यो शहर र रहर

२०७७ फाल्गुण ६ बिहीबार १६:१४:०० मा प्रकाशित

यो शहर
देखिन्न याहाँ मयुर र डाँफे रहर
तर देखिन्छ वैंशका हाँगाहरूको सुपर डान्स
अनि देखिन्छ बुढा नेताहरूको थोता गिजाहरू
र उन्मादित विचौलिया बैँस।

कतै कतै सडकमा मस्किरहेको युवती पैँयु
नजिकैको वैंशसँग अङ्कमाल गरिरहेका तस्बिरहरू
अनि देखिन्छ ट्राफिकको जुँगाको मैन सर्लक्क र टलक्क
फोर ह्विलका बिल्डिङ्हरू चड्न नसकेको उकालो
र घस्रिरहेको सडक
पाप्रा उकिएर कालो फुस्रोमा अनुवाद हुँदै गरेको ।


पोलिरहेका आँखामा गान्धी चश्मा
पारो चडाइरहेको बैंशालु घाम
र कुहिरो ओडिरहेको आकाश
अनि श्रीमानको मेल प्रिन्ट गर्दै रहेकी
कालो गगल्सले मुहार छोपेकी अधवैंशे टुकुचाहरू
बागमतीहरू
र बिष्णुमतीहरू
मणि हराएको नागको डमी
र ग्राहक पर्खिरहेका महलका महलदारहरू
लाग्छ
यो अलिकति श्रृङ्गार नपुगेको बेबीलोन
अनि सात आश्चर्य भन्दा एक अङ्क माथिको
आठौं आश्चर्य पढीरहेको मैदान
उत्तानो पल्टिएको कुम्भकर्ण
र आधि जुँगा खुर्किएको क्रिश्चियन शैलीको
मातमा सुतेको पेगोडा
नजिकै बगिरहेको हड्सनले
जित्न नसकेको शालिग्राम बोक्ने कालीगण्डकी
र मात लागेको क्रिश्चियन
गाइरहेछ गिटार
र रगडिरहेछ गीत अंग्रेजी
बैंशमा श्याल पनि घोर्ले हुन्छको नेपाली उखान
टल्कन्छ छोटो फ्रकतिर
अनि बेली डान्सतिर मोनार्की रहिनाको।

अलिकति मिसिसिपि
अलिकति मिक्सिले
पिसेको गोलभेँडा आँखाहरू
पर्पर्याइ रहने युएमएन टिम्बुर र
खासगरी अकबरे चपाइरहेका
आइएनजिओ र ओखल भइसकेका नागरिक समाज
बाटोमा सुनाखरी फुल्नु
पैँयु निदाउनु,


लज्जावतीले ब्युँझन खै
माली पर्खनु यी खास दृश्य बनिरहेको वर्तमान
भूतले पहरा दिइरहेछ
खुँडे भविष्यलाई
तर पनि बगिरहेकै छ
बुढी बागमती टुकुचा अँगालो हालेर
यो राजधानीमा
यो देशको फोक्सोमा
गैँतिले प्वालपार्न नसकेको
यो शहर र रहर।

ताजा खबर