एक हातको भरले पत्रकारितामा सक्रिय छन् भगिरथ

२०७७ फाल्गुण ७ शुक्रबार १४:३८:०० मा प्रकाशित

इलाम । झट्ट हेर्दा पत्रकारिता पेशा स्तरीय देखिन्छ । जति हेर्दा सहज छ, भित्र त्यति नै दुःख र पीडा । निरन्तर डटेर खट्नु पर्ने तर सधै अभावैअभाव ।

      यसैले धेरै पत्रकार विकल्पको खोजी गर्छन् । कमाएको आनासुकीले घरखर्च नटर्ने भएकाले नयाँ पेशा गर्नुपर्ने बाध्यता आउँछ पत्रकारलाई । मोफसलमा बसेर पत्रकारिता गर्दा त झनै बढी पीडा । न स्तरीय सञ्चारमाध्यम पाइन्छन्, न अपेक्षाकृत आम्दानी नै । दिनमै घण्टौ खट्दा पनि हातमुख जोड्न धौधौ पर्छ । सामान्यतया एक पत्रकारको दैनिकी अभावैअभावमा वित्छ । तर, पनि धेरैले यसै पेशामा संघर्ष गर्न भने छाडेका छैनन् । 

    पत्रकारितामा भविष्य नदेखेपनि दुःख झेल्दै संघर्ष गर्नेको लहरमा पर्छन् । यति मात्र होइन, शारीरिक रुपमा अशक्त व्यक्ति पनि यहीँ पेशामा संघर्षरत छन् । यसैमध्येका एक व्यक्ति हुन्, इलामका पत्रकार भगीरथ भण्डारी । 

     साँच्चीकै भन्ने हो भने भगीरथ पत्रकारितामा एक उदाहरण हुन् । सबल पत्रकारलाई नै बाँच्न हम्मेहम्मे परेको यो पेशामा शारीरिक अपांगता भएका भगीरथ पनि संघर्षरत छन् । छ बर्षदेखि पत्रकारितामा क्रियाशील भगीरथको एउटा हात मात्र छ । उनी एउटै हातको भरमा एक मात्र होइन, विभिन्न मिडियामा काम गर्छन् । उनी मिडियाको व्यवस्थापकीय पाटो समाल्ने देखि पत्रिकामा समाचार लेख्ने, टिभीमा भिडियो पठाउने लगायतका काम एकै हातले गर्छन् ।

   भगीरथले सामना गर्नुपर्ने काम यतिमा मात्रै होइनन् । घरायसी मामिलादेखि अन्य काम पनि छन् उनी एउटै हातका भरमा तमाम काम भ्याइदिन्छन् । 

उनी अपाङ्गता भएपनि उनको कामबाट यो देखिँदैन । भगीरथ अहिले राजधानी दैनिक र जनता टेलिभिजनको इलाम संवाददाता छन् भने इलाम पोष्ट दैनिकको प्रबन्ध सम्पादक । सँगै रहेका साथीभाइले एउटा काम गर्दा उनलाई दुईभन्दा बढी गर्नुपर्ने बाध्यता आइलाग्छ । योभन्दा अचम्मको कुरा त के हो भने भगीरथ एकै हातको भरमा टाइप गर्छन् र पत्रिकाको डिजाइन पनि । जो कोहीले दुवै हातले गर्न नसक्ने काम भगीरथ एकै हातले गर्छन् । 

भगीरथ सम्झन नचाहने साउन १२

साउन १२ भगीरथको असोचनीय घटना घटेको दिन । अर्थात दुर्घटनामा परेको दिन । २०६९ साल साउन १२ दिन नै भगीरथमाथि इश्वरको दया हराएको दिन । यसको मतलब भगीरथ जन्मजात अपांगता भएका होइनन् । भगीरथ उच्च शिक्षा अध्ययनका लागि देउमाई नगरपालिकास्थित मङ्गलबारे बहुमुखी क्याम्पसमा आएका थिए । घटना भएको दिन उनी देउमाईकै आफ्नो डेराघरमा बसेका थिए । 

