाल्गुण ७ शुक्रबार १६:४५:०० मा प्रकाशित

 व्यास हिमालमुनी तपस्यारत् महर्षि व्यासले दिव्य सुमीरनमार्फत बोध गरेको र गणेशजीले लेखेको यो धरतिकै महानकाव्य महाभारतको हवाला दिएर नेकपाका दुबै पक्षका नेताहरु आभसभाहरुमा भनिरहेका छन्– ‘आजको महाभारतमा हामी सत्यको पक्षमा छौं र अन्ततः सत्यकै जित हुनेछ ।’

चक्रव्यूहमा मारिएका अर्जुनपुत्र अभिमन्यूका नाती राजा जन्मेजय (परीक्षितपुत्र) को सर्पयज्ञ अनुष्ठानमा विद्वान वैशम्पायनले मनुष्यलोकमै पहिलो पटक सुनाएको महाभारत कथा यदि सुदूर अतितमा घटेकै थियो भने पनि अब त्यस्तो उच्चकोटीको युद्ध सायदै सम्भव होला । 

नेकपाभित्रको कचिंगल, स्वार्थको टक्कर र मर्यादाहीन गालीगलौजलाई महाभारतसँग दाँज्नु बडो हाँस्यास्पद छ !

एकछिनलाई नेकपाभित्रको कलहलाई ‘महाभारत’ नै मानिदिउँ । यदि यसो हो भने, यो ‘कुरुक्षेत्र’ मा कौरवहरु नै आपसमा भिडिरहेको देखिन्छ । यो यस्तो अनौठो ‘महाभारत’ हो, जहाँ कुरुक्षेत्रमा पाण्डवहरु नै छैनन् । धर्मराज युधिष्ठिर, गाण्डीवधारी अर्जुन, बलशाली भीम र आज्ञाकारी नकुल र सहदेव कुरुक्षेत्र बाहिर छन् । अर्जुन नै नभएपछि यो ‘महाभारत’ मा कृष्णको उपस्थिति हुने कुरै आएन । कृष्ण र अर्जुनबिनाको निम्छरो महाभारतबाट महान भगवद्गीताको उद्भव हुने कुरा पनि आएन ।

कौरवहरु आपसमा भिडिरहेका छन् । तर, कौरवहरुमा पनि सबै पात्र कुरुक्षेत्रमा छैनन् । भीष्म पितामह, आचार्य द्रोण, नीतिवान विदुरलाई यो युद्धमा कुनै रुची छैन । अंगराज कर्णले ठाने, ‘यो मेरो उपस्थितिलायक युद्ध हैन ।’ हुँदाहुँदा अनेक दुर्गुणकावीच मित्रको मान गर्ने खुबी भएका दुर्योधनसमेत युद्धमा होमिएका छैनन् ।

नेकपाभित्रको ‘कौरवीय कलह’ मा को को पात्र छन् त ? 

बडा अदभूत् दृश्य देखिन्छ । कवि भूपीले उहिल्यै इंगीत गरेको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ झैं दृष्टिविहिन धृतराष्ट्र आफैं एउटा खेमाको सेनापतिका रुपमा मैदानमा खडा छन् । युद्ध मैदानमा धृतराष्ट्र ? हो हजूर, जनताका समस्या, लोकतन्त्र, संविधान र संसदको मर्यादा पटक्कै नदेख्ने दृष्टिविहिन शासकको भूमिका उनले निर्वाह गरिरहेका छन् । यथार्थ दृश्य ठम्याउन नसके पनि गफैगफले अँध्यारोमा तीर हानीरहेका छन्, सेनापति धृतराष्ट्र । अनि उनको यस्तो चर्तिकला परबाट देखिरहेका ‘सञ्जय’ आफैं चकित छन् ।

अर्को खेमामा छन्, कपटी शकुनी र दुशासन । जालझेल, षड्यन्त्र गरेर पाण्डवहरुको इन्द्रप्रस्थ राज्यसमेत हत्याउनसक्ने धूर्त दिमाग भएका शकुनीले सारा षड्यन्त्रकारीलाई आफ्नो खेमामा पारेका छन् । अनि, दुशासनले चाहिँ लुटेरा, बलात्कारी, अपराधी, दण्डहीनताका पक्षपाती, मानवअधिकार उल्लंघनकर्ता, निर्मला पन्तहरुका हत्यारा, नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका अपराधी, हजारौं निर्दोषका हत्याराहरुको सेनापतिको भूमिका निर्वाह गरिरहेका छन् ।

