चाणक्यका अमूल्य नीति कथा

२०७७ फाल्गुण ६ बिहीबार १५:५५:०० मा प्रकाशित

चाणक्य राजनीतिज्ञ मात्र नभई जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जेजति अनुभव सँगाले र जुन नियम बनाए त्यो लोकलाई दिएर अमर भए । चाणक्य नीतिका जीवन उपयोगी केही टिप्सः 

१. सत्येन धार्यते पृथिवी सत्येन तपते रविः ।
सत्येन वाति वायुश्च सर्व सत्ये प्रतिष्ठतम् ।।

अर्थ होे– सत्यले पृथ्वी स्थिर छ, सूर्य सत्यले नै तातेको छ, सत्यले नै वायु बहन्छ, सबै कुरा सत्यमा नै निर्भर हुन्छन् ।

२. लोकयात्रा भयं लज्जा दाक्षिण्यं त्यागशीलता ।
पञ्च यत्र न विधन्ते न कुर्यात् तत्र संस्थितिम् ।।

अर्थ होे– व्यवसाय, दण्ड, लाज, कुशलता र सहयोग यी पाँच कुरा नभएको ठाउँमा नबस्नु ।

३. शैले शैले न माणिक्यं मौक्तिकं न गजे गजे ।।
साधवो न हि सर्वत्र चन्दनं न वने वने ।।

अर्थ होे– सबै पहाडमा रत्न र मणि पाइँदैन, सबै हात्तीका मस्तकमा मोति पाइँदैन, संसारका सबै ठाउँमा सज्जन पुरुष पाइँदैनन् र सबै जंगलमा चन्दन पनि पाइँदैन ।

४. माता शत्रुः पिता वैरी येन बालो न पाठितः ।
न शोभते सभामध्ये हंसमध्ये बको यथा ।।

अर्थ होे– जुन आमाबाबुले छोराछोरीलाई पढाएनन् ती आमाबाबु शत्रु हुन् । हाँसका बथानमा बकुल्लो नसुहाए झंै अनपढ छोराछोरी विद्धानको सभामा सुहाउँदैनन् ।

५. समाने शोभते प्रीतिः राज्ञि सेवा च शोभते ।
वणिज्यं व्यवहारेषु दिव्या स्त्री शोभते गृहे ।।

अर्थ होे– आफू समानको प्रीति, राजाको सेवा, व्यापारको पेसा र गुणी स्त्रीको घर सुहाउँछन् ।

६. लालयेत् पञ्च वर्षाणि दश वर्षाणि ताडयेत् ।
प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्रवदाचरेत् ।।

अर्थ होे– सन्तानप्रति पाँच वर्षसम्म माया, दश वर्षसम्म हप्कीदप्की र सोह्र वर्षपछि मित्रसमानको व्यवहार गर्नुपर्छ ।

७. राजपत्नी गरोः पत्नी मित्रपत्नी तथैव च ।
पत्नीमाता स्वमाता च पञ्चैता मातरः स्मृताः ।।

अर्थ होे– रानी, गुरुआमा, साथिकी पत्नी, सासु र आफ्नै आमा गरी पाँचजना आमा हुन्छन् ।

८. जनिता चोपनेता च यस्तु विधां प्रयच्छति ।
अन्नदाता भयत्राता पञ्चैते पितरः स्मृताः ।।

अर्थ होे– जन्माउने, ब्रतबन्ध गराउने, शिक्षदीक्षा दिने, अन्नपानी दिने, समस्यामा जोगाउने यी पाँचजना पिताहरु हुन् ।

९. विधा मित्रं प्रवासेषु भार्या मित्रं गृहेषु च ।
व्याधितस्यौषधं मित्रं धर्माे मित्रं मृतस्य च ।।

अर्थ होे– प्रवासमा विद्या, घरमा पत्नी, रोगमा औषधि र मृत्युमा धर्म साथी हुन्छन् ।

१०.  गते शोको न कर्तव्यो भविष्यं नैव चिन्तयेत् ।
वर्तमानेन कालेन प्रवर्तन्ते विचक्षणाः ।।

अर्थ होे– बितेका कुरामा शोक नगरौँ र भविष्यको पनि चिन्ता नलिऔं । वर्तमानलाई नै पूर्ण उपयोग गर्नु बुद्धिमानी हो ।

११.  न दुर्जनः साधुदशामुपैति बहुप्रकारैरपि शिक्ष्यमाणः ।
आमुलशक्तिः पयसा घृतेन न निम्बवृक्षो मधुरत्वमेति ।।

अर्थ होे– फेददेखि टुप्पासम्म दिनदिनै दुध र घिउले सेचन गरे पनि निमको रुख स्वादिलो वा मिठो हुन सक्तैन, त्यस्तै जतिसुकै नीतिका कुरा सिकाए पनि दुर्जन व्यक्तिमा सज्जनता आउन सक्दैन ।

१२.  दुर्जनं सज्जनं कर्तुमुपायो न हि भुतले ।
अपानं शतधा धौतं न श्रेयठमिन्द्रियंभवेत् ।।

अर्थ होे– संसारमा दुर्जनलाई सज्जन बनाउने उपाय केही छैन । सयौँ पटक धोए पनि गुदद्धार श्रेष्ठ इन्द्रिय बन्दैन । (चाणक्य नीतिकथाबाट)

ताजा खबर