  घरवेटीले घरको छानाको पानी कटाउन पाइपको डुँड लाउँदै थिए । त्यसैबेला घरबेटीले उनलाई पनि सहयोगका लागि बोलाए । घरबेटीको वचन काट्न नसकेर सहयोग गर्न जानुपर्ने भयो । जाँदाजाँदै उनलाई घरबाट एक मिटर पर रहेको ११ हजार भोल्टेजको लाइनले तानेर टाँस्यो । ‘एघार हजार भोल्टेज भएको लाइनले केही टाढाबाटै तान्दो रहेछ, झन् त्यो दिन त पानी परेकाले सबैतिर चिसो थियो, तारमा लगेर टाँसेछ मैले त केही पत्तै पाइनँ’, भगीरथले अँध्यारो मुख लगाउँदै भने, ‘करेन्ट लागेपछि एक्कासि लाइन गएछ । हात तारमा र खुट्टा छानामा भयो ।’

  वरपरका मान्छे भेला भएर भगीरथलाई भुइँमा सुताएछन् । धेरैले मरेको ठानेका रहेछन् तर खुट्टाको औँला चलेपछि ‘सास छ’ भन्दै मङ्गलबारेको अस्पताल लगेछन् । उपचारका लागि त्यहाँबाट इलाम अस्पताल हुँदै धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएछ । ‘म होसमा आउँदा धरानमै अस्पतालमा थिएँ’, भगीरथले भने । उपचारका लागि चार दिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बस्नुपर्यो । 

त्यसपछि थप उपचारका लागि ५९ दिन सुस्मा कोइराला मेमोरियल ट्रष्टमा बस्नु पर्यो । ट्रष्टमा करेन्ट लागेको हात काट्नै पर्ने अस्पतालले बतायो । ‘मनमा अनेकौँ कुरा खेल्न थाले तर अब जिन्दगीभर एकै हातको भरमा बाँच्नुपर्छ भन्ने लाग्यो’, भगीरथले भने, ‘फाल्दा बाँचिन्छ भने फालौँ न त भनेँ ।’ उपचार सफल भएर बाँचेपछि भगीरथ भने आफू भाग्यमानी रहेको बताउँछन् ।

   ‘दाहिनेतिरबाट लाइनको तारले तानेको थियो तर देब्रे हात बिग्रियो’, उनी भन्छन्, ‘देब्रे हातमा घडी लगाएको थिएँ त्यसले पनि छिटो तानेछ ।’ उनको देब्रे हात चुँडियो भने दाहिने हात र दाहिने खुट्टामा दाग छ ।

यो दुर्घटनाबाट बाँचेका भगीरथ गत वर्ष मोटरसाइकल दुर्घटनामा परे । समाचार सङ्कलन गर्न जाने क्रममा इलाम चोक बजारमै मोटरसाइकलले ठक्कर दिएपछि एक हप्ता अस्पतालको सम्पर्कमा रहे । यो दुर्घटनामा पनि उनको पहिले दुर्घटनामा परेको हातमै समस्या पर्यो तर दीर्घकालीन समस्या भने आएन ।

विकल्पको खोजीमा भगीरथ

त्यसैपनि अभावको पेशा पत्रकारिता । त्यहीँमाथि अशक्तका लागि त झनै समस्या । भगीरथलाई पनि पत्रकारिताप्रति खासै चाख हराएको छ । जिल्लाभित्र वा बाहिरका मिडियामा काम गरे पनि हात मुख जोड्न समस्या हुने गरेको उनी बताउँछन् । 

  उनले सन्दकपुर दैनिकको व्यवस्थापक र डिजाइनर भएर चार वर्ष काम गरे । लामो समय खट्दासमेत दुःख गरेअनुसार पैसा नभएपछि विकल्प खोज्नु पर्ने स्थिति आएको उनी बताउँछन् । 
 

ताजा खबर