‘हस्तीनापुर’ हत्याउन भइरहेको यो कौरवीय महाभारतलाई वैशम्पायनले सुनाएको त्यो महान आख्यानसँग रौं बराबर पनि तुलना गर्न सुहाउँदैन । द्वापरयुगको महाभारतमा कौरवकै पक्षबाट लडेको भए पनि दानवीर कर्ण मैदानमा थिए । अहिलेको कथित महाभारतमा दानवीरको कुरै छाडौं, एकसेएक लुटेराहरु सहभागी छन् । वाइडबडी घोटालादेखि एनसेल कर मिनाहासम्म, कोरोना किट घोटालादेखि सत्तरी करोड काण्डसम्मका भ्रष्ट लुटेराहरु ‘पूँजी अस्त्र’ भिरेर ‘अरिंगाल नाद’ गरिरहेका छन् ।

पक्कै दम्भी थिए उहिलेका दुर्योधन । तर, मित्रको मानसम्मान गर्ने उनको उदात्तभावकै सम्मान गरेर बडा दशैंको श्लोकमा अग्रजहरु ‘मानंश्च दुर्योधने’ भनेर आशिष दिन्छन् । अहिलेको कथित महाभारतमा ती दुर्योधन छैनन् । छन त, मित्र मुहारमा ‘एसीड अट्याक’ गर्नेहरु मात्र छन् । अहो, पचास वर्षसम्म सँगै एउटै दलमा कार्यरत सहयात्रीलाई कोही ‘गोमन सर्प’ भनिरहेका छन्, कोही ‘अपराधी’ । शिष्टता, मर्यादा र सभ्य संस्कार नभएका अर्थात बोलीमा कुनै सोमत नभएका सेनाहरु यतिबेला एकले अर्कालाई शब्द कोष पल्टाएर निम्न कोटीका, अभद्र र घटिया गाली गरिरहेका छन् । ‘ब्रम्हास्त्र’ भनेकै उनीहरुका लागि भद्दा गाली भएको छ ।

यस्तो ‘छौंडे महाभारत’ मा सहभागी हुन पितामह भिष्मको उचाईले पटक्कै दिँदैनथ्यो, अतः उनी बाहिरै छन् । भिष्म जसले दलका पुराना, त्यागी, आदर्शवान, नैतिकवान, जनपक्षीय, लोकतन्त्रबादी र देशभक्तहरुको नेतृत्व गर्छन्, उनी यसपाली पनि लाचार छन् । द्वापरयुगमा हस्तिनापुर संरक्षणको बाध्यताले युद्धमा होमिन विवश भिष्मका लागि यसपटक वितृष्णा किन पनि जाग्यो भने, यो कुनै युद्ध नै हैन, यो त स्यालहरुको कोकोहोलो मात्र हो । भिष्मलाई लाग्यो होला, युद्ध त त्यस्तो होस्, जहाँ अर्जुनको गाण्डीवबाट मारिन पाइयोस् ।

पाण्डवहरुलाई लाग्यो, यो हाम्रो सरोकारको युद्धै हैन, हाम्रो सरोकारको ‘लोकतान्त्रिक युद्ध’ त अब हुन बाँकी छ । अतः उनीहरु कुरुक्षेत्रबाहिर शान्तिपूर्ण, सालिन, सशक्त सत्याग्रहको तयारी गरिरहेका छन् । कौरवीय कलहबाट आजित नागरिकको लोकतान्त्रिक अधिकार पुनर्वहालीका लागि उनीहरु गाण्डीव हैन, ‘गगनास्त्र’ र ‘विश्वास्त्र’ मा धार लगाइरहेका छन् । जब यो लोकतान्त्रिक युद्ध प्रारम्भ हुनेछ, अनि बल्ल बसुदेव कृष्णको पनि अवतरण हुनेछ । र, घटित हुनेछ, एक्काइसौं शताब्दीको नयाँ लोकतान्त्रिक र समतामूलक भगवद्गीता ! 
 

ताजा खबर